|

तनहुँ : मौसमी प्रभावले गर्दा उत्पादनका विभिन्न क्षेत्रमा असर गर्ने गर्दछ। मौसमी प्रभावले आँबुखैरेनी गाउँपालिका स्थित ६९ मेगावाट क्षमताको मर्स्याङदी जलविद्युत केन्द्रको उत्पादन घटेको छ।

विद्युत् उत्पादन घटे पनि माग बढी हुने र रातको समयमा भने पूर्ण क्षमताको विद्युत उत्पादनका लागि सबै टर्वाइन प्रयोग गरिने केन्द्रले जनाएको छ। मर्स्याङदी  हिमालबाट बगेर आएको नदी भएकोले जाडो मौसममा घामको तापक्रम घट्ने हुँदा हिउँ कम पग्लने र वर्षा पनि कम हुने भएकोले विद्युत उत्पादन घटेको केन्द्रले जनाएको छ। 

कम उत्पादन हुँदा विद्युत प्रवाहमा समेत समस्या हुने केन्द्रले जनाएको छ। २३/२३ मेगावाट क्षमताको ३ वटा टर्वाइनबाट ६९ मेगावाट विद्युत उत्पादन गर्ने यस केन्द्रमा पानीको बहाव कम हुँदा टर्वाइनको प्रयोगमा समेत कम गर्ने गरेको छ।

केन्द्रले पानीको बहाव कम भएको अवस्थामा दिउँसो दुई वटा टर्वाइनबाट मात्रै विद्युत उत्पादनका लागि खोलिने र रातिको समयमा सिञ्चित पानीको उपयोग गर्नका लागि सबै टर्वाइन खुला गरिने केन्द्रले जनाएको छ। पानीको वहाव घटेकाले दिउँसो दुई वटा टर्वाइनबाट मात्रै उत्पादन गरिएको केन्द्र प्रमुख राजेशकुमार पाण्डेले जानकारी दिए। 

हाल दिउँसो दुई टर्वाइनबाट ४६ मेगावाट गरिएको छ भने राति तीन वटै टर्वाइनबाट ६९ मेगावाट विद्युत उत्पादन गरिएको केन्द्रका इलेक्ट्रिकल हेल्पर सन्तोष कुमार श्रेष्ठले बताए। दिउँसो दुई वटा मात्रै सञ्चालन गर्दा पानी वचत हुने र त्यसलाई राती प्रयोग गरी पूर्ण क्षमताको विद्युत उत्पादनका लागि तीनवटै सञ्चालनमा ल्याइने गरेको श्रेष्ठले बताए।

चैत लागेपछि सबै टर्वाइन सञ्चालनमा ल्याउन सकिने केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चैत पहिलो साताबाट गर्मी बढ्ने हुँदा हिउँ धेरै पग्लिने हुँदा मर्स्याङदी नदीमा पानीको बहाव बढ्ने भएकाले विद्युत उत्पादन तीनवटै टर्वाइनबाट गर्न सकिने छ। 

कात्तिक महिनाको दोस्रो साताबाट बहाव कम भएकोले दिउँसो विद्युत उत्पादन कम हुन थालेको केन्द्रले जनाएको छ। ‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव बढ्ने वित्तिकै विद्युत उत्पादन क्षमतामा बृद्धि हुने पाण्डेले बताए।

उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर सवस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाका अनुसार असोज महिनासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन तथा प्रवाह भएको थियो।

गर्मी मौसममा वायुमण्डलको तापक्रम बढेर हिउँ धेरै पग्लिने हुँदा पानीको बहाव बढेर विद्युत उत्पादनमा वृद्धि हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.