छिमेकीहरू समझदार भए सार्क पनि सक्रिय बन्न सक्छ
छिमेकीहरू समझदार भए सार्क पनि सक्रिय बन्न सक्छ
दक्षिण एसियाली खेलकुद—सागको १३औँ संस्करण २०७६ साल मंसिर १५ गतेबाट सुरु भई २४ गते अर्थात् २०१९ डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना गरी सफलताका साथ सम्पन्न भयो जसमा नेपालले ५१ वटा स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ।
पहिलो स्थानमा भारत यथावत देखिएको छ। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी ३१२ पदक प्राप्त गरेको छ। नेपालले पनि ५१ स्वर्ण ६० रजत र ९५ कांस्य गरी २०६ वटा पदक पाएको छ भने तेस्रो हुने श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य गरी २५१ वटा पदक हासिल गरेको छ। चौथो हुने पाकिस्तानको ३१ स्वर्ण, ४१ रजत तथा ५९ कांस्य गरी १३१ पदक आफ्नो पोल्टामा पारेको छ।
पाँचौँ हुने बंगलादेश १९ स्वर्ण, ३२ रजत तथा ८७ कांस्य गरी जम्मा १३८ पदक पाएको देखिन्छ। यसैगरी सात राष्ट्रहरू खेलेकोमा छैटौँ हुन माल्दिभ्स सफल भएको छ जसले १ स्वर्ण ० रजत तथा ४ कांस्य गरी ५ वटा पदक प्राप्त गरेको देखिन्छ। यसपटक भुटानले कुनै पनि स्वर्ण पदक पाएन तर ७ वटा रजत तथा १३ वटा कांस्य गरी २० वटा पदक प्राप्त गरेको भने देखिन्छ।
सबैभन्दा चर्चित खेलको रुपमा हेरिने पुरुष फुटबल र पुरुष म्याराथुन दौडमा नेपालले स्वर्ण पदक पाएको छ। अन्तिम दिनको अन्तिम खेलको रूपमा खेलिएको पुरुष फटबलमा भुटानसँग खेलेको नेपालले संघर्षपूर्ण खेलमा २—१ले जितेको छ। भव्यरुपमा आयोजना गरिएको उद्घाटन र समापन समारोहले नेपालको खेलकुदसम्बन्धी व्यवस्थापनलाई सहभागी राष्ट्रहरूले सराहना गरेको पाइयो।
पहिलो दक्षिण एसियाली खेलकुद—साफ गेम्स—को सुरुवात पनि नेपालबाट नै सन् १९८४मा भएको थियो। पहिलो खेलकुद समारोहमा ५वटा खेलबाट सुरु गरिएको थियो भने १३औँ संस्करणमा आइपुग्दासम्ममा २६वटा खेल खेलिएका छन्।
अझ प्याराग्लाइडिङमा आवश्यक संख्या पुगेको भए २७वटा खेलको आयोजना हुने थियो। यसभन्दा अघि सन् १९९९मा पनि नेपालले खेल समारोह आयोजना गरिसकेको छ र पनि यसपटकको आयोजना दुईपटकसम्म समय सारेर भए पनि नेपालमा नै सफलताका साथ सम्पन्न भयो, त्यही हामी नेपालीका लागि गर्वको कुरा हो।
खासमा सन् २०१५को महाभूकम्पका कारणले भएका पूर्वाधारहरूसमेत तहस नहस भएकाले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारहरूको जोहो गर्न समस्या परेकोले खेल भइरहँदासम्म पनि कतिपय ठाउँमा निर्माण कार्यलाई निरन्तरता दिइरहनु परेको सत्यता जो सबै सामु छर्लंग थियो।
कतिसम्म भने खेल आयोजना हुँदाहुँदै पनि कतिपय खेल क्षेत्र निर्माण तथा पुनर्निर्माण हुँदै पनि थिए र पनि बेलैमा सम्पन्न भयो र कुनै पनि खेलमा कुनै बाधा परेन। त्यो पनि हाम्रालागि खुसी र व्यवस्थापकीय क्षमता वृद्धि गर्न सकेको कुरामा गौरव गर्न पनि सक्छौँ।
हामी एसियन खेल आयोजना गर्नका लागि अरू पूर्वाधारको व्यवस्थामा जुट्न पनि सक्छौँ। एकदिन त्यस्तो दिन पनि आउला नेपालमा एसियाली खेल, विश्व फुटबलको खेल अनि ओलम्पिकको आयोजना पनि गर्न सक्ने हुनेछौँ। आशा गरौँ हाम्रो क्षमता वृद्धि गर्न सबैको साथ र सहयोग पाइयोस् भविष्यमा।
