युवतीमाथि बलात्कारदेखि हत्यासम्मको कथा!

|

एजेन्सी : भारतका आम मानिसमाझ बढी बिक्ने तीन चीज हुन्-‘थ्री सी’ अर्थात क्राइम, क्रिकेट र सिनेमा। यीमध्ये क्राइम अर्थात् बग्रेल्ती अपराध हुनु र न्यायसम्पादनका क्रममा अनेक षडयन्त्र (कन्स्पीरेसी) बुन्दै पीडकलाई उन्मुक्ति दिनुले विश्वकै सबैभन्दा ठूलो भनिने लोकतन्त्र बदनाम छ। 

तर यसपटक हैदराबादकी २७ वर्षीया पशु-चिकित्सकमाथि भएको बलात्कार र हत्याकाण्डमा यो ‘कन्स्पीरेसी’ ले काम गरेन। 

न्यायिक हिरासतबाट बुझाउनासाथ तेलङ्गना प्रहरीले चारैजना अभियुक्तलाई बिहिबार राती ती चिकित्सक युवती मारिएकै स्थानमा लग्यो। मुडभेटको अवस्था बनायो र गोली हानेर मारिदियो। 

यो इन्काउन्टरमा नाटकीय मोड आएन भने भारतमा प्रहरीले नागरिकको विश्वास आर्जन गर्नेछ, विवादमा पर्दै आएको अदालती न्याय सम्पादनप्रति थप प्रश्नहरु तेर्स्याइनेछन्। 

खासमा के भएको हो ?

एक साताअघि नोभेम्बर २७ का दिन तेलङ्गनाकी एकजना पशु-चिकित्सकको शरीर जलाइएको अवस्थामा भेटिएको थियो। हैदराबादको सम्साबादस्थित एक राजमार्गमै क्षतविक्षत अवस्थामा शव भेटिएपछि तेलङ्गगना प्रहरीले अनुसन्धान अघि बढायो। 

अनुसन्धान गर्दै जाँदा प्रहरीले ती चिकित्सकलाई जलाउनुअघि बलात्कार गरिएको पत्ता लगायो। त्यसपछि संदिग्धहरुलाई खोज्ने क्रममा प्रहरीले चारजना युवक समात्यो। समातिएकाहरुलाई न्यायिक हिरासतमा राखिएको थियो। 

न्यायिक हिरासतबाट बुझाइएलगत्तै उनीहरुलाई बिहीबार प्रहरीले ती चिकित्सक युवतीको हत्या भएकै स्थानमा पुर्‍यायो र तथाकथित इनकाउन्टर गरेर मारिदियो।

अनि मोबाइल अफ भयो 

२६ नोभेम्बरको बेलुकी घर फर्कँदै गर्दा बाटोमा ती पशु-चिकित्सक युवतीको स्कुटर पन्चर भएको थियो। पन्चर भएको स्कुटरलाई नजिकैको एक टोल प्लाजामा छाडेर ती युवती ट्याक्सी चढी घर फर्कने निर्णयमा पुगिन्। 

घर पुगेर उनी फेरि राति ९ बजेतिर स्कुटी लिन टोल प्लाजा पुगिन्। त्यतिखेर उनी आफ्नी बहिनीसँग कुरासमेत गरिरहेकी थिइन्। 

फोनमा उनले आफुलाई सडकमा एक्लै उभिन डर लागेको, आफ्नो अगाडी अचानक केही मानिस आएको र स्कुटर ठीक पारिदिने कुरा गरिरहेको जानकारी दिएकी थिइन्।

ती चिकित्सकले बहिनीलाई दिएको जानकारी अनुसार एकजना ट्रक ड्राइभर आफू नजिकै उभिएको र उसले बिग्रिएको स्कुटर ठीक गरिदिने बताएको थियो। तर ती 
चिकित्सकले ट्रक ड्राइभरको प्रस्ताव अस्वीकार गरिदिएकी थिइन्। त्यसपछि ड्राइभरले युवतीलाई निरन्तर पछ्याउन थाल्यो। 

