|

बुटवल : नवनियुक्त संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले पाल्पाको सिद्धबाबा सडकखण्डमा बन्न लागेको सुरुङमार्ग एक महिनाभित्रै टेण्डर प्रक्रियामा जाने बताएका छन्।

सुरुङमार्गको अर्थ मन्त्रालयले लगानी सुनिश्चितता गरिसकेको जानकारी गराउँदै मन्त्री नेम्बाङले कम्तीमा एक किलोमिटर बन्ने सुरुङमार्गको निर्माणकार्य एक महिनामा टेण्डरको प्रक्रियामा जाने बताएका हुन्।  

‘हाम्रै स्रोतसाधन र डिजाइनबाट कम्तीमा एक किलोमिटरको सुरुङमार्ग निर्माण को डिपिआर सम्पन्न भइसकेको छ। हाम्रै स्रोतबाटै १० अर्वको लागतमा बनाइने सुरुङमार्ग यो एक महिनाभित्र टेण्डर प्रक्रियामा लैजाने कुरा बताउन चाहन्छु।’ मन्त्री नेम्बाङले भने। सरकारको प्राथमिकतामा परेको आयोजना भएकाले सुरुङमार्गमा कुनै पनि किसिमको ढिलासुस्ती नहुने उनले दाबी गरे।

प्रदेश ५ का रुपन्देही, नवलपरासी र कपिलवस्तु मन्त्रालय मातहत निर्माण भइरहेका भौतिक पूर्वाधारहरुको अनुगमनपछि आइतबार बुटवलमा प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङ्ले रुग्ण अवस्थामा रहेका आयोजनाहरुलाई द्रुत गतिमा अगाडि बढाउन सरकार लागिपरेको बताए। मन्त्री नेम्‍वाङले रुग्ण अवस्थामा रहेका आयोजनाहरुको पहिचान गरिएको बताउँदै त्यस्ता आयोजनालाई गति प्रदान गरिने बताए।

मन्त्री नियुक्तिपछिको पहिलो पत्रकार भेटघाटमार्फत उनले जनताले निर्माणाधीन आयोजनाहरुमा गति चाहिरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार ठूला भौतिक पुर्वाधर निर्माणको कामलाई गति दिइने दाबी गरे।

मन्त्री नेम्बाङले भने,‘प्रधानमन्त्रीज्यूले पटकपटक निर्देशन दिइरहनुभएको छ। बन्नै नसक्ने आयोजनाका दोषीहरुलाई कारबाही गर्ने छौं, र त्यस्ता आयोजनालाई गति दिनेछौं।’ उनले अनुगमनका क्रममा भैरहवा एयरपोर्टदेखि लुम्बिनीखण्डमा पर्ने तिनाउ–डण्डा नदिमा निर्माणाधिन तीन वटा पुलहरुको तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको जानकारी गराउँदै मन्त्री नेम्बाङले ढिलासुस्ती भएका आयोजनाहरुमा सरकार कडा रुपमा प्रस्तुत हुने संकेत दिए।

'भ्रमण र्षमा लुम्बिनीमा धुलो उड्दैन’

भौतिक पूर्वाधारमन्त्री नेम्बाङले लुम्बिनी क्षेत्रमा सडक स्तरोन्नति गर्दा देखिएको धुलो उड्ने समस्यालाई समस्याहरुको भ्रमण वर्ष २०२० सुरु हुनुअगावै निराकरण गरिने बताएका दाबी गरेका छन्।

भैरहवा–लुम्बिनी–तौलीहवा सडक निरीक्षण र अनुगमन गरी भ्रमण वर्षलाई ‘फोकल प्वाईन्ट’मा राखेर काम गर्न निर्देशन दिएकाले भ्रमण वर्षमा धुलो नउड्ने उनको दावी छ। ‘यो बाटोलाई फास्टट्रयाकमा डिसेम्बरको अन्त्यसम्ममा डबल लेन अथवा फोर लेन जति छन्, कम्तीमा धुलो नउड्ने बनाउन निर्देशन दिएका छौं।’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.