'खेलेर मात्रै नचल्‍ने देखेर राष्ट्रिय लिग छाडेर रोजगारीका लागि कुवेत गएँ'

|

दमक : एकबेला थियो, नेपालका चर्चित फुटबलरहरूको सूचीमा झापा दमक-८ का सुन्दर नेपालको नाम पनि थियो। तर, त्यसबेला अहिलेको जति पनि नेपाली खेल क्षेत्र व्यावसायिक भएको थिएन। डेढदशक अघिसम्म पनि उनको नाम धेरैको स्मरणमा थियो। तर, पारिवारिक जिम्मेवारीले थिचेसँगै उनी क्रमिक रूपमा व्यावसायिक फुटबल जीवनबाट पाखा लागे।

दमक सडकपेटी र सानातिना मैदानमा घुँडा भाँच्दै र हात मर्काउँदै खुट्टामा फुटबल नचाउन सिकेका उनी झापा र मोरङका जिल्लास्तरीय टिम हुँदै सन् २००१ मा बी डिभिजनमा रहेको ग्यालेक्सी क्लबलाई ए डिभिजनमा पुर्‍याउन पनि सहभागी भए।

त्यसपछि राष्ट्रिय चासोमा परेका उनी एनआरटी क्लबबाट पनि खेल्ने अवसर पाए भने सन् २००३ मा २३ वर्ष मुनिको नेपालको राष्ट्रिय फुटबल टिममा रहेर पनि आफ्नो क्षमता प्रस्तुत गरे। तर, त्यसबेला सम्ममा उनलाई पारिवारिक जिम्मेवारीले छोप्दै लगेको थियो।

 खेलेर आफू मात्र बाँचे पनि परिवार धान्न कठिन थियो। बुवा हर्कबहादुर र आमा देवीमायाका कान्छा छोरा सुन्दरलाई सुशीला राईसँग अन्तरजातीय विवाह गरेपछि थप जिम्मेवारीले गाँज्यो। अन्तरजातीय भए पनि आफ्नो घरमा परम्परागत रुपमा भित्र्याए पनि जिम्मेवारी भने थपिएको थियो।

त्यसैले राष्ट्रिय लिग चलिरहेकै बेलामा वैदेशिक रोजगारीका लागि उनी कुवेत हानिँदा एउटा कुशल फुटबलरको अभाव खेल क्षेत्रले महसुस गर्‍यो। त्यसपछि पुनः खेल क्षेत्रलाई निरन्तता दिने इच्छा हुँदाहुँदै पनि परिबन्धले दिएन। 

हराउने रहर थिएन

जव फुटबल मैदानमा उनीप्रति चार्म चर्को थियो। त्यहीबेला हराउनु उनको रहर थिएन। ‘म मेरालागि हराएको थिइनँ। तर, निकै पछिसम्म पनि मेरो खोजी भएको, अभाव भएको सञ्चार माध्यमबाट थाहा पाएँ’ केही समय भारतीय फुटबल क्लबबाट समेत खेलेका उनले भने, ‘खेलेर मात्र जिउने अवस्था थिएन। म त सानैदेखि फुटबलमा क्रेज भएको मान्छे। तर, पारिवारिक जिम्मेवारी निर्वाहका लागि पनि म वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आयो।’

खेलेरै मात्र जिउने आधार नबनेकाले राम्रो चर्चा र अवसर पाइरहेका बेला पनि कुवेततिर लाग्नुपरेको उनले अनुभव सुनाए। तर कुवेतबाट फर्किएर मैदानमै आउन मन नभएको पनि होइन। तर, अवस्था र जिम्मेवारी सहज थिएन। त्यसबेला सम्ममा उनले विवाह पनि गरिसकेका थिए। त्यो पन आफ्नै फ्यानसँग, पृष्ठभूमि पनि अन्तरजातीय थियो।

समाजमा सजिलो भएन। त्यसैले कुवेतबाट फर्किएपछि दुवैजना इजरायलतर्फ लागे। सन् २००६ मा केही महिनाको फरक पारेर दुवैजना त्यसतर्फ लागेपछि भने व्यावसायिक फुटबल जीवनलाई फेरि निरन्तरता दिने अवसर नै मिलेन।

इजरालयमा पनि खेल मोह

सुन्दर इजरायलमा पनि फुटबलसँग नजिकै छन्। तर, त्यहाँ जति गरे पनि नेपालको व्यवसायिक फुटबलमा धेरै योगदान दिन नसकिने उनको अनुभव रह्यो। त्यहाँ नेपाली समुदाय तथा नेपाली दूतावाससँग सहकार्य गरेर बेलाबेला खेल खेलाउने गरेको बताउने उनी त्यहाँ किराँत याक्थुङ चुम्लुङ-केवाइसीसँग आबद्ध रहेर खेल क्षेत्रमा सक्रिय छन्।

