हो विकास भइरहेकै छ-आज बनेको पुल भोलि नै टुट्छ

|

अन्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसमा हामीले मनन गर्नुपर्ने आवश्यकता छ। दुनियाँमा सबैभन्दा बढी भ्रष्टाचार हुने सूचीमा नेपाल पर्छ। र, नेपालभित्र बढी भ्रष्टाचारको सूचीमा प्रदेश २ पर्छ। यस प्रदेशको नेतृत्वमा हामी छौं। 'हामी भ्रष्टाचार गर्दैनौं' लेखेको कागज भित्तामा टाँसेर हुँदैन। कुर्सीको छेउमा लगाएर हुँदैन। यो कागजको टुक्रामा राखेर हुँदैन। व्यवहार र आचरणमा भ्रष्टाचार मुक्त गर्ने प्रतिवद्धता जबसम्म जनाउँदैनौं, तबसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्दैन। यो मानसिकता हो। प्रदेश सरकार भ्रष्टाचार उन्मुलनको कुरा गर्दैन, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा प्रतिवद्ध छ। 

भ्रष्टाचार क्यान्सर हो। जसरी क्यान्सर लागिसकेपछि मान्छे समाप्त हुन्छ, मर्छ। त्यसरी नै जुन मुलुकमा भ्रष्टाचार हुन्छ, त्यो मुलुक समृद्ध हुन सक्दैन। विकास गर्न सक्दैन। यो ध्रुव सत्य हो। म जुन दिन शपथ लिए, त्यस दिन जनाएको ५ बुँदे प्रतिवद्धतामा सुशासन पनि थियो। अब सोच्नुस् सुशासनका लागि मेरो प्रयास के भयो। सात प्रदेशमध्ये यो पहिलो प्रदेश हो जसले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सचिवलाई लिएर अख्तियार पुगेर छलफल गर्यौँ। भ्रष्टाचार नियन्त्रणका लागि इमान्दारीपूर्वक काम गर्ने हो। हामी के गर्दा भ्रष्टाचार नियन्त्रण गर्नमा सघाऊ पुग्छ भन्‍ने विषयमा छलफल गरेका छौं। उहाँहरु (अख्तियारका पदाधिकार) को अनुसार प्रदेश सरकार सुशासनसम्बन्धी विधेयक सदनमा लगेको छ। भ्रष्टाचार नियन्त्रणका लागि सहयोगात्मक भूमिकाका लागि सुशासन सम्बन्धी कानून बनाउन लागेका छौं। 

हो साँचिकै भन्‍ने हो भने यो प्रदेशमा भ्रष्टाचार भइरहेकै छ। अख्तियारको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी उजुरी प्रदेश २ बाटै परेको देखिन्छ। कहिलेकाहीँ कानुनी त्रुटीले पनि गलत हुन जान्छ। त्यसलाई गम्भीर ढंगले नहेरौं। यदि गलत मानसिकताले काम गरेको छ भने त्यसलाई छुट पनि दिन मिल्दैन।

मलाई थाहा छ खाली स्लोगनको भरमा भ्रष्टाचार नियन्त्रण हुने छैन। १० वर्षदेखि त तपाईंहरु हेर्दै आउनुभएको छ। यस्ता कोटेशनहरु छाप्दैछ। जो भ्रष्टाचार गर्छन्, उसैको टेबल मुनी लेखेको हुन्छ हामी भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार हुन दिदैनौं। के भ्रष्टाचार नियन्त्रण भएको छ? के यसरी लेखेर मात्र भ्रष्टाचार नियन्त्रण हुनसक्छ ? भ्रष्टाचार हुन दिँदैनौं सबैले आआफ्नो ठाउँबाट प्रतिवद्धता जारी गरेपछि मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्छ। भ्रष्टाचारलाई 'कन्ट्रोल' गर्न सकिन्छ। मलाई आश्चर्य लाग्छ कि अहिले पनि केही यस्ता कार्यालय छन्, जहाँ पुग्नका लागि राष्ट्रसेवक कर्मचारी मरिहत्ते गर्छन्। किन मरिहत्ते हुन्छ। ठूलाबडाकहाँ कर्मचारी धाउने गर्छन्। के त्यो कार्यालयमा काम गर्न जान्छन त ? कदापि काम गर्न त्यो कार्यालय पुग्न मरिहत्ते गर्दैन। कसरी भ्रष्टाचार गर्ने, कसरी मुलुकलाई लुट्ने सोचेर त्यो कार्यालयमा जान चाहन्छन्। विडम्बना यो पनि हो। 

कानुनले भनेको कुरा नगर्नु र नगर्नुपर्ने कुरा गर्नु नै भ्रष्टाचार हो। म कार्यालयका प्रमुखहरु र सचिव ज्यूहरुलाई भन्‍न चाहन्छु-तपाईंहरु प्रदेश २ मा भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सुरु गर्नुस्। अभियान होइन्, महाअभियान। म भन्छु यो सानो अभियान होइन। यसका लागि म रोडम्याप पनि दिन्छु। अहिले जिल्ला जिल्लामा भन्‍ने गरिन्छ- स्थानीय तह (नगरपालिका र गाउँपालिका) मा बढी भ्रष्टाचार भयो। यो भ्रष्टाचार अहिले पाएका होइन। जम्मै हामी विरासतमा पाएका छौं। समाजमा पनि जोसँग बढी पैसा छ जसको लवाईखवाई ठूलो छ त्यो नै भ्रष्टाचारमा लागेको छ। समाजले भ्रष्टाचारको अनुमोदन गरेको छ। यस्ता समाजको जबसम्म सोच र चिन्तन बदल्न सक्दैनौं, तबसम्म भ्रष्टाचार रोक्न सकिँदैन।

