|

काठमाडौं : चीनको सियानमा शिल्क रोड व्यवसायिक सम्मेलन सुरु भएको छ। सम्मेलनमा नेपालको निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भाग लिएकी छन्।

शिल्क रोड चेम्बर अफ कमर्शले आयोजना गरेको सम्मलेनको 'प्रोजेक्ट एण्ड द सस्टेनेवल डेभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिसियटिभ' विषयक सत्रमा  बाेल्दै अध्यक्ष राणाले चीन र समग्र दक्षिण एसियाकै व्यवसायिक हवको रुपमा नेपाल विकसित हुन चाहेको बताइन्।

दुई सशक्त आर्थिक शक्तिराष्ट्रका बीचमा रहेका कारण पनि नेपाल व्यवसायिक हब बन्न सक्‍ने राणाले दाबी गरिन्। नेपाल भूपरिवेष्ठित देश भएपनि महत्वपूर्ण रणनीतिक स्थानमा रहेको भन्दै नेपालले भू-जडित राष्ट्रको रुपमा लाभ उठाउन सक्ने राणाले बताइन्।

दक्षिण एसियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको बताउँदै राणाले बिआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै करिव ३ करोड जनसंख्यालाई आवश्यक बजारबाट लाभ उठाउन सक्ने उल्लेख गरिन् । 

भौगोलिक विकटता तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच अभाव भोग्दै आएको नेपालका लागि बिआरआईले बाह्य बजार र अर्थतन्त्रसँग जोडिने सम्भावनाको ढोका खोलिदिएको राणाको भनाई थियो।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन थालेको बताउँदै अध्यक्ष राणाले पर्यटनको क्षेत्रमा ठूलो सम्भावना रहेकोले लगानी गर्न आग्रह गरिन् । पर्याप्त जनशक्ति तथा औद्योगिक विकास निम्ति चाहिने आधुनिक प्रविधि अभावका कारण नेपालले अहिलेसम्म पनि अन्तराष्ट्रिय मूल्य श्रृंखलामा जोडिन नसकेको अध्यक्ष राणाको भनाई छ।

चीनले अगाडी सारेको 'वेल्ट एण्ड रोड इनिशिएटिभ (बिआरआई)' मा सामेल करिव पाँच दर्जन भन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागीता रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.