|

काठमाडौं : नयाँ  मन्त्री पाएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टाउको दुखाइको रूपमा रहेको कर्मचारी समायोजनलाई व्यवस्थित गरिने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा स्वास्थ्य पत्रकार मञ्चका पदाधिकारीसँगको भेटघाटमा मन्त्री भानुभक्त ढकालले एकदमै अव्यवस्थित रूपमा रहेको कर्मचारीहरूको समायोजनलाई व्यवस्थित रूपमा लैजाने कामलाई आफू प्रथामिकताका साथ लागिपरेको बताए।

मन्त्रालयले केही महिनादेखि समायोजनको काम लगभग पूरा भएको बताउँदै आए पनि  पछिल्लोपटक अझै करिब ७ हजार कर्मचारीको समायोजनमा समस्या रहेको छ। समायोजन टुंगोमा पुर्‍याउनमा समस्या भइरहेको समेत मन्त्री ढकालले बताए।

मन्त्री ढकालले भने, ‘कतिपयको पद नमिलेको छ भने केही कर्मचारीको योग्यताअनुसार समायोजन नभएको गुनासो आएको छ जसले गर्दा म सुरुमै समायोजन प्रक्रियालाई नै टुंगोमा पुर्‍याउने कोसिसमा छु।'

हिजो जो कर्मचारी जुन पदमा थिए, त्यो पदभन्दा तल नझार्ने गरी समायोजन गर्दा २ हजारको हाराहरीमा समस्या हल हुने आफूले थाहा पाएको उनले बताए। यस्तै, आफू आएपछि  गुनासो सम्बोधनका क्रममा मन्त्रालयले एक हजार जति कर्मचारीको व्यवस्थापन गरिसकेको र त्यति नै संख्यामा गुनोसो सम्बोधन गर्ने तयारी भइरहेको समेत मन्त्री ढकालले बताए।

यस्तै, पछिल्लो समय पहाडी र हिमाली जिल्लाहरूमा खाली दरबन्दीमा  इच्छाएका कर्मचारीलाई जान प्रेरित गरिनेसमेत उनले बताए। यसपछि पनि समस्या बाँकी भएमा कतिपय डाक्टर तथा अन्य स्वास्थ्यका कर्मचारलाई पुलदरबन्दी सिर्जना गरेर अत्याआवश्यक भएको क्षेत्रमा सेवा दिलाउने गरी योजना रहेको पनि मन्त्री ढकालले सुनाए।

संघीयता कार्यान्वयनका क्रममा समान्यले पुनः संरचित संगठन संरचनाअनुसार गत चैत तथा वैशाखमा विभिन्न चरणमा गरी स्वास्थ्यका करिब २७ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो। सूची सार्वजनिक भएसँगै कर्मचारीले समायोजन वैज्ञानिक नभएको भन्दै गुनासो गरेका थिए।

यस्तै, मन्त्री ढकालले सरकारी ठूला अस्पतालहरूको सेवा सुविधा तुस्त दुरुस्त बनाउने आफ्नो मुख्य काम हुनेसमेत बताएका छन्। यस्तै विकास साझेदारी विदेशी ठूला संस्थाको धेरै प्रत्यक्ष संलग्नता रहेको स्वास्थ्य मन्त्रालयमा विदेश जाने धेरै अवसरहरूलाई आफूले दुरुपयोग नगर्ने र व्यवस्थित गर्नेसमेत बताएका छन्।

उनले भने, ‘एकथरि चाहिँ विदेशमा मात्र जाने र आइरहने  एकथरीले विदेश देख्नै नपाउने अवस्था छ भने त्यसलाई हामीले अन्त्य गर्नुपर्छ। सिक्ने सिकाउने कुराका लागि धेरैभन्दा धेरैलाई अवसर पनि दिनुपर्छ। राज्यको निम्ति नीति र नेतृत्व गर्ने कुरामा जसको जिम्मेवारी हो, उसलाई स्थापित गर्ने गरी अगाडि बढ्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.