|

हेटौँडा : प्रदेश ३ का नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार शपथग्रहण गरेका छन्।

आइतबार प्रदेश सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। शपथग्रहणपश्चात उनलाई सभामुख श्रेष्ठले प्रदेशसभा सदस्यको लोगो लगाइदिएका थिए।

भडेलले आफ्नो भूमिकालाई सबैसँग सहकार्य गरेर अगाडि बढाउने बताएका छन्। सपथग्रहणपश्चात हेटौँडामा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो क्षेत्रको विकास निर्माणलगायतका क्षेत्रमा सबैलाई समेट्दै स्थानीय तह जिल्ला, प्रदेश र संघसम्म सहकार्य गरेर अगाडि बढ्ने बताए।

शपथग्रहण कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ३ नम्बर संसदीय दलका नेता इन्द्रबहादुर वानियाँ, प्रमुख सचेतक राधा घले, सत्तारूढ दल नेकपाका प्रदेश ३ का सचेतक बुद्धिमान माझीलगायत प्रदेशसभा सदस्यको उपस्थिति थियो।

मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए। उनका प्रतिष्पर्धी नेकपाका डिपी ढकालले ११ हजार २ सय ६ मत ल्याएका थिए।

योसंगै प्रदेश ३ मा नेपाली कांग्रेसका २२ जना सांसद संख्या पुगेको छ। प्रदेश ३ मा नेकपाको ८० जना सांसद रहेका छन् भने विवेकशील साझा पार्टीको ३, नेमकिपाको २, राप्रपाको १, राप्रपा संयुक्तको १ र १ स्वतन्त्र गरि  १ सय १० जना प्रदेशसभा सदस्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.