|

म्याग्दी : बढ्दै गैरहेको चिसो छल्नका लागि स्थानीयबासिन्दा बेँसी झरेपछि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र सुनसान जस्तै बनेको छ।

उपल्लो मुस्ताङको दालोमे र लोमान्थाङका स्थानीय बढ्दो चिसो छल्न र घुम्ती व्यापार गर्न निस्किएपछि लोमान्थाङ आसपासको क्षेत्र सुनसान बन्न गएको हो।उपल्लो मुस्ताङको चराङ, घमी र सुर्खान तथा लोमान्थाङ गाँउपालिकाको छोसेर, छोन्हुप र लोमान्थाङका स्थानीयबासिन्दा चिसो छल्न बेँसी झरेको इलाका प्रशासन कार्यालय लोमान्थाङले जनाएको छ।

चिसोका कारण इलाका प्रशासन कार्यालय, छोसेरमा रहेको प्रहरीचौकी, दुवै गाउँपालिका अन्तर्गत रहेका अन्य प्रहरीचौकीहरुलगायतका कार्यालयहरु समेत सुनसान रहेका स्थानीय पेमाडोमा गुरुङले जानकारी दिए।

अहिले उपल्लो मुस्ताङका स्थानीयको घरमा घरकुरुवा, बुढाबुढी र भेडा गोठाला मात्रै रहेको छन्। हिमपात भएपछि हिउँ फाल्न र लेकमा रहेका भेडीगोठ बेंसी सारेका गोठ कुर्ने गोठालाहरु मात्र रहेको उनको भनाइरहेको छ।

तिब्बतबाट बहने चिसो सिरेटोका कारण बिहान, बेलुका, घाम नलाग्दाको दिन र रातको समयमा बढी चिसो हुने गरेको स्थानीय पेमाडोमा गुरुङले बताए। चिसो क्रमशः बढ्दै जाँदा उपल्लो क्षेत्रको तापक्रम पनि माइनसमा झर्दै गैरहेको बताइएको छ।

चिसो छल्न स्थानीय बेंसी झरेपछि लोमान्थाङका होटलहरु बन्द भएका छन्भने पर्यटक, यातायातलगायतको आवतजावत पनि बन्द भएको छ। मुस्ताङको उपल्लो क्षेत्रमा असोजको अन्तिम सातादेखि नै चिसो बढ्ने गर्दछ। हरेक वर्षको मंसिरको दोस्रो सातासम्म उपल्लो मुस्ताङीहरु सबै बेंसी झर्ने गर्दछन्।

चिसो छल्न बेंसी झरेका स्थानीय गर्मीयाम सुरु भएपछि मात्रै आफ्नो गृहजिल्ला फर्किने गरेका छन्। चिसो छल्न निस्किएका उनीहरु र सदरमुकाम सारिएका कार्यालय फागुन, चैततिर पुनः उपल्लो मुस्ताङ सारिने जनाइएको छ।

बेँसी झरेका स्थानीयले आगामी माघ, फागुन महिनासम्म मध्य नेपालको विभिन्न जिल्लाका साथै छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गरेका छन्। आफूहरुले मुस्ताङमा उत्पादित दैनिक उपभोग्य एवं चिनिया सामान समेत बेच्ने गरेको व्यापारीहरु बताउँछन्। चिसो छल्न बेंसी झरेका सर्वसाधारणहरुले करिब ३ महिनाको अवधिमा भारतमा पुगेर स्वीटरलगायतका सामानहरु बिक्री वितरण गर्ने गर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.