आत्महत्या गर्नेको संख्यामा वृद्धि

|

पाल्पा : जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी साधन कारबाहीबाट लाखौ राजश्व संकलन गरेको छ। गएको चार महिनामा करिब ४० लाख राजश्व संकलन गरेको हो।

चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्म ३९ लाख १ हजार राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। कार्यालयको चौमासिक गतिविधि सार्वजनिक गर्दै उनले यो जानकारी दिएका हुन्। यो गत आर्थिक वर्षको तुलनामा बढी राजश्व संकलन भएको हो।

उनका अनुसार ६ हजार ३ सय ५० सवारी साधन कारबाहीमा परेका छन्। सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन्। चार महिनामा १ हजार ७ सय ६ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। यस्तै जीप, कार, भ्यान गरी १ हजार ४ सय २४, ट्रक र ट्रिपर गरी १ हजार २ सय ४४, बस १ हजार २ सय १७, ट्याक्टर ७ सय ५९ कारबाहीमा परेको प्रहरी उपरीक्षक जिसीले बताए। जसमध्य ७७ जनालाई मादक पदार्थ सेवनमा कारबाही गरिएको छ। ओभर लोड, तीव्र गति, मापसे र चालक अनुमतीपत्र बिना चलाएकाहरु बढी कारबाहीमा परेका छन्।

सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको प्रहरी उपरीक्षक जिसीले बताए। विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना, व्यवसायी, चालक र परिचालक, सर्वसाधारणलाई ट्राफिक सचेतनाबारे कार्यक्रम सञ्चाल गरिएको छ। पर्चा, पम्पलेट, पोष्टरसमेत जिल्लाको विभिन्न ठाउँमा वितरण गरिएको छ। जसले गर्दा जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण भएको उनको भनाई छ।

यो आर्थिक वर्षको चार महिनामा ६ वटा सवारी साधन दुर्घटनामा परेका छन्। जुन दुर्घटनाहरुमा परेर ६ जनाको मृत्यु भएको छ। अधिकांश सामान्य खालका दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए।

आत्महत्या गर्नेको संख्यामा वृद्धि

गत वर्षको तुलनामा यो आर्थिक वर्षको सुरुवातमा आत्महत्या गर्नेको संख्या बढेको छ। चार महिनामा ३१ जनाले आत्महत्या गरेका छन्। २५ जना झुण्डिएर र ६ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। आत्महत्या गर्नेमा सबैभन्दा बढी १६ वर्षदेखि २५ वर्ष उमेर समुहका रहेका छन्। आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ। ३१ मध्य १९ पुरुष, १० महिला र २ जना बालक रहेका छन्। 

घरायसी मनमुटावका कारण आत्महत्या गर्नेको संख्या बढेको प्रहरीको अनुमान छ। पछिल्लो समयमा समाजिक सञ्जालको दुरुपयोगका कारण यो घट्ना बढेको देखिन्छ। व्यक्ति र परिवारनै सचेत नहुँदासम्म यस्तो खालका घट्ना न्यूनीकरण गर्न कठिन भएको उनी बताउछन्।

'आत्महत्या न्यूनीकरणको लागि व्यक्ति आफ्नो अधिकारको बारेमा र परिवार कानुनको बारेमा सचेत हुनुपर्छ' प्रहरी उपरीक्षक जिसीले भने 'कानुनी सचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन हुन आवश्यक छ।' उनका अनुसार यो आर्थिक वर्षको कात्तिक मसान्तसम्म १६ वटा घरेलुहिंसाका मुद्धा प्रहरीमा आएका छन्। जसमध्य १० वटा मुद्दामा पीडित र पीडक मिलेर घर फर्किएका छन्।

यस्तै, जवरजस्ती करणीको घट्ना विगतको तुलनामा बढेको देखिन्छ। चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्म ७ वटा जवरजस्ती करणीका घट्ना भएका छन्। भने १ वटा जवरजस्ती करणी उद्योगको घट्ना जिल्ला प्रहरी कार्यालय पाल्पामा दर्ता भएको छ।

जवरजस्ती करणी जस्ता जघन्य अपराध लुकाउन खोज्ने प्रवृत्ति सुरक्षाको लागि चूनौती रहेको उनको ठम्याई छ। यसरी गाउँमै मिलाउने प्रवृत्तिले घट्ना झन बढ्दै जाने उनले बताए।

प्रहरीद्वारा शैक्षिक सामग्रीको बैंक स्थापना

जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेनको बसपार्कस्थित सामुदायिक सेवा केन्द्रमा शैक्षिक सामग्रीको बैंक स्थापना गरेका छ। जुन बैंकमा जम्मा भएका शैक्षिक सामग्री विकटमा रहेको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई विरतण गरिएको प्रहरी उपरीक्षक जिसीले बताए। भदौमा स्थापना गरिएको शैक्षिक सामग्रीको बैंकमार्फत हालसम्म १० वटा विद्यालयका ३ सय ७८ जना विद्यार्थीलाई कापी, कलम, पेन्सील, कटर र इरेजरजस्ता सामग्री वितरण गरिएको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अनुसार सोही अवसरमा सामाजिक सुरक्षा अपराधिक घट्ना, लागुऔषध, ट्राफिक सचेतनाबारे पनि विद्यार्थीहरुलाई सहजीकरण गरिएको छ।

प्रहरीको आगामी कार्ययोजना

'पहाडी भेगमा सवारी दुर्घटना मुख्य चुनौती रहेको छ प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले भने 'ट्राफिकसम्बन्धी जनचेतना फैलाउन ट्राफिक सप्ताको आयोजना गर्ने तयारी भइरहेको छ।' उनका अनुसार आगामी दिनमा तालिका नै बनाएर विभिन्न कार्यक्रम सञ्चालन गर्न थालिएको छ।

लैङ्गीक हिंसा जिल्ला सञ्जाल समितिलाई पुनर्गठन गर्ने र पालिका तथा वडा स्तरमा सञ्जाललाई सक्रिय बनाई हिंसा न्यनीकरणका कार्यक्रम गर्ने प्रहरीको योजना छ। प्रहरीप्रतिको गुनासो र सुझाव सुन्न सार्वजनिक कार्यक्रम चलाउने, शैक्षिक सामग्री वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउने र जिल्लाका विभिन्न ठाउँमा जनचेतनामूलक होर्डिङबोर्ड राख्ने योजनासहित काम अगाडि बढेको प्रहरी उपरीक्षक जिसीले बताए। यद्यपि प्रहरीका गतिविधिलाई नागरिकले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.