|

हेटौँडा : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसको चिन्तन अझै नसुध्रिएकाले पछाडि पर्दै गएको बताएका छन्।

तत्कालीन कांग्रेस नेता विपी कोइरालाले भित्तामा गाईको चित्र टाँसेर सबैको घरमा घाई होस् र सबैले दूधभात खान पाउने वातावण बनोस् भनेर सुरु गरेको कांग्रेसको राजनीतिक यात्राको गति अहिले पनि पुरानै अवस्थामा रहेको उनले बताए। ‘समय र परिस्थिति अनुसार कांग्रेस फेरिन नसकेकाले पुरानै चालले हिँड्दैछ’, नेता पाण्डेले भने ‘त्यही भएर कांग्रेससँग जनताले समृद्धिको आशा गरेका छैनन्।’

नेपाल कम्युनिष्ट पार्टी मनहरीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा उत्साहका साथ प्रस्तुत भएका पाण्डेले राजनीतिमा युवा बिग्रँदै गएको पनि सुनाएका छन्। उनले राजनीतिक मुद्दामा १४ वर्ष जेल बस्न सक्ने प्रधानमन्त्री भएको पार्टीका युवा अनैतिक मुद्दामा २ घण्टा प्रहरी हिरासतमा बस्नसमेत आत्तिने गरेको सुनाए। ‘प्रहरी हिरासतबाट छुटाउने भए छुटाउनुस् नत्र पार्टी छोड्छु’ भन्नेहरूको जमात बढ्दै गएकाले राजनीति नै असुरक्षित र असन्तुलित भएको उनको तर्क थियो।  

एक अर्को प्रसंगमा उनले युवा समृद्धिसँग जोडिन नसके समृद्धि नारामै सीमित हुने बताए। अध्ययनलाई प्राथमिकता दिँदै जुनसुकै किसिमको शिक्षालाई निःशुल्क गरी व्यावहारिकतातर्फ ढाल्नेगरी शैक्षिक वातावरण बनाउनुपर्ने उनको भनाई थियो।

प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी जनप्रतिनिधिसमेत अनावश्यक ठाउँमा गएर सप्ताह र महायज्ञ उद्घाटन गर्दै हिँडेकोप्रति व्यंग्य गरे। अर्का केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद ओमबहादुर ग्लान, जिल्ला कमिटी सचिव प्रेमबहादुर पुलामीले पनि जनप्रतिनिधि पार्टीबीचको सम्बन्धका बारेमा प्रशिक्षण दिएका थिए।

नेपाल कम्युनिष्ट पार्टी मनहरीको आयोजना भएको दुईदिने आवासीय प्रशिक्षणमा १५० जना बढीले माक्र्सवादी शिक्षा ग्रहण गरेको सचिवालय सदस्य नवीन सुवेदीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.