हाम्रालागि दक्षिण एसियाली खेल समारोह आयोजना गर्नु खासै गाह्रो कुरा होइन भन्ने त सन् १९८४मा जुन तन्मयताका साथ सम्पन्न गराइएको थियो। अहिले त्यो भन्दा हामी धेरै नै भौतिक पूर्वाधारको सम्पन्न अवस्थामा छौँ। यदि त्यो बेलामा हामीले दक्षिण एसियाली खेल सुरु गरेका थिएनौँ भने आजसम्म पनि त्यो क्षेत्रमा क्षेत्रीय खेलकुद सायदै सुरु हुन्थ्यो।
सायद त्यही भएर पनि होला, सार्कको क्षेत्रीय राजधानी नेपालमा राखिएको होला। आगामी दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुनेछ भनेर दक्षिण एसियाली ओलम्पिक झन्डा पाकिस्तानलाई नेपालले बुझाएको छ र आशा गरौँ आगामी साग पक्कै हुनेछ।
यसरी सागको आयोजना पाकिस्तानमा हुने कुराले एउटा शङ्का भने उत्पन्न गरेको छ। तर यहाँ म सागको उत्पत्ति र विकासक्रमका वारेमा केही अरु कुरा लेख्न लागेको होइन। सागको भविष्यका वारेमा यत्तिमात्र भनौँ यदि सार्क रहेन भने यो मिनी ओलम्पिकको कुनै अर्थ रहने छैन। बरु सागको सफल आयोजनासँगै सार्कको भविष्यका वारेमा चिन्ता लागेकोले यी कुराहरू गर्न लागेको हुँ। राजनीतिभन्दा खेलकुदले समाजलाई कसरी अग्रगतिमा लान्छ र सहिष्णुतातिर डोर्याउँछ भनेर भन्न मात्र खोजेको हुँ।
एकातिर भारत र पाकिस्तान एउटै राजनीतिक मञ्चमा समेत बस्न आनाकानी गरिरहेका छन् र विश्व राजनीतिक मन्चमा भेट हुँदासमेत हातसमेत मिलाउँदैनन्। नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले न्युयोर्कमा सार्कका मन्त्रीहरूको भेट गराउन खोज्दासमेत भारत र पाकिस्तान एकै ठाउँमा बस्न मानेनन् तर भने अर्कोतिर नेपालमा स्वस्थ प्रतिस्पर्धामा खेल खेलिरहेका थिए। यहाँमात्र होइन, कमनवेल्थको खेलकुदमा होस् कि एसियाली खेलकुदमा होस् कि ओलम्पिक खेलमा होस् , भारत र पाकिस्तानमात्र होइन, इजरायल र प्यालेस्टाइनहरू पनि खेलिरहेका हुन्छन्।
एक चीनको कुरा नगरे त्यो देशसँग सम्बन्ध नै विच्छेद गर्न पछि नपर्ने जनवादी गणतन्त्र चीन पनि चीनको अर्कोस्वरुपमा आफूलाई उभ्याउने तर जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्रसंघको पूर्णकालीन र निषेषाधिकार सहितको शक्तिराष्ट्रको अधिकार नपाउन्जेलसम्म त्यो अधिकार प्रयोग गर्ने ताइवानसँगै एउटै खेलमैदानमा प्रतिस्पर्धीकै रुपमा खेल खेलिरहेको हुन्छ।
तर त्यसको नाम चाइनिज ताइपेई भनेर बोलाइन्छ एसियाड तथा ओलम्पिक खेलमा। अर्थात् राजनीतिकै सेरोफेरोमा घुमेको खेलनीति भए पनि खेलमा सहिष्णुता देखिन्छ र खेलले राज्य राज्यका बीचमा नयाँ नयाँ समीकरण तयार गर्ने गर्दछ।
अहिले नै पनि सार्कको भविष्य एकप्रकारले धरापमा छ। सार्कको बडापत्रले पनि मानेको के हो भने सार्कका सबै राष्ट्रहरूको सहमतिमा मात्र सार्कको शिखर सम्मेलन हुन्छ। सागको खेल संयोजन गर्नुपर्ने हुन्छ।
अफगानिस्तान अहिले सार्कमा आएको भए पनि मूलतः नेपाल, भारत, पाकिस्तान, मालदिभ्स, बाङ्गलादेश, भूटान र श्रीलंका यी सात देशहरू नै हुन्। अहिले यी भारत र पाकिस्तानबीच कुरा नमिलेर नै होला,सार्कको शिखर सम्मेलन हुन सकिरहेको अवस्था देखिँदैन।
खासगरी भारत र पाकिस्तानका बीचमा देखिएको तनावले गर्दा नै सार्क शिखर सम्मेलन भइरहेको छैन। तर साग त सफलताका साथ सम्पन्न त भयो निर्बिघ्नताका साथ। सार्क त हुन सकेको छैन पाँच वर्षदेखि नै किनभने पाकिस्तानमा जो हुनुपर्ने पालो छ। तर हुन सकिरहेको छैन।चाहेमा हुन सक्छ। त्यसका लागि पनि संयम र समझदारी आवश्यक छ।
