सिन्धुपाल्चोक : विभिन्न प्राकृतिक प्रकोपको क्षति व्योहोरेको सिन्धुपाल्चोकको भोटेकोशी जलविद्युत आयोजनाले करिब सात वर्षपछि आफ्नो उत्पादक पुनः शुरु गरेको छ। २०७१ सालमा जुरे पहिरोले आयोजनाको टावरमा क्षति पुगेपछि उत्पादन बन्द भएको आयोजनाले शनिबारबाट परीक्षण उत्पादन शुरु गरेको हो।
४५ मेगावाट क्षमताको उक्त आयोजनाले अहिले नदीमा पानीको बहाव कम भएको कारण २५ मेगावाट मात्रै उत्पादन गरेको छ। शनिबार दिउँसो १२ बजेदेखि आयोजनाले विद्युत उत्पादन सुरु गरेको आयोजनाका महाप्रबन्धक बिक्रम स्थापितले जानकारी दिए।
‘हामी अहिले २५ मेगावाट विद्युत मात्र निकाल्न सकेका छौं’, महाप्रबन्धक स्थापितले भने, ‘नदीमा पानीको बहाव बढेर पूर्ण क्षमतामा सञ्चालन गर्न थालेपछि भने ४५ मेगावाट नै उत्पादन गर्न सक्छौं।’ जुरे पहिरोले प्रशारण टावरमा क्षति पुगेपछि आयोजनाले विद्युत उत्पादन बन्द गरेको थियो। त्यसको करिब १० महिनामा मै टावर मर्मत गरी उत्पादन शुरु गर्नै लाग्दा २०७२ को भूकम्पले पुनः आयोजनामा क्षति पुर्यायो।
भूकम्पले आयोजनाको विद्युत गृहसहित पेनस्टक पाइप लगायतका भौतिक संरचनाहरूमा क्षति पुर्याएको थियो। सो क्षतिको मर्मत हुँदै गर्दा २०७३ को असारमा आएको बाढीले आयोजनाको धेरै संरचना पूर्ण रुपमा ध्वस्त बनाएको थियो।
करिब सात अर्ब रुपैयाँको लागतमा आयोजनको पुनर्निर्माण सम्पन्न गरी शनिबारबाट परीक्षण उत्पादन शुरु भएको हो। विद्युत उत्पादन सुरु भए पनि अब कम्तीमा १५ दिनपछि मात्रै व्यावसायिक रुपमा विद्युत उत्पादन सुरु गरिने आयोजनाले जानकारी दिएको छ। ‘हामी १५ दिन परीक्षण प्रशारणमा हुने छौँ। त्यसपछि मात्रै व्यावसायिक उत्पादनमा जान्छौँ’, महाप्रबन्धक स्थापितले भने।
उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको सब स्टेशनमार्फत राष्ट्रिय प्रशारणमा जोडिएको छ। करिब सात वर्ष उत्पादन बन्द हुँदा आयोजनालाई बार्षिक करोडौं घाटा भएको आयोजनाको भनाइ छ।
चिनियाँ कम्पनी सिनो हाइड्रोले तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गरेको हो। फास्ट ट्रयाकमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाले कामको जिम्मा दिए अनुसार सिनो हाइड्रोलाई दिएको थियो।
सबै काम सम्पन्न भएर अहिले हेडवक्र्सको परिक्षणका साथै पावर हाउसको समेत परीक्षण भइरहेको आयोजनाका महाप्रबन्धक स्थापितले बताए। क्षति धेरै भएकोले लागत पनि वढेको स्थापितले बताए।
‘आयोजनाको हेर्डवक्स मात्रै होइन सुरुङमा समेत क्षति पुगेको थियो’ स्थापितले भने,‘भूकम्पमा पेनस्टक पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेका कारण करिव सात अर्ब खर्च हुनसक्छ।’
आयोजनाको केही काम अझै बाँकी भएकाले निर्माणको जिम्मा पाएको चिनियाँ सिनो हाइड्रो कम्पनीलाई दुई महिनापछि मात्रै बिदाइ गरिने भएकोले खर्चको एकिन विवरण नआइसकेको उनले बताए।
भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने ड्याम र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ। अब हुने प्राकृतिक विपत्तिबाट पनि केही नहुने गरी आयोजनाको पुनर्निर्माण सम्पन्न भएको आयोजनाले दाबी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।