|

बर्दिया : प्रख्यात चिनियाँ मूलकी हलिउड फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भाभावदूत सु चिङ बर्दिया पुगेकी छिन्। नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी चिनियाँ अभिनेत्री सु चिङ शनिबार सद्भावना दूतको रूपमा बर्दिया पुगेकी हुन्। चिङको बर्दिया भ्रमणलाई मध्यनजर गर्दै बर्दियामा सुरक्षा प्रबन्ध मिलाइएको बर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।

सु चिङले शनिबार बर्दियाको केदारेश्वर धाम, सत्खलुवा ताल, लगायतका क्षेत्रहरूको अवलोकन गरेकी छिन्। यस्तै चिङ शनिबार ठाकुरद्वारामा बस्ने र आइतबार जंगल सफारीको कार्यक्रम रहेको स्थानीय कलाकार खगेन्द्र नेपालले बताए।

बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविक मार्ग, बढैयातालको प्रचार प्रसार गर्न चिङले ती क्षेत्र भ्रमण गर्ने कार्यकम रहेको नेकपा प्रदेश-५ का भीम केसीले बताए। ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले चिङलाई बर्दियाको भुरीगाउँमा स्वागत गरेका थिए।

उनले ठाकुरबाबा नगरपालिका बर्दिया रष्ट्रिय निकुञ्ज जोडिएको बताउँदै विभिन्न जनावरको अवलोकन गर्न सकिने बताए। यस्तै, उनले ठाकुरबाबा नगरपालिका चीनको गुईजाउ प्रान्तको लुईपान्सुई भन्ने नगरसँग भगिनी सम्बन्ध रहेको समेत बताए। बर्दियाको मुख्य व्यवसाय कृषि र पर्यटन भएको बताउँदै नगरप्रमुख श्रेष्ठले बर्दिया अवलोकनका लागि आएकोमा उनालई धन्यवाद व्यक्त गरे।

सु चिङ बर्दियाको पर्यटन प्रवर्द्धनका लागि बर्दिया आएकी हुन्। अभिनेत्री छिङले नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी भएको बताइन।

यस्तै, उनले बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गरेर उनले बर्दियाको प्रशंसासमेत गरेकी छिन्। बर्दिया प्राकृतिक हिसाबबाटै महत्वपूर्ण भएको र यहाँका विभिन्न जातजाति तथा भाषाभाषी भएका व्यक्ति आपसमा मिलेर बसेको देख्दा खुसी लागेको उनले बताइन्।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’ मार्फत चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन्। उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ। उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी छन्।

उनी चिनियाँ मात्रै नभई हलिउडसहित दर्जन बढी फिल्म, टेलिशृंखला आदिमा सशक्त अभिनय गरिसकेकी छिन्। उनले १३ औं एसियन फिल्म फेस्टिभलमा हिडन म्यान फिल्मबाट उत्कृष्ट सहायक कलाकारलगायत दर्जनबढी अवार्ड हात पारिसकेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.