राजनीतिक पर्यवेक्षकहरू भन्छन् —सार्कको सट्टा बिमस्टेक छ र भारत त्यतैतर्फ बढी लागेको छ किनभने त्यसमा पाकिस्तान छैन। तर सार्कको सट्टा बिमस्टेक हुन सक्दैन। सार्कको विकल्प सार्क नै हो किनभने दक्षिण एसिया भोलिको विश्व समुदायका लागि लोभलाग्दो सम्भावनाको क्षेत्र हो। जनसंख्याको हिसाबले होस् कि भौतिक विशेषताले होस् कि समानता र असमानताको कारणले होस्, विश्वमा नै अलौकिक क्षेत्र हो।
सायद दक्षिण एसियाली सहयोग सङ्गठनका जन्मदाताहरूले पनि यो क्षेत्रीय महत्व बुझेर नै यसको स्थापना गरेका थिए होलान्। तर शिखर सम्मेलनमा द्विपक्षीय विषयलाई स्थान नदिने भनेपछि भारत र पाकिस्तानका बीचमा कुरा मिलेर एकै ठाउँमा बस्न पाइने अवसर फेरि कहिले जुट्ने हो , थाहा छैन। तर सागमा जुट्यो त ? यही भावनालाई अघि बढाउँदै सार्कको गति तीब्र बनाउनु जरुरी छ।
जुनबेलामा प्रधानमन्त्रीको रुपमा सुशील कोइराला हुनुहुन्थ्यो नेपालमा। त्यहीबेलामा भारत र पाकिस्तानलाई चित्त बुझाएर सार्कको शिखर सम्मेलन भएको थियो। त्यसबेलामा पनि पाकिस्तान र भारतका उच्च नेताहरूका बीचमा बोलचाल नै नभएको देखियो।
आपसमा बेलचाल नै नगरेका पाकिस्तानका प्रधानमन्त्री नबाज सरिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा संयोजन गरेर एकातिर शिखर सम्मेलन आयोजना गरिएको थियो भने अर्कोतिर ती दुईजनाको हात समाएर मिलाउँदै बोल्न र छलफल गर्ने वातावरण मिलाइएको थियो।
हुन त हिजोको त्यो व्यक्तित्वको अहिले कल्पना गर्नु पनि गौरवको विषय बनेको छ किनभने त्यसपछि सार्कको सम्मेलन आयोजना गर्ने वातावरण नै बनाउन सकिएन। त्यसको जिम्मा नेपालको हो किनभने त्यही बेलादेखि नै नेपाल सार्कको अध्यक्षता गरिरहेको छ। अहिले सार्कका देशहरूका बीचमा देखिएका मनोमालिन्यका कुराहरूमा समेत हामीले ध्यान दिन सक्यौँ भनेमात्र हाम्रो स्वतन्त्र अस्तित्वको अर्थ हुन्छ।
अहिलेकै जस्तो अवस्था रहेमा पाकिस्तानमा नै साग होला भन्ने कुरामा शङ्का व्यक्त गर्न सकिन्छ किनकि सार्क हुन सकेको छैन पाकिस्तानमा नै हुनुपर्ने भएकाले। तर सिद्धान्ततः साग गरेजस्तै सार्क पनि गर्न पक्कै सकिन्छ। यसका लागि कूटनीतिक क्षमता र नेपालको छिमेकी नीतिलाई अझ पारदर्शी र स्पष्टरुपमा व्याख्या गरिनु आवश्यक छ।
नेपालले चीनसँगको मित्रताको कुरा गर्दा भारतलाई पन्छाउन नसकिने अनि भारतसँगको मित्रताको कुरा आउँदा चीन बीचमा ल्याइने नीति भन्दा नेपालको हितमा नेपाल नै अघि आउने नीति लिएमा सार्कको शिखर सम्मेलन गर्न नसकिने जस्तो लाग्दैन। हामीले सार्कभित्रका द्विपक्षीय मामिलामा पनि मध्यस्थता गर्न सक्छौँ र भारतसँगका हाम्रा जटिलता पनि यसैगरेर समाधान गर्न सक्छौँ।
सार्कको शिखर सम्मेलन गर्न नसक्दा नै भारतसँगको समस्या बढेको हो पाकिस्तानको। द्विपक्षीय कुरा नहुने भन्दाभन्दै पनि आपसमा बसेपछि मन माझामाझ हुन्छ र केही खुकुलोपन पक्कै आउँछ।
सार्कको काम सार्कले गर्नुपर्छ र सागको काम पनि सार्कको सिद्धान्तले नै गर्नुपर्छ। नेपाल यसका लागि तयार हुनुपर्छ मात्र होइन कि मध्यस्थतासमेत गरेर यो भूखण्डमा शान्ति स्थापना गर्ने मुख्य सम्वाहकको रुपमा देखिनु जो जरुरी भएको छ।
यसरी सफलताका साथ सम्पन्न सागको आधारभूमि भने सार्क नै हो र सार्कको अस्तित्वविना सागको यो तयारी र खेल आयोजना फगत तमासामात्रै हुनेछ भविष्यमा पनि।
तपाईंको ईमेल गोप्य राखिनेछ ।