|

काठमाडौं : गोरखाको पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार बनाउन बिनाव्याज १० लाख रुपैयाँ ऋण दिन सुरु गरेको छ। नगरपालिकालाई कृषिमा आत्मनिर्भर र स्वरोजगार बनाउन नगरपालिकाले बिनाव्याजको ऋण वितरण सुरु गरेको हो। 

पालुङ्टार नगरपालिकाका प्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मंसिर २० गतेबाट स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको ऋण दिन सुरु गरेको जानकारी दिए। ‘यहाँका युवा जनशक्ति विदेशमा परिचालन हुनुभन्दा यहि प्रयोगमा आओस भन्‍ने हाम्रो उद्देश्य हो,’ नगरप्रमुख कँडेलले भने, ‘यसको लागि नगरपालिकाले गत वर्ष एक करोड र यस वर्ष दुई करोड गरी तीन करोड रुपैयाँको स्वस्वरोजगार कोष स्थापना गरेको छ। यहाँ स्वरोजगार हुन चाहनेले आएर यो कोषको सदुपयोग गर्न सक्नेछ।’

नगरबासीलाई स्वरोजगार बनाउन कोष बनाउने विषयमा पाँचौँ नगरसभाले स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम स्वीकृत गरी कार्यविधिसमेत बनाइसकेको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन्।  

युवालाई कृषि, पशुपालन, उद्योग तथा व्यापार सञ्चालनका लागि स्वरोजगार कार्यक्रमअन्तर्गत बिनाव्याज ऋण दिन सुरु गरेको नगरपालिकाले जनाएको छ। ‘व्यवसाय सञ्चालन गर्न चाहने युवालाई कोषबाट कम्तिमा एकलाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म ऋण लैजान सक्नेछ,’ मेयर कँडेलले भने।

 ऋण पाउन उद्यम गर्नेहरूले विभिन्न मापदण्ड भने पूरा गर्नुपर्ने नगरपालिकाले जनाएको छ। ऋण लिएर व्यवसाय गर्न चाहनेले व्यावसायिक फर्म दर्ता गरेको हुनुपर्ने, वडा कार्यालयबाट व्यावसायिक फर्म दर्ता गरेको बारे उल्लेख भएको व्यहोराको पत्र लिनुपर्नेछ।

ऋण लिएको व्यक्तिले उक्त रकम तीन वर्ष भित्र नगरपालिकालाई नै फिर्ता भने गरिसक्नुपर्ने छ। अनुदानको रूपमा नभई ऋणको रूपमा भएकाले सो रकम फिर्ता गर्नुपर्ने र फिर्ता नगरे नगरपालिकाबाट पाउने सबै सेवासुविधा रोक्का हुने नगरप्रमुख कँडेलले जानकारी दिए।

उक्त ऋण नगरबासी र बाहिर ठेगाना भएको तर, नगरपालिकाभित्र व्यवसाय गर्नेले पनि पाउने प्रावधान छ। नगरपालिकाले यो वर्ष स्वरोजगार कोषबाट ४० युवालाई ऋण लगानी गर्ने लक्ष्य राखेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.