|

दिपक शर्मा

सल्यान : सल्यानमा आधा दर्जन बढी सामुदायिक विद्यालय भवन अलपत्र परेका छन्। बजेट अभावका कारण जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सामुदायिक विद्यालयका भवनहरू अलपत्र परेका हुन्।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट बिनियोजित क्रमागत योजनाबाट निमार्ण भएका दार्मा गाउँपालिकामा एक क्याम्पस सहित दुई विद्यालयको भवन अहिले अलपत्र अवस्थामा रहेका छन्। 

आर्थिक वर्ष २०७१/०७२ मा मन्त्रालयबाट फारुला बहुमुखी क्याम्पसका लागि २४ लाख ७० हजारमा ११ लाख मात्र निकासा हुँदा २ कोठे क्याम्पस भवन अलपत्र परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले बताए। निकासा भएको रकमबाट ४० प्रतिशतमात्र काम सकिए पनि अहिलेसम्म रकम अभावका कारण निर्माण सम्पन्न हुन नसकेको उनले बताए। उनले भने, ‘विभिन्न निकायसँग भवन निर्माणका लागि पहल गरिए पनि कतैबाट पनि आर्थिक सहयोग पाउन सकिएको छैन।’ 

यस्तै शान्ति तथा पुनर्निमाण मन्त्रालयबाटै दार्मा गाउँपालिका ४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा न ५ मा रहेको लक्ष्मी निम्न माध्यमिक विद्यालयको भवन पनि अलपत्र रहेका छन्।

मन्त्रालयले नव साधारण विद्यालयका लागि १२ लाख बजेटमा झन्डै ९ लाख मात्र बजेट निकासा हुँदा ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने लक्ष्मी निमाविमा १२ लाख नै बजेट भए पनि ६ लाख मात्रै निकासा हुँदा ५० प्रतिशत काम सकिएको छ। 

दुई किस्ताको रकम आएको तर अन्तिम किस्ताको रकम निकासा नहुँदा निर्माणाधीन भवन ढल्ने अवस्थामा पुगेको नव सर्वसाधारण आधरभूत विद्यालयका प्रधानाध्यापक रमेशकुमार रोकायले बताए। उनले भने,‘गाउँपालिकामा बुझ्दा प्राविधिक कार्यालयले चिठ्ठी मात्र पठाएको गरेकाे छ। रकमका विषयमा कुनै कुरा उल्लेख नगरेका कारण तत्काल केही गर्न नसकिने बताउने गरेको छ।’ 

गाउँपालिका, प्रदेश र संघसँग अलपत्र परेका भवन निमार्णलाई पूर्णता दिन पहल गरे पनि कुनै सुनुवाई नभएको नागरिक अगुवाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.