|

पर्सा : कक्षा ५ सम्म पुग्दा पनि शब्द पढ्न नसक्ने पर्साको सामुदायिक विद्यालयका विद्यार्थीको पढाइस्तर केही सुध्रन थालेको छ। सामुदायिक विद्यालयको पढाइस्तर उकास्न गाउँ छिरेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआरपी) ले कडाइका साथ कार्यक्रम लागू गर्न थालेपछि थोरै विद्यार्थीको पढाइस्तर उक्सिन थालेको हो। 

आधा शताब्दी अघि स्थापना भएर पनि विद्यार्थी केन्द्रित अध्यापन नगराएका विद्यालयमा समेत छिरेको इजिआरपी कार्यक्रमले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका जिम्मेवार व्यक्ति र स्थानीय जनप्रतिनिधिलाई समेत समेटेर सानो कक्षाका विद्यार्थीको पढाइ सुधार्न अग्रसर भएको छ। यो कार्यक्रमअन्तर्गत सबै पक्षका जिम्मेवार व्यक्ति र संस्थालाई पनि तालिम र विद्यार्थीलाई पठन सामग्री समेत दिने भएपछि सबैले उम्किन नपाउने भएका छन्। 

'थाहा छैन' भनी कोही उम्किन नपाउने कार्यक्रम 

शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य र स्थानीय जनप्रतिनिधि समेतलाई यो कार्यक्रममा सहभागी गराइएको छ। यसले पनि साना कक्षाका बालबालिकाको पढाइस्तर उकास्न सम्बन्धित कसैले 'मलाई थाहा छैन' भन्ने ठाउँ छैन। त्यसैले पनि विद्यार्थीकाे अध्ययनमा थोरै सुधार भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका पर्सा संयोजक भरत सहनीले बताए।

पर्सामा भने २०७२ बाट लागू भएकाले विद्यालयमा समूहगत रुपमा पटक-पटक अनुगमन गर्नेदेखि विभिन्न किसिमका तालिम र परीक्षण गरिरहने हुँदा विद्यार्थी मात्र नभएर सबै पक्ष नै सुध्रिनु पर्ने बाध्यता भएको उनको तर्क छ। हुन पनि यो कार्यक्रमले विद्यालय जान थालेका १ कक्षादेखि ३ कक्षा सम्मका बालबालिका र उनीहरूको पढाइस्तर उकास्न जिम्मेवार भूमिकामा हुने सबैलाई समेटेको छ। 

नेपाल सरकारअन्तर्गतकै कार्यक्रम 

युएसआडीको सहयोगमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम नेपाल सरकारको पाँचवर्षे राष्ट्रिय कार्यक्रमका रुपमा नै देशैभर लागू भएको छ। पर्सामा पनि ३६० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम संचालनमा छ। अझ ११५ वटा विद्यालयलाई विद्यालय व्यवस्थापन समिति अनुदान कार्यक्रम भनी २ लाखका दरले रकम पनि दिएपछि शिक्षाको स्तर सुधार गर्नै पर्ने बाध्यता थपिएको अनुगमन मूल्यांकन तथा दस्तावेज संयोजक विष्णु दाहालले बताए।

अनुगमनका क्रममा पनि स्थानीय जनप्रतिनिधि, अभिभावक, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ र कार्यक्रमका दाता समेत एकै पटक लक्षित विद्यालयमा पुग्ने हुँदा यो कार्यक्रमले साना बालबालिकाका पढाइस्तर उकास्न थालेको उनको भनाइ छ। 

कक्षा कोठा नै अरूभन्दा फरक 

शिक्षक महासंघका अध्यक्ष तीर्थराज यादवले यो कार्यक्रम लागू भएका सामुदायिक विद्यालयको आकर्षक बनाइँदा बालबालिकालाई पढ्न मन लाग्ने भएको बताए।

कक्षा १ देखि ३ सम्मका कक्षा कोठामा अक्षर, शब्द, र चित्रसमेत बनाइएका र कक्षा कोठा पनि रंग-रोगन गरी सफा रहेको उनको भनाइ छ।

यो कार्यक्रमले समेटका कक्षाहरू भने अन्य कक्षाको तुलनामा फरक छन्। तर बालविकास र अन्य कक्षा कोठाहरू भने अझैसम्म सुदृढ बनाउनुपर्छ भन्ने सोचको भने चौतर्फी विकास भइनसकेको उनको भनाइ छ। अन्तत्वोगत्वा विद्यालयको पढाइको स्तर कमजोर हुँदा शिक्षकमाथि नै प्रश्नचिन्न उब्जिने हुँदा यो कार्यक्रमपछि शिक्षकहरूमा पनि निकै गम्भीर हुन थालेको उनले तर्क गरे। 

सकारात्मक कार्यक्रम : अभिभावक 

पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले इजिआरपी कार्यक्रम निकै प्रभावकारी भएको र अब आफूहरूलाई पनि बल मिल्ने बताए। उनी र उनको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि शैक्षिक पृष्ठभूमिबाट आएका हुँदा जिल्लाका अरु पालिका भन्दा पकाहा मैनपुर गाउँपालिका भने यो कार्यक्रम प्रति सक्रिय भएर लागेको इजिआरपी कार्यक्रमको सामाजिक परिचालनको भूमिकामा रहेको सामाजिक संस्था जिल्ला समन्वय समितिका बोर्ड सदस्य मन्जु यादवले बताइन्।

अब अभिभावक पनि सचेत बन्न थालेको समयमा आएको यो कार्यक्रमले पर्साको सन्दर्भमा भने केही सकारात्मक कदम चाल्न थालेको अभिभावक आफैँ बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.