सरकारको लगानीबिनै बने तीन चौतारा

|

सिन्धुली : जिल्लाको सुनकोशी गाउँपालिका-५ का वडाध्यक्ष कृष्णराज दाहाल (सन्तोष)को सक्रियतामा स्थानीयहरू चौतारो निर्माण र संरक्षणमा जुटेका छन्।

 ग्रामीण भेगमा परम्परागत चौताराहरू नासिने क्रममा छन् । भएका बरपीपलका चौतारा मर्मतसम्भार अभावमा लथालिंग छन्। चौतारा मर्मत गर्ने वडाअध्यक्षको योजनालाई वडाका स्थानीय, बुद्धिजीवि, व्यवसायी सबैले प्रशंसा गर्दै सकेको सहयोग गरे।

काम सुरु भएको १५ दिन बित्न नपाउँदै अहिले वडा नं. ५ मा आकर्षक ३ वटा चौतारा बनेको वडा अध्यक्ष दाहालले बताए। ‘पुरानो चौतारा मर्मत–सम्भार गरेका छौं,’उनले भने,‘ हार्डवेयर पसलहरुले सिमेन्ट दिएका छन्, व्यवसायीहरुले सिमेन्ट, रड दिएका छन्, लर्ड बुद्ध ब्लक उद्योगले ब्लक दिएको छ, स्थानीयले श्रमदान गरेका छन्, यसरी नै सहयोग जुटाएर चौतारा निर्माण गरेको छु।’

उनका अनुसार एक चौतारो मर्मतका लागि ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च भएको छ । उक्त चौताराहरु सरकारी लगानीबिना नै निर्माण भएका हुन्।

वडा नं. ५ स्थित साबिक पुरानो झाँगाझोली गाविसनजिक एक, वडा नं. ५ स्थित रामटारमा दुई गरी ३ वटा चौतारा निर्माण गरिएको वडा अध्यक्ष दाहालले बताए। ‘बालबच्चादेखि बुढापाकासम्मले बस्न मिल्ने चौतारा निर्माण भएको छ,’उनले भने ‘हिजो हाम्रो पुर्खाले बरपीपल रोपिदिएकाले आज बस्न पाइएको छ, आज हामीले मर्मत, संरक्षरण गरे, भावी सन्तानहरुले पनि यसलाई प्रयोग गर्नसक्छन् भन्ने हेतुले चौतारा निर्माण गरिएको हो।’

चौतारा निर्माणलाई अभियानकै रुपमा अगाडि बढाउँदै वडाका सबै चौतारा निर्माण गरिने र गाउँपालिकामा रहेका चौतारा, पाटीपैवा, धारा, कुवा जस्ता पुराना सम्पदाहरुको संरक्षणमा पहल गर्ने उनले बताए।

लोप हुने क्रममा गाउँका चौतारा

सडक सञ्जाल विस्तार हुँदा तथा ग्रामीण भेगबाट बसाइँसराइ गर्ने क्रम तीव्र भएसँगै चौतारो मासिने क्रममा छ । यसको संरक्षणका लागि पनि चौतारा मर्मतको आवश्यकता खड्किएको अध्यक्ष दाहालले बताए।

रामटारमा चौतारासँगै रहेको पुरानो पोखरीलाई बनाउन समेत सुरु गरिएको उनले जानकारी दिए। विपी राजमार्गको किनारमै रहेकोले अहिले बनेका चौताराहरुमा यात्रुहरुलाई थकान मेट्ने विश्रामस्थलको रुपमा रहने बताए। वर पिपलका चौताराहरुले धर्मिक रुपमा पनि विशेष महत्व राख्दछ।

हिन्दू धर्म परम्पराअनुसार बरपीपल र समिसहितको चौतारा, पाटी—पौवा, धारा, कुवा र पोखरीलाई निकै महत्वका साथ हेर्ने गरिन्छ। बरपीपल र समि धार्मिक कार्यमा प्रयोग गरिन्छ भने पिपललाई अक्सिजनको मुख्य स्रोतसमेत मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.