छिमेकीसँग पाखुरा जुधाउने नभई मित्रतापूर्वक सम्बन्ध  राख्‍ने सरकारको नीति

|

काठमाडौं : सरकारले सीमा रक्षाका लागि नेपाली जनताले  फेरि खुकुरी चम्काउनु नपर्ने बताएको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल भइरहेको भन्दै वीर गोर्खालीले फेरि खुकुरी चम्काउनु नपर्ने बताएका हुन्।

काभ्रे सेवा समाजको सातौँ साधारणसभामा मन्त्री बाँस्कोटाले नेपाली जमिनमा विदेशीको आँखा लाग्न नदिने बताए। 'सरकार कसैको डरमा बसेको छैन, मिचिएको भूमि फिर्ता ल्याउँछ' उनले भने, 'पाखुरा जुधाएर होइन छिमेकीसँग मित्रतापूर्वक सम्बन्ध राख्ने सरकारको परराष्ट्र नीति छ।'

नेपालको सार्वभौमसत्तालाई कुनै पनि देशले दख्खल दिन नहुने बताए। उनले विचार र आस्था मिलेन भनेर मुड्की बजाएर नबस्न आग्रह पनि गरे। अहिले विनाशको समय नभएको भन्दै विकास निर्माणमा एक जुट हुनुपर्ने समय भएको उनको भनाइ छ।

असल हुनुभन्दा धनी हुन सिकाएकाले समाजमा विकृति देखिएको भन्दै उनले विकृति अन्त्य गर्न सबैको साथ आवश्यक रहेकोमा जोड दिए। उनले सरकार प्रचलित व्यवस्थाअनुसार विधिको शासन स्थापनामा लागेको बताए।

समाज, पार्टी, व्यक्तिको लोकतान्त्रिकरण हुनुपर्नेमा जोड दिए। व्यक्तिवादी सोचले अराजकता सिर्जना गराउने मन्त्री बाँस्कोटाको भनाइ छ। उनले काभ्रेमा एयरपोर्ट निर्माण गर्ने प्रयास जारी रहेको बताउनु भयो। यसमा सम्पूर्ण काभ्रेलीले सहयोग गर्नुपर्ने मन्त्री बाँस्कोटाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.