|

भक्तपुर : उपत्यका नगरपालिका फोरम काठमाडौंले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेजीको मागलाई पुनः दोहोर्‍याएको छ। फोरमको सोमबार साँझ भक्तपुरमा सम्पन्न विस्तारित बैठकले सो माग पुनः दोहोर्‍याएको हो।

बैठकको ६ बुँदे निर्णय सार्वजनिक गर्दै फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्राधिकरणले गर्ने काम कर्तव्य र अधिकार स्थानीय सरकारमा आइसकेको दावी गर्दै स्थानीय सरकार सञ्चालन ऐनसँग प्राधिकरणको काम बाझिएकोले प्राधिकरण खारेज हुनुपर्ने बताए। उनले भने, ‘प्राधिकरणले गर्ने विकास निर्माण र जग्गा एकिकरण आयोजना स्थानीय सरकारले गर्न सक्छ।’

उनले विकास प्राधिकरण ऐनको औचित्य नरहेको जिकिर गर्दै भने ‘तत्कालीन राष्ट्रिय पञ्चायतको सल्लाहबमोजिम २०४५ सालमा बनेको उपत्यका विकास प्राधिकरण अहिले सान्दर्भिक छैन।’

फोरमको बैठकले आगामी वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन गर्ने निर्णयसमेत गरेको छ। ‘उपत्यकाका नगरपालिकाका भगिनी सम्बन्ध रहेका विश्वका अन्य नगरपालिकाका मेयरलाई सहभागी गराएर काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन गर्ने निर्णय भएको छ,’ फोरमका सचिव मेयर श्रेष्ठले भने।

बैठकले फोहरमैला व्यवस्थापन, साइकल लेन बनाउनेदेखि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीचको समन्वयमा विकास निर्माणका कामलाई तीव्र बनाउने, फोरमका मेयर तथा उपमेयरहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने निर्णयसमेत गरेको छ।

फोरममा काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाहरूको सहभागिता रहेको छ। बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, चाँगु, मध्यपुर थिमि, कीर्तिपुर, गोदावरीलगायतका मेयर तथा उपमेयरहरूको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.