भीड नियन्त्रण गर्न निषेधाज्ञाको प्रचार

|

बाँके : विद्यालय जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि कोहलपुर बजार दिनभर तनावग्रस्त बनेको छ। ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन्।

दुर्घटनामा परि घाइते चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको दाहिने खुट्टा काटिएको छ भने देव्रे खुट्टामा पनि गम्भीर चोट लागेको छ। उनी खतरामुक्त रहेको शिक्षण अस्पताल, कोहलपुरले जनाएको छ। 

उनलाई नेपाली सेनाको हेलिकोप्टरले थप उपचारका लागि ललितपुरको गोर्कोस्थित बि एण्ड बी अस्पतालमा लगेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिउँसो करिब सवा तीन बजे सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

आन्दोलनमा प्रहरी र आन्दोलनकारी गरी ३० बढी घाइते भएका छन्। प्रहरीले प्रहार गरेको गोली लागेर २६ जना बढी आन्दोलनकारी घाइते भएका छन्। जाजरकोट छेडागाँउका नारायण खत्रीको अण्डकोषमा रबरको गोली लागेको छ । महेश आचार्य, श्रीकान्त शर्मा र सृजन चन्दको तिघ्रामा रबरको गोली लागेको छ।

त्यसैगरी, दिपेन्द्र शाही, जनक ठकुरी, चित्रबहादुर रिजाल, लिला बडुवाल, ललित बस्नेत, पूजा केसी र लक्ष्मी बुढालाई पनि चोट लागेको छ। घाइतेमध्ये नारायण खत्री, सृजन चन्द र श्रीकान्त शर्मा गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

विद्यार्थीले प्रहार गरेको इँट्टा र ढुंगा लागेर इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित एक दर्जन प्रहरी घाइते भएका छन्।

भीड नियन्त्रण गर्न सुरक्षा समितिले निर्णय नगर्दै निषेधाज्ञा जारी भएको प्रचार

आक्राशित भीड नियन्त्रणमा आउने सम्भावना नदेखिएपछि प्रहरीले निषेधाज्ञाको नाटक गरेको छ। वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा कोहलपुर पुगेको प्रहरी टोलीले दिउँसो तीन बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी भएको माइकिङमार्फत जानकारी गराए।

प्रहरी भ्यानमा माइक राखेर उनले अवस्था सामान्य हुने अवस्था नेखिएपछि दिउँसो तीन बजेदेखि लागू हुने गरि कर्फ्यू जारी भएको माइकिङ गरेका थिए। पूर्वमा रोहिणी खोला, पश्चिमा किरण नाला, दक्षिणमा पिपरी चोक र उत्तरमा नौबस्ता चोकसम्मको क्षेत्रमा कर्फ्यू जारी भएको प्रहरी निरीक्षक बस्नेतले घोषणा गरेका थिए।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले पनि दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने तयारी भएको संचार माध्यमलाई जानकारी गराएका थिए। उनले सुरक्षा समितिको बैठक बसिरहेको र केहीबेरमा कर्फ्यू जारी हुनेसमेत बताए। तर, उनले त्यसको एक घण्टा नबित्दै बोली फेरेका छन्। ‘भीड नियन्त्रण गर्न कर्फ्यू जारी गरिएको प्रचार गरिएको हो,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.