जिल्लामा खेलकुद गतिविधि शून्य जस्तै

|

डडेल्धुरा : डडेल्धुरामा निर्माण भइरहेका तीनवटा खेल मैदानको निर्माण कार्य अलपत्र परेको छन्। अमरगढी नगरपालिकामा संघ, प्रदेश र स्थानीय सरकारले अलग-अलग खेल मैदान निर्माण गरिरहेकाले आर्थिक अभावमा अलपत्र परेका हुन्।

मैदान नहुँदा डडेल्धुरामा खेलाडीलाई खेल खेल्नका लागि सास्ती हुने गरेको छ भने पूर्वाधार अभावका कारण खेलकुद शून्य जस्तै बनेको छ। पहिले-पहिले डडेल्धुरामा विभिन्न क्लवहरूले खेलकुदको आयोजना गर्ने गरे पनि अहिले भने खेलकुद प्रतियोगिता आयोजनका लागि पर्याप्त खेल मैदान नभएको भन्दै आयोजना गर्न छोडिएको छ। 

तीन तहका सरकारका बीचमा समन्वय नहुँदा डडेल्धुरामा निर्मााणाधीन तीनवटै खेल मैदानको निर्माण कार्य अलपत्र परेको हो। जिल्लाको अमरगढी नगरपालिकाका ४, ६ र ८ मा स्थानीय, प्रदेश र संघ सरकारले अलग-अलग खेल मैदान निर्माण गरिरहेकाले एउटा खेलमैदान पनि पूर्ण रुपमा निर्माण भएको छैन। 

अमरगढी नगरपालिका-४ स्थित उग्रतारा रंगशाला संघीय सरकारले निर्माण गरिरहेको छ भने वडा ६ को ग्वाला खेतमा प्रदेश सरकारले क्रिकेट मैदान निर्माण गरिरहेको छ। यसैगरी वडानम्वर-८ खोलाखेतमा अमरगढी नगरपालिकाले क्रिकेट मैदान निर्माण गरिरहेको छ। तीनवटै खेल मैदानमा गत आर्थिक वर्षमा करिब १ करोड रुपैयाँ खर्च  भइसकेकाे छ। बाँकी मैदान आर्थिक अभावले बन्न सकेका छैनन्।

यी तीनवटै खेलमैदानको निर्माण कार्य गत आर्थिक वर्ष शुरु गरेको भए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारले निर्माण गरिरहेको क्रिकेट खेल मैदानका लागि १० लाख रुपैयाँ विनियोजन गरेको  थियो। यसरी नै संघीय सरकार र अमरगढी नगरपालिकाले निर्माण गरिरहेका खेलमैदानका लागि रकम विनियोजन गरेको छैनन्। 

पूर्वाधार अभावका कारण पछिल्ला पुस्ताका प्रतिभावान् खेलाडी ओझेलमा पर्दै गएका छन्। अन्य जिल्लाका युवाले खेलमार्फत आफ्नो र देशको नाम बिश्वमा चिनाइरहेका बेला डडेल्धुराका युवा भने पूर्वाधार अभावका कारण खेलकुद छोेडेर वैदेशिक रोजगारीमा जान बाध्य भएको अमरगढी-५ डडेल्धुराका स्थानीय खेलाडी मिन पालले बताए। 

‘खेलमैदान भएको भए हामी पनि ठूला-ठूला प्रतियोगितामा भागलिन्थ्यौं होला। खेलेर आफ्नो, जिल्ला र देशकको नाम बिश्वमा चिनाउथ्यौं होला’ उनले भने, ‘खेल मैदान नभएका कारण खेलकुद छोडेर विदेश जानुपर्ने बाध्यता छ। यदि खेल मैदान हुन्थ्यो भने हामी पनि आफ्नो प्रतिभा देखाउँथ्यौं।’

डडेल्धुरालाई सुदूरपश्चिमको केन्द्र भनिन्छ। तर जिल्लामा एउटा पनि ठूलो खेल मैदान छैन। जिल्ला खेलकुद विकास समिति डडेल्धुराका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर मगरले भौगोलिक हिसाबले निकै अगाडि भए पनि पूर्वाधार अभावका कारण ठूला खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न नसकेको बताए।

