आसामका नेपालीभाषी पनि आन्दोलित

|

भारतीय संसद्को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि पूर्वोत्तर भारतका विभिन्न राज्यमा त्यसको विरोधमा प्रदर्शन भएको छ। भारतको आसाम, मणिपुर, त्रिपुरा, मिजोरम, मेघालय तथा अरुणाञ्चलमा नागरिकता संशोधन विधेयकविरुद्ध विरोध सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विरोध प्रदर्शन बढ्दै गएपछि आसामका १० जिल्लामा २४ घण्टासम्म मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ। यस्तै, अन्य क्षेत्रमा पनि इन्टरनेट सेवा बन्द गरिएको जनाइएको छ।

यसैबीच, आसाम राज्यका नेपालीभाषीहरूले पनि त्यसको विरोध गरेका छन्। त्यहाँस्थित नेपालीभाषी समुदायका नेताहरूले बताएअनुसार उक्त विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेका आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी भइरहेका छन्।

विधेयकले आफ्नो अधिकारलाई सीमित पार्न सक्ने भन्दै आसामका विभिन्न आदिवासीहरूले विरोध जनाएका हुन्। विरोधप्रदर्शनमा नेपालीभाषीहरू पनि सहभागी भएको आसाम गोर्खा सम्मेलनका सभापति रामप्रसाद शर्माले बताए।

अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिन सकिने व्यवस्था राखिएपछि विधेयक विवादास्पद बनेको छ। लोकसभाले सोमबार राति उक्त विधेयक पारित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.