म्याग्दी : म्याग्दीकी सामाजिक अभियान्ता विमला गौचन डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन्। भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन्।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा.अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियान्ता गौचनलाई सम्मानित गरेको हो। विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष पनि हुन्। यसैगरी डाक्टर अम्वेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन्।
जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याएबापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ। जातीय विभेदविरूद्ध अन्तर्जातीय बिवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहेकी छन्। यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।
भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए। भारत-नेपाललगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।
दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्वेडकर सामाजिक समावेशिकरणका अभ्यासकर्ता हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।