|

हेटौँडा : नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी एकतापछि गठन भएको कमिटीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरमा भएको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टी कमिटी भद्दा भएको भन्दै रोष व्यक्त गरेका छन्।

मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तह कमिटीसम्म भद्दा राखेको बताए। उनले अबको महाधिवेशनपछि सबै कुरा परिवर्तन गर्ने बताए। उनले माओत्से तुङदेखि लेनिनसम्मले पनि संगठन छरितो बनाएको उदारहण दिँदै कम्युनिष्ट पार्टीको इतिहास हेर्दा पनि नेपालकमो नेकपाको केन्द्रीय कमिटीभन्दा थोरै र चुस्त भएको भन्दै अहिलेलाई संक्रमण कालको रूपमा लिनु पर्ने बताए। उनले कम्युनिष्ट पार्टीको सधैँ विरोध गर्नेहरूलाई पार्टीले ठूला पदमा पुर्‍याएको भन्दै यस्तो चलन बन्द गर्नुपर्ने बताए। 

नेतृत्वले नयाँ ढंगले सोच्नु पर्छ

उनले कम्यनिष्ट पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै नेतृत्वलाई व्यङ्ग्यसमेत गर्न भ्याए। उनले आफू गर्न नसक्ने गर्नेहरूलाई पनि बाटो छेक्न गरि कहिले नेतृत्व गर्न नहुने बताएका थिए। नेता नेपालले पार्टीमा लाग्दा देशभक्तिको भावानले लाग्नुपर्ने पनि बताए। समाजको रूपान्तरण गर्ने काम कम्युनिष्टले नै गर्नुपर्ने भन्दै जनताको कुरा उठाउनु पर्ने बताए।

महरालाई इंगित गर्दै उनले भने, 'जति बदमासी गरे पनि भयो, जति भ्रष्टाचार गरे पनि भयो, जाँड, रक्सी खाएर फुर्ती देखाए पनि भयो, जति नियम मिचे पनि भयो, जसरी पैसा कमाए पनि भयो, कुनै डर छैन, कुनै नियन्त्रण छैन, कुनै सुधार छैन, कुनै अनुगमन छैन, त्यसकारण यी सबैमा हामीले नयाँ ढंगले सोच्नु पर्ने बेला आएको छ।'   

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १३७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी उनीहरू नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई नेकपाका बरिष्ठ नेता नेपालले फूलमाला र अबिरटीका लगाएर स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूमा केही स्वतन्त्र युवासहित समाजवादी पार्टीका जिल्ला सदस्य थिङ, नेपाली कांग्रेस मनहरी गाउँ इकाइ समिति सदस्य रामकृष्ण प्रजा, राप्रपाका ६ नं वडाध्यक्ष राजु प्रजा लगायतका रहेका छन्। नेपाली कांग्रेसका क्रियाशील महिलाले पनि पार्टी प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीका सचिव हेमलाल उप्रेतीले जानकारी दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, विरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तानलगायत नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.