|

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली पुरुष क्रिकेट टिमले कांस्‍य पदक जितेको छ। माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्‍य पदक जितेको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए। अमिल माउरुफले १३ रन बनाए। नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको सुरुवात राम्रो थिएन। ५ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम जारी रह्यो। उसले ६० रन बनाउँदा चार विकेट गुमायो। नेपालका लागि पारस खड्काले तीन रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ र आरिफ शेखले ३२ रन जोडे। यस्तै दीपेन्द्र ऐरीले दुई रन मात्रै बनाए। विनोद भण्डारी पनि १२ रनमा आउट भए।

साग क्रिकेटमा नेपालले काश्य जितेको पहिलो पटक हो । भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको थियो। तर श्रीलंका र बंगलादेशसँग पराजित भएपछि नेपालले काश्यका लागि खेलेको हो। महिला क्रिकेटमा पनि नेपालले काश्य पदक नै जितिसकेको छ। 

पुरुषतर्फको स्वर्ण पदकका लागि सोमबार श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.