उनले देश संघीय संरचनामा गएकाले बजेट कटौती भएर स्थानीय तहमै गयाे त्यसकारण जिल्ला खेलकुद समितिले आफ्नो नियमित कार्यक्रम मात्रै गरेको बताए।  ग्रामीण क्षेत्रबाट चौरमा खेल्दै जिल्लास्तरसम्म खेलाडी पुग्ने भए पनि त्यसभन्दामाथि जानका लागि अभ्यासको अभावले पुग्नै कठिन भएको उनको भनाइ छ।

भलिबल, फुटबल, कराँते, क्रिकेट, तेक्वान्दो, ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, कबड्डी र दौडका लागि प्रचुर सम्भावना डडेल्धुरामा छ। तर, भएको एउटा कर्वडहल भत्केको पनि महिनौ भइसक्यो।अझै निर्माण हुन सकेको छैन।

तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट, एथलेटिक्सकी सरस्वती भट्टराई, क्रिकेट खेलाडी दिलीप नाथ जस्ता खेलाडी डडेल्धुराका हुन्। खेल खेलाउनका लागि प्रशिक्षक आवश्यक हुन्छ। तर डडेल्धुरामा भने प्रशिक्षक नभएका कारण खेल खेलाउन समस्या भएको भलिबल प्रशिक्षक नरेश थापाले बताए। 

संघ, प्रदेश र अमरगढी नगरपालिकाले अलग-अलग खेल मैदान निर्माण गरिरहेकाले समस्या भएको अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘संघीय सरकारको एक स्थानीय तह एक खेलमैदान अन्तर्गत हामीले पनि प्रस्तावना पेश गरेका छौँ’ उनले भने, 'यद्यपि त्यसको निर्णय हुन बाकीँ छ। बजेट आउँछ भन्ने विश्वास लिएको छ।’

जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्वर भण्डारीले पनि प्रदेश सरकार र स्थानीय सरकारले खेल मैदान निर्माणका लागि आफूलाई कुनै पनि जानकारीसम्म नगराएकोे बताए। बहुवर्षीय योजनामा निर्माण भइरहेका तीनवटै खेलमैदान राष्ट्रिय स्तरका भएको उनको भनाइ छ।

सेमी कभर्डहल निर्माण कार्य पनि अलपत्र

जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम पनि अलपत्र छ। बजेट बिनियोजन नहुँदा अमरगढी नगरपालिका ४ मा रहेको टुँडिखेल छेउमा निर्माणाधीन सेमी कभर्डहलको काम अलपत्र परेको छ। गत आर्थिक वर्षदेखि निर्माण शुरु थालिएको सेमी कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमा रकम विनियोजन नगरिएपछि कभर्डहल निर्माण थालनीपछि अलपत्र परेको हो। कर्भडहल नहुँदा वर्षातको समयमा भलिबलदेखि अन्य इन्डोर खेलकुद प्रतियोगिता शून्य भएका छन्। 

जिल्लामा  रहेको एक मात्र ४० वर्ष पुरानो  टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो। गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को करिब १० लाख रुपैयाँ बजेटले कर्भडहल निर्माणको काम शुरुवात गरिए तापनि चालु आर्थिक वर्षमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख भण्डारीले बताए।

‘पुरानो जीर्ण अवस्थामा रहेको टिटी कभर्डहल गत वर्षको वर्षातले भत्कियो। सेमि कभर्डहल निर्माण गर्ने योजनाअनुसार गत वर्ष भत्केको भवनका ढुंगा, ट्रष्ट, जस्तापाता हटाइए। एउटा भागमा पिल्लर हाल्ने काम मात्रै भयो’ उनले भने, ‘यस वर्ष आवश्यक रकम विनियोजन नगरिँदा शुरुवात गरिएको काम पनि रोकिएको छ। निर्माण कार्य पनि अलपत्र नै पर्‍यो।’ 

कभर्डहलसँगै जोडिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय पनि भत्किएपछि एक वर्ष यता भाडाको घरमा कार्यालय संचालन भइरहेको छ। जिल्ला खेलकुद विकास समिति भलिबल प्रशिक्षक नरेश थापाले खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेलकुदका प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको बताए।

उनले अहिले इन्डोर मै गेम संचालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकुद गतिविधि शून्यजस्तै रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.