|

म्याग्दी : कालीगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित बेनी-जोमसोम-कोरला सडक आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।
राष्ट्रिय गौरवको यो आयोजनाको तीनवटा प्याकेजमा काम हुन ढिलाइ हुँदा अहिले अलपत्र बनेको हो।

म्याग्दीको गलेश्वर-नारच्याङ पुल, मुस्ताङको कोवाङ-जोमसोम र चराङ-छोसेर खण्डको सडक अलपत्र परेको हो। बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन्। उत्तर दक्षिण जोड्ने यो सडक सवैभन्दा कम दूरीको सडक हो।

कुल ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मंसिर १५ गते सकिएको छ।  
गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जोमसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ। गलेश्वर-नारच्याङ पुल खण्डको सडक कालोपत्र गर्न ठेक्का शर्मा युनाइटेड जेभीले लिएको थियो।

कोवाङ-जोमसोम सडक कालोपत्र र चराङ-छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो। कोशी एन्ड न्यौपाने जेभीले छ महlनादेखि रोकिएको सडकको काम अझै अघि बढाएको छैन।  

सुरुआती चरणमा कोशी एन्ड न्यौपानेले तीव्र गतिमा अघि बढाएको भए पनि पछिल्लो अवस्थामा काम रोकिएको हो। मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए। व्यवसायीको लापरवाही र सम्बद्ध कार्यालयका प्राविधिक तथा कर्मचारीको बेवास्ताले आयोजनाको बजार क्षेत्रका सडकमा काम हुन नसकेको उनले बताए।

सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको अध्यक्ष थकालीको भनाइ छ। कम्पनीले कोवाङदेखि जोमसोम खण्ड करिब ६२ करोड र चराङदेखि छोसेर खण्ड करिब २६ करोडमा सम्झौता गरेको थियो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार साबिक कम्पनीले तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम गरेको छ।

गलेश्वर-नारच्याङ पुल खण्डको काम पनि करlब ५० प्रतिशत भएको छ। कोशी एन्ड न्यौपानेकै नाम हटाएर साबिक कम्पनीको नाम सप्तकोशी एण्ड जलाधार कन्सट्रक्सन राखिएको परियोजना प्रबन्धक सहदेव गौतमले जानकारी दिए। उनले कोशी एण्ड न्यौपानेले थालेका सबै काम अब नयाँ कम्पनीले सञ्चालन गर्ने बताए।

जोमसोम-कोरला सडकको छोसेरदेखि कोरला नाकाको २४ नं गेटसम्मको सडक ११ मिटर फराकिलो र ग्राभेल गर्ने काम एक वर्षअघि नै सकिएको थियो।जोमसोमदेखि छुसाङसम्मको सडक स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ।  

सडक निर्माणमा ढिलाइ हुँदा नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई पनि प्रभाव पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.