|

पर्वत : बजारिया खाना र जङ्क फुड खाने प्रचलन बढिरहेको बेलामा पर्वतको बिहादी गाउँपालिका १ बाच्छामा भने गिठा र भ्याकुरका परिकार खुवाउने गरी होमस्टे सञ्चालनमा आएको छ।

होस्टेमा बस्नका लागि पुग्ने पाहुनालाई कन्दमूलको स्वादमा रमाउनुका साथै पूर्ण अर्गानिक खाद्यान्नहरू खुवाउने गरी होमस्टे सञ्चालनमा आएको हो। जिल्लामा पछिल्लो समय होमस्टेहरू खुल्ने क्रम बढेको छ भने हरेकले केही न केही नयाँ विशेषताहरूको साथमा सेवा सञ्चालनमा ल्याएका छन्।

‘केही न केही नयाँ कुरा दिन सकेमा पाहुनाहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास हो’ बच्छेश्वर सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रबहादुर गुरुङले भने, ‘होमस्टेमा आउने भनेकै गाउँले पाराका खानेकुराहरूको स्वाद लिनको लागि हो। त्यसैले कन्दमूलसहितका परिकार तयार पार्ने गरी होमस्टे सञ्चालनमा ल्याएका हौँ।’

कन्दमूलका रूपमा पाइने गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, तरुल, मकैको च्याँख्लाबाट बनेको आटो, सातु, भुटेका मकै, कोदोको ढिँडो, रक्सी, सिस्नोबाट बनाइने विभिन्न परिकार, कुरिलो, स्थानीय जातका गेडागुडी, काभ्रो, सिन्कीलगायतका खानेकुराहरूका परिकारहरू होमस्टेमा तयार पारिन्छ।

बजारबाट खरिद नगरी नहुने बाहेकका सबै खाद्यान्नहरू होमस्टेकै करेसाबारीमा उत्पादन गर्ने गरिएको छ भने ती सबै उत्पादनहरूमा रासायनिक मल, विषदी वा कुनै अन्य हानिकारक पदार्थहरूको प्रयोग गरिएको छैन। खानेकुरा सँगसँगै गुरुङ जातिका कला र पहिचान झल्काउने विभिन्न कलाहरू पनि होमस्टेका आकर्षणहहरु रहेका अध्यक्ष गुरुङले बताए।

 

प्राकृतिक सैन्दर्यतासँग रमाउन चाहने पर्यटकहरूका लागि पनि होमस्टे आकर्षणको केन्द्र रहेको होमस्टेमा पुगेका छिमेकी महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए। ‘यहाँबाट माछापुच्छ्रे र धौलागिरी हिमालको रमाइलो गज्जब लाग्यो। सबैरै र साँझमा हिमाल राता र पहेँला देखिँदा आनन्द आयो’ उनले भने, ‘होटेलका कोठाबाट यस्तो मज्जा पाइँदैन्। यहाँको मज्जा भनेको यो पनि एउटा हो।’

यो सामुदायिक होमस्टेको भौतिक पूर्वाधार व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ रकम अनुदानमा दिएको थियो भने स्थानीयवासीले १८ लाख बराबरको रकम र श्रमदान गरेका थिए। होमस्टेमा एकै पटकमा ५० जना मानिस खान र बस्न सक्नेछन्। बच्छेश्वर होमस्टेमा बास बस्न जानेहरूले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बच्छेश्वर कोटको दर्शनसँगै २३ सय मिटर उचाइमा रहेको गोल्र्याङको टाकुरा बाट मनोरम दृश्यहरू अवलोकन गर्न पनि सक्नेछन्।

ग्रामीण परिवेश बुझ्न चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष हेमनाथ आचार्य बताउँछन्। सहरको रमाइलोमा भुलेकाहरूले गाउँको परिवेश र अवस्था देख्नका लागि सोही अनुसारका पूर्वाधारहरू पनि गाउँमा रहेकोले होमस्टेमा पाहुनाहरूको आकर्षण रहने आचार्यको भनाई छ।

होमस्टेको सोमवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए। उनले होमस्टेले उत्पादन वृद्धि, रोजगारी सिर्जना सँगै परम्परागत लोपोन्मुख संस्कृतिहरूको संरक्षण तथा जगर्ने गर्न सक्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.