भारतले सबैभन्दा धेरै १२ स्वर्ण जित्यो

|
फोटो : स्वर्ण जितेपछि खुशी व्यक्त गर्दै श्रीलंकाका खेलाडी / सन्तोष यादव

जनकपुरधाम : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरमा भइरहेको कुस्ती खेलको तेस्रो दिन आइतबार नेपालले मात्र दुई रतज र दुई कास्य जितेको छ।

नेपालका लागि ६२ किलोग्राम समूहमा नेपालकी सुशीला चन्द रजत पदकमा सीमित भइन् भने ७२ किलोग्राम समूहतर्फ पनि नेपालकी निर्मला जागरी रजत मात्र प्राप्त गरिन्।

यस्तै, समीर शाहले ६१ किलोग्राम तौल समूहमा कास्य जिते। महिला समूहतर्फ ५९ किलोग्राम तौल समूहमा नेपालकी कोमल खत्रीले पनि कास्य जितिन् ।

भारतले भने आइतबार भएको सातवटा विभिन्न तौलको समूहमा चार स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलंका २ स्वर्ण जितेको छ भने पाकिस्तान पनि १ स्वर्ण हासिल गर्न सफल भए।

आइतबार तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमा कुस्ती प्रतियोगिता भएको छ। ९२ किलोग्राम समूहको खेलमा पाकिस्तानका मो. इनाम स्वर्ण पदक जित्न सफल भए भने श्रीलंकाका सलिथाले रजत चित्त बुझाए। ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बंगलादेशका श्रीश्रोत रायले रजत जितिन्।

७२ किलोग्राम समूहतर्फ श्रीलंकाकी अयोमी स्वर्ण र बंगलादेशकी अख्तर रोजिना कास्य पदक जितेकी छिन्। कुस्तीमा पुरुषतर्फ ६१ किलोग्राम तौल समूहमा भारतका रवीन्द्रले स्वर्ण, पाकिस्तानका मो. बिलालले रजत र श्रीलंकाका उदराले कास्य पदक जितेका छन्।

यस्तै ६५ किलोग्राम समूहमा श्रीलंकाकी दिलहानी स्वर्ण र बंगलादेशकी मोस लक्की कास्य जितेकी छन्। यस्तै महिला समूहमा ५९ किलोग्राम समूहमा भारतकी अंशुले स्वर्ण जित्न सफल भइन् भने बंगलादेशकी निपारेनले मात्र रजत जितिन्।

६२ किलोग्राम समूहमा भने भारतकै साक्षी मलिक स्वर्ण जित्न सफल भइन्। सोही समूहमा श्रीलंकाकी महिरा र बंगलादेशकी अख्तर सरमिनले रजत जितेकी छन् ।

मंसिर २० गतेदेखि सुरु भएको कुस्ती प्रतियोगितामा भारत १२ स्वर्ण जितेको छ। पहिलो दिन नै भारतले चार स्वर्ण जितेको थियो। हालसम्म पाकिस्तानले तीन, श्रीलंका दुई र नेपाल एउटा स्वर्ण पदक जित्न सफल भएको छ। कुस्तीमा नेपालका खेलाडी कमजोर देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.