|

म्याग्दी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्म र सस्कृति संकटमा परेको बताएका छन्। आइतबार म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दु धर्म, संस्कार, सस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गरे।

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौँथो दिन महोत्सव अवलोकन गर्न आएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुलाई नयाँ आशा जगाएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने बताए।

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सविधानसभाका सदस्य अर्जुनप्रसाद जोसीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दु धर्मावलम्बीलाई एक ठाउँमा ल्याएको बताए।

उनले हिन्दु धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गरे।  जलजला क्षेत्र धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने भएकाले गाउँपालिकाले ठोस योजना बनाउनुपर्ने उनको भनाइ थियो।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको जानकारी दिए। गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट चालिख लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यलगायत समितिका पदाधिकारीहरूले सभापति देउवालाई स्वागत गरेका थिए। सभापति देउवालाई बाजागाजा, भजनकृतनसहित महोत्सव स्थलमा स्वागत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.