|

ओखलढुंगा : ओखलढुंगामा राजनीतिक दलको संरक्षणमा भएका निर्माण ठेक्का अलपत्र अवस्थामा  पुगेका छन्। भवन, पुल, सडक लगायतका आयोजना राजनीतिक दलको संरक्षणमा ठेकेदारले अलपत्र पारेका हुन्।

ओखलढुंगाको पूर्व–पश्चिम जोड्ने मोलुङ खोलाको मान्द्रे दोभान पक्की पुल ६ वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले अहिलेसम्म एउटा पिल्लर पनि निर्माण गरेको छैन। तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको भवन निर्माण गर्न गाल्वा पुष्पाञ्जली जेभीले ०७१ असार ३१ गते २ करोड ८८ लाख ६७ हजार रुपैयाँमा सम्झौता भएको भए पनि  अहिले भवनको जगमा उत्तिस उम्रेर जंगलमा  परिणत भई सकेको छ।

सिद्धिचरण नगरपालिका २ ठुलाछापको उमा कट्वाल क्याम्पसको भवन ९ वर्षदेखि अलपत्र छ। लिखु एकवार, दुधकोशी एकवार तथा राँगादीप पात्ले सडक निर्माणको काम पाँच वर्ष पहिले थालिएका हुन्।

ठेक्का हात पारेपछि ठेकेदारले पेश्की लिएर काम नगरी तीन वर्ष बिताए। साँघुटार ओखलढुंगा सडक आँखामाछारोहालेर झारा टार्ने कामभई रहेको छ। संघीयता कार्यान्वयन भएपछि दुई वर्ष काम रोकियो।

सम्झौताअनुसार मा्लुङखोलाको मान्द्रे पुल २०७० सालभित्रमा सम्पन्न गरीसक्नु पर्ने थियो। निर्माण कम्पनी राजेन्द्र लोकप्रिय जेभीको लापरवाहीका कारण काम हुन सकेको छैन। दुईपटक म्याद थपे पनि काम नसकिएपछि ०७६ चैतसम्म काम सक्ने गरि फेरि म्याद थप गरिएको छ। तर, अझै काम सुरु भएको छैन।

तत्कालीन जिल्ला शिक्षा कार्यालयको  भवन ठेक्कामा पुरानो भवन भत्काउने विषय उल्लेख नभएको भन्दै एक वर्षसम्म कामै भएन। पुरानो भवन भत्काउनेबारे अर्को वर्ष सम्झौता त भयो तर अहिलेसम्म जग मात्रै राखि पिल्लर हाल्न रड उठाइएको छ तर दुई वर्षदेखि काम अघि बढेको छैन।

शिक्षाको भवनको दुई पटक म्याद थप भए पनि निर्माण कम्पनीले काम गरेको छैन। दुई वर्षदेखि न म्याद थपिएको छ न सरकारले ठेकेदार कम्पनीलाई कारवाही नै गरेको छ। निर्माण कम्पनीका प्रतिनिधी बबी श्रेष्ठलाई नेकपाका नेताको संरक्षण रहेको स्थानीयको भनाइ छ।

भवन निर्माणबारे शिक्षा विभागलाई दुई पटक पत्राचार गरे पनि जवाफ नआएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। ठेक्का लगाउने निकायको कमजोरीले समस्या भएको छ अब कालो सूचीमा राखेर कारवाही अघि बढाउनुको विकल्प नभएकाके  प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ।

मान्द्रे दोभान पुलको निर्माणस्थलमा तीनजना मजदुर खटाएर आँखामा छारो हाल्ने काम भएको छ। यस कम्पनीका मालिक भीमबहादुर साउद डडेलधुराको पर्शुराम नगरपालिकाका मेयर हुन्। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको संरक्षण रहेको आरोप छ।

