|

पर्सा : सडक अधिक्रमण गरी वर्षौंदेखि घरधनीले चर्चिआएको ठाउँ खाली गराउन भन्दै स्थानीय युवाले वीरगन्ज महानगरपालिका अगाडि एकघण्टा धर्ना वसेका छन्। 

वीरगन्ज महानगरले नै सडक अधिक्रमण गरी बसेका घरधनीलाई संरक्षण दिएकाले स्थानीय युवाले वीरगन्ज महानगरपालिकालाई दवाव दिन गेटमा धर्ना दिएका हुन्। वीरगन्ज विकास युवा संघर्ष समिति गठन गरी समितिमा आबद्ध युवाको माग सडक विभागको मापदण्डअनुसार बीचबाट २५⁄२५ मिटर नै खाली गराइनुपर्छ भन्ने छ। युवा पूर्व वीरगन्जको घण्टाघरबाट प्रदर्शन गर्दै महानगरको गेटमा पुगेका थिए।

सडक विभागले सडकको एरिया भनी दावी गरेको ठाउँ वर्षौंदेखि अधिग्रहण गरी बसेका घरधनीलाई हटाउन वीरगन्ज महानगरपालिका नै बाधक भएको भन्दै दवाव दिनु परेको युवाको अगुवाई गरेका अखलेशकुमार साहले बताए। 

'वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको घर पनि सडकमा नै पर्नु र आफ्नो राजनीतिक भविष्यका लागि उनी नै बाधक भएको युवाको ठहर छ। 'वीरगन्जको विकासका लागि कोही बाधक बन्नु हुन्न भन्ने हाम्रो माग हो' उनले भने। गतअसोज २९ गतेदेखि वीरगन्जको मुख्य सडक अतिक्रमण हटाउन भनी तीन दिन हस्ताक्षर अभियान चलाएकै युवाले त्यो हस्ताक्षर नेपाल सरकारको सम्बन्धित मन्त्रालयका मन्त्रीलाई पनि बुझाइसकेका छन्।  

मुलुकका अरु ठाउँमा झैं वीरगन्जमा पनि फराकिलो सडक 

वीरगन्ज विकास युवा संघर्ष समिति नै बनाइ स्थानीय युवाले मुलुकका अन्य ठाउँमा झैं साँघुरो सडक चौडा पारी वीरगन्ज बजार क्षेत्रमा पनि सडक फराकिलो पार्न दवाव दिनु परेको संघर्ष समितिका अर्का युवा महमुद अंसारीले बताए। चारैतर्फ चौडा सडक बन्दै छ। 

'विकासको वाधकका रुपमा वीरगन्जवासीले कति आरोप भिरी राख्ने? हाम्रो नगर पनि अरु नगर झैं सुन्दर र सफा बन्नुपर्छ भनी हामी संघर्षमा उत्रिएका हौं' उनले भने। आर्थिक नगरी वीरगन्जको मूल सडक वर्षौं मिचेर बस्नेको प्रलोभनमा सडक विभाग र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पनि पर्ने पुरानो रोग यो पटक नफालेसम्म अब हाम्रो संघर्ष जारी रहन्छ संघर्ष समितिमा आबद्ध युवाले दावी गरे।  

सडक चौडाको माग गर्ने नगर्ने दुई संघर्ष समिति

लालपूर्जा समेत बनाई सडकको जग्गामा बसेका घरधनीको तर्फबाट पनि वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति गठन भएको छ। सडकको बीचबाट २५⁄२५ मिटर नै सडक चौडा पार्नुपर्छ भन्ने ‘वीरगन्ज विकास युवा संघर्ष समिति' को भन्दा पीडित संघर्ष समितिको भनाइ फरक छ।

सडक पीडित संघर्ष समितिका युवाको भने चलनचल्तीका आधारमा मुआब्जा दिएर मात्र सडक तोड्नु पर्ने उनीहरूको माग छ। 

महानगर भन्छ १५⁄१५ मिटर मात्र

वीरगन्ज महानगर भने त्रिभुवन राजपथअन्तर्गतको वीरगन्ज क्षेत्रको सडक दायाँ-बायाँ १५/१५ मिटर मात्रै फराकिलो पार्नुपर्छ भन्ने पक्षमा छ।

नगर प्रमुख विजयकुमार सरावगीको घर पनि बजार क्षेत्रको त्रिभुवन राजपथसँगै जोडिएकोले उनी पनि सडकको बीचभागबाट २५⁄२५ मिटर नभई १५/१५ मिटरमा नै रोकिएका छन्। उनकै अध्यक्षतामा बसेको वीरगन्ज महानगरपालिकाका बोर्ड बैठकले पनि १५⁄१५ मिटर मात्र सडक चौडा पार्न पहल गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.