हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का खेलाडीलाई बधाई दिँदै प्रदेश सरकारले खेलाडीको व्यावसायिक जीवनको संरक्षण गर्ने बताएका छन्।
शुभकामना तथा बधाई व्यक्त गर्दै उनले भनेका छन् 'नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरुवात अत्यन्तै सुखद ढंगले गर्यो। हालसम्म पनि नेपाली खेलाडीको प्रदर्शन अत्यन्तै सुखद नै छ। विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीलाई हार्दिक शुभकामना दिन चाहान्छु। बाँकी खेलबाट पनि सफल हुने विश्वासको साथ सबै खेलाडीहरूलाई अग्रिम शुभकामना।'
प्रदेश सरकारले 'सबैका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नीति तथा कार्यक्रममै समावेश गरेको छ। मुख्यमन्त्री पौडेलका अनुसार प्रदेश सरकार खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगत रूपमा नै लागिरहेको छ।
पौडेलले भने 'प्रदेशमा एक अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रंगशाला एवं स्थानीय तहमा खेल मैदान स्थापना र व्यवस्थापन, सबै विद्यालयमा खेल मैदानको व्यवस्था र निर्वाचन क्षेत्रमा कभर्डहल निर्माण कार्य भइरहेको छ। आगमी २ वर्षमा भौतिक रूपमा हामी सक्षम हुनेछौँ, अनि प्रदेश सरकारले खेलाडीको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।