|

बैतडी : पाटन विमानस्थलको कालोपत्रे गर्ने काम सम्झौताको मिति गुज्रिएको लामो समयपछि सुरु भएको छ। २०७५ को असारमा कालोपत्रे गरिसक्ने सम्झौता भए पनि मिति गुज्रिएको १६ महिनापछि मात्र कालोपत्रेको कार्य सुरु भएको हो। 

कालोपत्रेको काम अबको २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीका इन्जिनियर पुरन रावलले बताए। विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी खुसी भएको पत्रकार वसन्त विष्टले बताए। 

विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे हुनेछ। यस्तै, ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिने इन्जिनियर रावलले बताए। यसका लागि मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँ लाग्ने निर्माण कम्पनीले जनाएको छ। विमानस्थल कालोपत्रे गरे पनि अन्य संरचना निर्माण भइसकेको छैन। त्यसैले सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ। 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि सञ्चालनमा आएको थियो। तर, पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल २०५२ सालमा बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।

पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने विश्वास गरिएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.