पुलका लागि दुईपटक डिजाइन गरिएको थियो। ८० मिटर लम्बाइ र ५ मिटर चौडाइको यस पुलका लागि सुरुमा ३ करोड ३२ लाख ५५ हजार लागत थियो, बीचमा चट्टान भेटिएपछि फेरिएको डिजाइनअनुसार ५ करोड ६९ लाख २४ हजार लागत बढाइयो। स्वीस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का तत्कालिन जिल्ला विकास समितिले लगाएको हथियो।

यो पुलको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबीपी) ले गरेको छ। पुल नबन्दा बर्षा याममा जिल्ला सदरमुकाम आवत जावत गर्न जिल्लाका पस्चिमी भेगका सर्वसाधारण रामछाप, सिन्धुलि र उदयपुर घुमेर सदरमुकाम जान बाध्य हुने गर्दछन्।

ठेकेदार कप्पनीका प्रमुख साउदलाई सांसद तथा प्रमुख जिल्ला अधिकारीले जिल्ला बोलाए पनि राजनीतिक पहुँचका कारण उनि एक पटक पनि हाजिर भएका छैनन्।

त्यस्तैगरी सिद्धिचरण नगरपालिका २ ठूलाछापको उमा कट्वाल क्याम्पसको भवन ९ बर्षदेखि अलपत्र छ। विरुवा पुष्पाञ्जली जेभीले लिएको ठेक्का ९ वर्षमा पनि पुरा भएन। निर्माण कम्पनीले तीनजना कन्ट्रयाक्टर फेरिसकेको छ। भवनको घेराबार, झ्याल ढोकाको काम बाँकी छ।

निर्माण कम्पनीको तर्फबाट जिम्मा लिएका ईश्वर जोशीले समयमा काम पुरा गर्न सकेनन्। भवनको आधा काम नसकिदै पेशा छोडेर उनि अमेरिका गए। उनलाई पनि नेकपाका नेताको संरक्षण रहेको छ।

कम्पनीले अहिले अर्को प्रतिनिधि तोकेर काम थाले पनि पुरा भएको छैन। त्यतै  गरी खिजिदेम्वा गाउँपालिकाको रंगनीमा रहेको चण्डेश्वरी माविको भवन पनि ९ वर्षदेखी अलपत्र अवस्थामा रहेको छ।

सि.एम. ढुकुचु जेभीले २ करोड ३५ लाख वजेटमा  एक करोड ९७ लाखमा ठेक्का लिएको उक्त भवनको कन्ट्याक्टरको रुपमा तत्कालिन युवासंघ नेपालका केन्द्रीय  सदस्यसमेत रहेका नेकपाका युवा नेता रोशन शाक्य रहेका थिए।

भारतीय दूतावासको लगानीमा शुरु भएका दुबै भवन तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का लागेको थियो। यी दुबै भवन समयमा निर्माण नभए पछि दुतावासले जिल्लालाई परियोजना नदिने सूचिमा राखेको बताइएको छ।

यसरी भवन, पुल, सडक आयोजना राजनीति संरक्षणमा ठेकेदारले अलपत्र पारेका छन्। लिखु एकवार, दुधकोसी एकवार तथा राँगादीप पात्ले सडक निर्माणको काम पाँच वर्ष पहिले थालिएका हुन्। ठेक्का हात पारेपछि ठेकेदारले पेश्की लिएर काम नगरी तीन वर्ष विताए।

मुलुकमा संघीयता कार्यान्वयन भएपछि दुई वर्ष काम रोकियो। लिखु एकवारको जिम्मा पाएका ठेकेदार कानछाराम तामाङ र राँगादीप पात्ले सडकको ठेक्का पाएका जीतबहादुर श्रेष्ठ दुवै कांग्रेस नेता हुन्, पार्टीको आडमा ठेक्का लिने र काम नगर्ने प्रवृतिले जिल्लाको विकास निर्माण अलपत्र गर्दै आएका छन् ती सडक चालु आर्थिक वर्षमा पुनः ठेक्का निकाल्ने गरि बजेट स्वीकृत भएको सांसद यज्ञराज सुनुवारले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.