नेपाल पर्यटन वर्ष सन् २०२० को प्रचार प्रसारका लागि पनि खेल क्षेत्रमार्फत जुटेको उनले बताए। उनले भने,‘नेपालको फुटबल क्षेत्रसँग अपडेट नै रहन्छु। तर आफैँ मैदानमा पसेर खेल्ने अवस्था त छैन।’

परिवारबाटै प्रेरित

सुन्दरमा फूटबलप्रति रुचि त मेरो सानैदेखि थियो। उनले दमकको चुलाचुली स्कुल पढे। त्यहाँ हुने खेलमा पनि भाग लिन्थे। उनका दाइहरू भक्त नेपाल र कुमार नेपाल पनि फुटबल खेल्थे। उनीहरूबाट पनि आकर्षित भए। उनी केही समयपछि दमकको ध्रुवतारा स्पोर्टिङ क्लबबाट खेल्न थाले। तर त्यस बेला झापामा धेरै फुटबल खेलाडी थिए। त्यसैले जिल्लास्तरीय टिममा अवसर नपाएपछि मोरङ जिल्लाको टिमबाट पनि खेले।

पछि उनी झापाको भन्ने थाह पाएपछि दुवै जिल्लाका कोचहरू बीच सल्लाह भएर मैले झापाबाटै खेल्ने भए। त्यसपछि झापामा चम्मिएका उनी ग्लोक्सी क्लबसँग जोडिए। क्रमिक रुपमा उनी राष्ट्रिय टिममा पुग्न सफल भए। तर अब विदेश धेरै नबस्ने उनको योजना छ। यसै वर्षदेखि उनको परिवार नेपाल आयो। विदेशमै तीनजना छोरीहरू हुर्किए।

‘परिवार र देशबाट टाढा हुँदा उनीहरूलाई पनि नेपाल बुझाउन सकिएको छैन। उनीहरूलाई नेपाली बोल्न पनि कठिन भइरहेको छ’ उनले सुनाए, ‘तर अब उनीहरूलाई यतै पढाउने तयारी गरेको छु। श्रीमती पनि यतै बस्छिन्। म केही समय बसेर यतै आउनेछु। सधैँ बस्न गएको होइन।’ 

अवस्था सुध्रियो, अझै सुधारको खाँचो

सुन्दरले खेलेका बेलाभन्दा त धेरै राम्रो हुँदै गएको देख्छन्। उनी सानो हुँदा कसैले ठूलो भएपछि के बन्छौ भनेर सोध्दा खेलाडी बन्छु भन्ने कोही हुँदैन थियो। तर अहिले स्कुल लेवलदेखि नै खेलमा रुचि बढाइएको ठम्याइ छ उनको। ‘फुटबल तथा क्रिकेटको क्रेजले धेरै नानीहरू खेलाडी बन्छु भन्ने सपना देख्न थालेका छन्। तर सपना देखेर वा देखाइएर मात्र नहुँदो रहेछ।

राम्रा खेलाडीलाई खेल क्षेत्रबाटै राम्रोसँग जिउने आधार बनाउन सकियो भने कुनै पनि खेलाडीले खेल क्षेत्र छोड्नु पर्दैन’ उनले भने,‘राम्रा खेलाडीलाई टिकाउन सकियो भने संसारभरि नेपालको नाम फैल्याउन खेल क्षेत्रले ठूलो योगदान गर्न सक्छ। सरकारले पनि यसतर्फ ध्यान दिन सक्यो र खेलाडीलाई टिक्न सक्ने वातावरण बनाइदियो। भविष्‍य सुनिश्चित गराइदियो भने कुनै पनि खेलाडी विदेशिनु पर्दैन।’

खेल क्षेत्रबाट विश्वमा चिनिएका कैयौं देश छन्। अझ कतिपय देश नचिने पनि संसार भरिका मानिसले उत्कृष्ट खेलाडीलाई चिनिरहेका हुन्छन्। खेल र खेलाडीको माध्यमबाट पनि देश चिनिने अवसर बन्छ। त्यसैले खेल क्षेत्रलाई युवा अल्मल्याउने क्षेत्रभन्दा पनि देश चिनाउने क्षेत्र ठानेर सरकारले काम गर्‍यो भने नेपाली खेलकुद क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा आफ्नो बलियो उपस्थिति बनाउन सक्छ भन्ने उनको धारणा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.