पदको हैसियतले भन्‍न मिल्दैन। तर तर म भन्छु ठूला भ्रष्टाचारीहरुले सजिलै उन्मुक्ति पाउने गर्छन्। जोसँग बढी पैसा छ उसले विभिन्‍न शक्तिको बलमा उन्मुक्ति पाउँछन्। जसले छोराछोरीको बिहेमा लाखौं खर्च गर्छन्, उसैलाई समाजले पनि मान्‍ने गरेको छ। अर्थात् समाजले भ्रष्टाचारलाई अनुमोदन गरेको छ। यो प्रथालाई चिर्न जरुरी छ। समाजको सोचलाई परिवर्तन गरी रुपान्तरण गर्नुपर्छ। समाज विकासको पैसा जसलाई हात लाग्छ, उसैले भ्रष्टाचार गर्छन्। अनि कसरी विकास हुन्छ ? हो विकास त भइरहेकै छ-आज पुल बन्छ, भोलि टुट्छ।

विकास निर्माणको बजेटमा भइरहेको ब्रह्मलुट रोक्ने कुनै निकाय नै छैन। हो साँचिकै भन्‍ने हो भने यो प्रदेशमा भ्रष्टाचार भइरहेकै छ। अख्तियारको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी उजुरी प्रदेश २ बाटै परेको देखिन्छ। कहिलेकाहीँ कानुनी त्रुटीले पनि गलत हुन जान्छ। त्यसलाई गम्भीर ढंगले नहेरौं। यदि गलत मानसिकताले काम गरेको छ भने त्यसलाई छुट पनि दिन मिल्दैन। राम्रो काम गर्नेलाई पनि कहिलेकाहीँ कसैले उजुरी लेखेर पठाइदिन्छ। त्यसको पछि नपरौं। के गर्दा राम्रो हुन्छ भन्‍ने सोचका साथ अगाडि बढौं। आजको आवश्यकता यो हो।

समाजमा पनि जोसँग बढी पैसा छ जसको लवाईखवाई ठूलो छ त्यो नै भ्रष्टाचारमा लागेको छ। समाजले भ्रष्टाचारको अनुमोदन गरेको छ। यस्ता समाजको जबसम्म सोच र चिन्तन बदल्न सक्दैनौं, तबसम्म भ्रष्टाचार रोक्न सकिँदैन।

अहिले मेडिकल कलेजहरुमा आन्दोलन चलिरहेको छ। विद्यार्थीहरु दिनहुँ आन्दोलन गर्छन्। के त्यहाँ भ्रष्टाचार भएको छैन। यो नियन्त्रण गर्ने कार्य क्षेत्र अख्तियारभित्र पर्छ कि पर्दैन ? कर्मचारहरु कहिलेकाहीँ समातिन्छन्। मैले समात्नु पर्दैन भनेको होइन। तर जहाँ ठूलो आर्थिक अपचलन हुन्छ-त्यहाँ हामी सबै मिलेर फोकस गरौं। यो हो आजको आवश्यकता। गाउँपालिका र नगरपालिकामा कसरी भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा पनि गम्भीर हुन जरुरी छ। कर्मचारीले जबसम्म नेतालाई प्रश्रय दिन बन्द गर्दैन, तबसम्म भ्रष्टाचार भइरहन्छ। त्यसैले दोष हामीभित्र छ। यसलाई संशोधन गर्दै अगाडि बढ्नुपर्छ। 

भ्रष्टाचार गरी देशलाई बर्बाद गर्नेहरु हाम्रै समाजमा छन्। यस्ता व्यक्तिहरुको प्रवृत्ति आजै समाप्त किन नगर्ने ? यसका लागि प्रदेश सरकार गम्भीर छ। म मुख्य सचिवलाई अनुरोध गर्न चाहन्छु-भ्रष्टाचारविरुद्धको अभियान मुख्यमन्त्री कार्यालयबाट सुरु गर्नुस्। मुख्यमन्त्री यदि भ्रष्टाचारी छ भने कारबाही हुनुपर्छ। मन्त्रीले भ्रष्टाचार गर्छ भने उसलाई पनि कारबाही गर्नुपर्छ। यस्तो वातावरण तयार गर्नुस्। अनी हामी अरु ठाउँमा नियन्त्रण गर्न सक्छौं। भ्रष्टाचार गर्दैनौँ भनेर आज प्रण (प्रतिवद्धता) गरौं। भ्रष्टाचार गर्नेलाई कारबाही मात्र होइन, वहिष्कार पनि गर्नुपर्छ। अनि मात्र हामी यो प्रदेशसलाई भ्रष्टाचार मुक्त बनाउन सक्छौं। 

(अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्वारा सोमवार आयोजित अन्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस समारोहमा मुख्यमन्त्री राउतले गरेको सम्बोधनको सम्पादित अंश)

प्रस्तुति : सन्तोष यादव

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.