|

पर्वत : जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ रोकाया थरका मनवीर रोकाया उमेरले ४९ वर्षका भए। २० वर्षको उमेरदेखि देशका विभिन्न जिल्लामा डुलेर कपडा बेच्दै आएका छन् उनले।

३० वर्षदेखि घर छोडेर विभिन्न ठाउँमा डुल्दै आएका रोकाया गाउँगाउँमा डुलेर व्यापार गर्नुका उद्देश्य दुईवटा छन्। पहिलो त उनका ६ जना छोरीमध्ये अब चारजनाको विवाह गर्न बाँकी छ, दोस्रो जुम्लामा चिसो बढेका कारण पहाड झर्दा चिसो छलिन्छ।

‘यो वर्ष यता आएको एक महिना जति भयो। हिउँदको बेलामा डुलेर केही पैसा जम्मा पार्न सके परिवारको नाना, टालो, गाँस जोडिने थियो। चारवटी छोरीको विवाह गर्नु छ’ उनले भने, ‘यो बेलामा माथि चिसो बढेको छ। छोरी र श्रीमती घरमै छन्। यो बेलामा अन्न खासै नफल्ने भएर म डुल्न पाउँछु।’

बुढेसकालमा काँधभरिको भारी बोकेर गाउँगाउँ डुल्दा धेरै ठाउँ देख्न पाउने भएकोले पनि रोकायालाई विदेश नगई आफ्नै देशमा डुलेर व्यापार गर्न मन लागेको हो।

मासिक १५ हजार

घरको आर्थिक अवस्था कमजोर भएका कारण केही उपाय नभएकोले छोरीहरूको विवाह गर्नकै लागि नडुली नहुने उनको बाध्यता छ। ‘बैंकमा त कत्ति पनि पैसा छैन। बैंकमा खाता पनि खोलेको छैन। अलिअलि जम्मा भएको पैसा घरमा नै राख्ने हो।’ रोकायाले भने, ‘एउटी छोरीको बिहेमा ३ लाख जति खर्च हुन्छ। एक बोरा कपडा बेचेर चार छोरीको विवाह त हुँदैन, अब बिहे गर्ने बेलामा यसो अलिअलि भएको जग्गा बेचेर उम्काउनु छ।’

मनवीरलाई सानोमा धेरै पढेर जागिर खाने धोको नभएको पनि कहाँ हो र? तर उनका ३ दाजुभाइ र एउटी दिदी  भएको कारण बाबुआमाले पढाउने खर्च धान्न सकेनन्। पढ्न नपाएकोमा पछुतो मान्दै उनले भने ‘हाम्रो घरका कसैले पनि पढ्न पाएका होइनौँ। पहिलेबाट नै हामी गरिब थियौँ।’

मनवीर कान्छा सन्तान हुन्। उनका ठूला दाजुलाई पोहोर साल भारतमा डाँकुहरूको समूहले हत्या गरे भने माइला दाजुको जन्डिसका कारण ज्यान गयो।

आफूले नपढेकै कारण दुःख पाएको सम्झँदै रोकायाले काँधमा कपडाको भारी बोकेर भए पनि सबै छोरीहरूलाई निरन्तर विद्यालय पठाएका छन्। उनले महिनामा १० देखि १५ हजार रुपैयाँसम्म बचत गर्दै आएका छन्।

व्यापार हुने आस

जुम्लाकै कनकासुन्दरी गाउँपालिका ४ धोबीघाटका ३८ वर्षीय बिर्खबहादुर क्षेत्री पनि शिलाजित, नङकट, डोरी, हिङ, काँचो सिम्रिक, जेठी मधु, निरमसी, जिम्बु, औँठी, पोते लगायतका सामानहरू बोकेर पर्वतका गाउँ गाउँ डुलिरहेका छन्।

विदेश जाने डेढ लाख रुपैयाँ नहुँदा र अनपढ भएकै कारण जोखिमको काममा पर्ने डरले उनलाई विदेश जान मन लागेन। उनको घरमा बुबा, श्रीमती र छोराछोरी छन्। बिर्खबहादुरले महिनामा १० हजार रुपैयाँ जति बचत गर्दै आएका छन्।

उनलाई चिसो बढ्नु र घट्नुले खासै फरक पार्दैन। चिसो छल्ने बहानामा मात्रै पहाडमा झर्दा परिवार पाल्न कठिन हुने भएकोले सबैजसो महिनामा उनी व्यापारका लागि डुल्ने गर्छन्। छोराछोरी साना भएका कारण विवाहभन्दा पनि उनीहरूलाई दुई गाँस कसरी खुवाउने? भन्ने चिन्ता छ।

‘म घरमा नगएको एक वर्ष भयो, बेला बेलामा पैसा पठाउने गरेको छु।’ उनले भने, ‘म पाँच कक्षा पढ्दा पढ्दै छोडेको मान्छेले विदेशमा गएर जोखिमको काम गर्न भन्दा आफ्नै देशमा घुमेर बरु थोरै कमाई गरेर नेपाल देख्न पाउँदा खुसी लागेको छ।’

हिउँद याममा चिसो बढेसँगै चिसो छल्नका लागि जुम्लाका धेरै नागरिक पहाड झरेर व्यापारमा व्यस्त हुने गरेका छन्। यो समयमा गाउँमा हिँड्न नसक्ने अवस्थाका ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरू मात्र हुने गरेका छन्। बेसी झरेकाहरूले डुलुवा व्यापार गर्दै केही आम्दानी गरेर गर्मीयाम सुरु भएपछि गाउँ फर्किने गरेका मनबीर र बिर्खबहादुर बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.