सरकारविरुद्ध मुद्दा हालेपछि आइलाग्यो अफ्ठेरो

|

काठमाडौं :  विश्व स्वास्थ्य संगठनको जागिर खान भन्दै राजीनामा दिएर हिँडेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी पुन: मन्त्रालय नै फर्किएकी छन्। सरकारले राजीनामा स्वीकृत नगरेपछि उनी मन्त्रालयमै हाजिर भएकी हुन्।

स्वास्थ्य सचिव चौधरीले एक महिना अघि दिएको राजीनामा सरकारले अस्वीकृत गरेपछि उनी मन्त्रालयमै फर्किन बाध्य भएकी हुन्। यद्यपि उनी काममा फर्किनुअघि सरकारी अधिकारीसँगको सम्पर्कमासमेत थिइनन्।

सचिव डा. चौधरीले गत कात्तिक ३ गते राजीनामा दिएको जानकारी सञ्चारमाध्यमलाई पनि दिएकी थिइन्। १३ कात्तिकबाट लागू हुने गरी राजीनामा बुझाएकी उनी डेढ महिनापछि मन्त्रालय फर्केकी हुन्। 

१७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा अस्विकृत गरेको थियो । त्यससम्बन्धी जानकारी पत्र ३ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको थियो।

सचिव खोज्दैथियो स्वास्थ्य मन्त्रालय

मन्त्रिपरिषदले राजीनामा अस्वीकृत गरेको पत्र पठाएपछि स्वास्थ्य मन्त्रालयले डा. चौधरीको खोजी शुरु गरेको थियो। मन्त्रालयको सम्पर्कका नआएपछि मन्त्रालयले सचिवलाई ईमेल र उनका सवारी चालकमार्फत् राजीनामा अस्वीकृत भएको जानकारी पत्र घरसम्म पठाएको थियो।

तर दुई दिनअघि सचिव चौधरी मन्त्रालयमा हाजिर भएकी हुन्। हाजिर भए पनि उनले काममा नफर्किइ आफ्नो राजीनामामाथि पुन:विचार गरियोस् भनेकी छन्। उनले अस्वीकृत भएको राजीनामा पुन: बुझाएकी हुन्।

यसबारेमा उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर पनि छलफल गरेकी थिइन्।  स्रोतले भन्यो, ‘ मन्त्रालयले पत्र पठाएपछि उहाँ आफैँ आउनु भएको हो। तर काममा फर्कनु भएको होइन, राजीनामामाथि पुन:विचार गरियोस् भनेर उहाँले अर्को पत्र दिनु भएको छ।'

सरकारले सजिलो तरिकाले राजीनामा स्वीकृत नगरे शक्तिको प्रयोग गर्ने पक्षमा उनी पुगेकी छन्। यो पटक राजीनामा स्वीकृत गराएरै छोड्ने गरी उनी लविङमा लागेको स्वास्थ्यमन्त्रालयस्थित उनीनिकट कर्मचारीले बताएका छन्। 

किन अस्वीकृत भयो राजीनामा?

सचिव चौधरीलाई सरकारले २०७५ असोज २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयमा सरुवा गरेको थियो। तर मन्त्रिपरिषदको त्यस निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गइन्। १५ कात्तिकमा रिट दायर गरेर १७ कात्तिकमा आफ्नो पक्षमा अन्तरिम आदेश लिएपछि स्वास्थ्यमै फर्किइन्। तर सरकारसँगको सम्बन्ध भने बिग्रिएर गयो।

सचिव रहेकै बखत उनले गत असारमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को भारतस्थित ‘कन्ट्री अफिस’ का लागि पी फाइभ (सहसचिव तह) को पोष्टमा आवेदन दिइ छनौटसमेत भएकी थिइन्।पछिल्लो पटक उनले त्यही पदमा जागिर खान राजीनामा दिएकी हुन्। तर सरकारले उनको राजीनामा स्वीकृत गरेन।

'सरकारविरुद्ध उत्रिएकी सचिवलाई किन सजिलै जान दिने भन्‍ने होला', मन्त्रालयका एक अधिकारीले भने, ‘निजामती सेवाको उच्च तह (सचिव)  जस्तो मान्छे सरुवा गर्दा सरकारविरुद्ध मुद्दा हाल्दै हिँडेपछिको परिणाम हो यो।’

त्यसो त चौधरीले राजीनामा दिनुअघि नै सरकारविरुद्धको रिट फिर्ता लिएकी थिइन्। सचिव पदमा करिब दुई वर्ष पदावधि हुँदै उनले राजीनामा दिइएकी थिइन्।

चौधरी गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह) को पोष्टमा छनोट भइसकेकी छन्। डब्लुएचओमा प्रतिष्ठित र आकर्षक जागिर मिलेपछि सरकारी सेवा छाड्ने तयारी उनले थालेकी थिइन्।

त्यसबेला समाचार प्रकाशित भएपछि उनले आफू छनोट भएको कुरा स्वीकार गरेकी थिइन्। यद्यपि त्यहाँ काम गर्न जाने वा नजाने भन्‍ने विषय नितान्त व्यक्तिगत रहेको उनले बताउँदै आएकी थिइन्।

चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा अवरोध भइरहेको थियो ।

चौधरी गत वर्ष कात्तिकमा सरकारले गरेको सरुवाविरुद्ध अदालतमा गएकी थिइन्। अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो।

चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवको दरबन्दी सृजना गरेर दुई सचिवको व्यवस्था गरेको छ। दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारलाई खुम्च्याइएको छ।

त्यहीबीचमा सम्मानजनक विकल्पको खोजीमा उनी लागेकी थिइन्। त्यही क्रममा उनले डब्लुएचओमा आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् । २०७४ पुस १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.