खतराको अवस्था देखिएपछि बहिनीले ती चिकित्सकलाई टोल प्लाजामा स्कुटर रोकेर त्यहीँ उभिन सल्लाह दिएकी थिइन्। तर सबै मानिसहरुले आफुलाई घुरेर हेरिरहेको भन्दै उनले त्यहाँ स्कुटर राख्न इन्कार गरिदिइन्। साथै, उनले आफुलाई निकै डर लागिरहेको पनि बहिनीलाई बताएकी थिइन्। 

कुरा गर्दा-गर्दै युवतीले बहिनीलाई केही समयपछि फोन गर्ने बताइन् र फोन काटिन्। तर केही क्षणपछि सम्पर्क गर्न खोज्दा उनको फोन स्वीच अफ थियो। 

त्यसपछि उनका परिवार टोल प्लाजाको वरिपरि आए, चिकित्सक युवतीलाई खोजे। तर कतै नभेटेपछि स्थानीय प्रहरी चौकीमा हराएको भन्दै निवेदन दिए।

जलाउनुअघि बलात्कार 

बेपत्ता युवती खोज्न हिँडेको प्रहरीले गत बिहीबार बिहानै एक निर्माणाधीन पुलको तल आधा जलेको अवस्थामा एक शव बरामद गर्‍यो। उक्त शव हराइरहेकी युवतीकै रहेको पुष्टि उनका परिवारले गरे। 

युवतीको हत्यारा खोज्न खटिएको प्रहरीले चारजना संदिग्धलाई पक्राउ गर्‍यो। अनुसन्धान र केरकारपछि चारैजनाले हत्यामा आफुहरुको संलग्नता रहेको स्वीकारे। ती युवतीलाई जलाएर मार्नुअघि अभियुक्त चारैजनाले पालैपालो बलात्कार गरेको स्वीकारे। 

संसददेखि सामाजिक सञ्जालमा खैलाबैला

बदनामी बढ्दै गएपछि पछिल्लो समयमा भारतमा बलात्कार तथा हत्याका घटनामा मिलेमतो गराई जानाजान सामसुम बनाउने प्रयास गर्ने गरेको आरोप लाग्दै आएको छ। तर यसपटक त्यस्तो भएन। 

बलिउड अभिनेत्री एवम् राज्यसभाकी सांसद जया बच्चनले यस्तो अपराध गर्नेहरुलाई बाहिर ल्याउनुपर्ने र कुटेर मार्नुपर्ने धारणा राखेकी थिइन्। भारतीय अभिनेता अमिताभ बच्चनकी पत्नीसमेत रहेकी जयाले हैदराबाद हत्याकाण्डका आरोपीलाई कडा सजायको माग गरेपछि अनुसन्धान गरिरहेको प्रहरी पनि चर्को दबाबमा परेको थियो। 

युवतीको बलात्कार र हत्यामा संलग्न भनिएका परिवारका सदस्यले पनि दोषी पाइए संलग्नलाई पीडितकै हालतमा पुर्‍याउनुपर्ने धारणा राखेका थिए। सामाजिक सञ्जालमा पनि हत्यारालाई तत्काल कारबाही हुनुपर्ने माग राखिएको थियो। 

आधारातमा 'अपराधी'माथि गोली 

अदालत पुर्‍याइए पनि अनेक तिकडम गर्दै बलात्कारी र हत्याराहरु चोख्खिने गरेको तीतो अनुभव संगालेको प्रहरीले यो नृशंस हत्याकाण्डमा संलग्नहरुलाई त्यसै छाड्ने मनस्थिति देखाएन। 

अन्ततः न्यायिक हिरासतबाट अभियुक्तहरु आफ्नो कब्जामा आएलगत्तै रातारात युवतीको हत्या गरिएको स्थानमा पुर्‍याएर प्रहरीले चारै जनालाई गोली हानेर मारिदियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.