|

पर्वत : ‘पुलिस देख्दा डर लाग्थ्यो, हाम्रो स्कुलमा आउनुभयो, पढाउनुभयो। आज त डर नै लागेन।’ पर्वतको कुस्मा नगरपालिका-४ स्थित नारायण माध्यामिक विद्यालयमा शसस्त्र प्रहरीसँग विपद् व्यवस्थापनको ज्ञान लिएपछि ६ कक्षाकी छात्र करुण पुनले भनिन, ‘धेरै चिसो भयो भने आगो ताप्नु पर्ने रहेछ, भूकम्प आयो भने भर्‍याङमुनि लुक्नुपर्ने रहेछ। खोलामा एक्लै पौडिन जानुहुन्न, साथीहरूसँग जानुपर्छ। एक्लै जाँदा डुब्न सकिन्छ रे।’

करुणाजस्तै अरु विद्यार्थीहरू पनि प्रहरीबाट विपद् व्यवस्थापनको कक्षा लिन पाएपछि हौसिएका छन्। सधैँ आफ्ना विषयगत शिक्षकहरूबाट नियमित शिक्षा लिँदै आएकोमा प्रहरीले पढाउँदा विद्यार्थीहरूले फरकपन महसुस गरेका छन्। विपद्का बेला के-के गर्ने भन्ने कुरा पनि विद्यार्थीहरूले प्रहरीबाटै थाहा पाउने मौका पाए।

समय-समयमा आइलाग्ने विपद्का कारण जिल्लामा धेरैले ज्यान गुमाउने समस्या समाधान गर्न विद्यालयमै पुगेर प्रहरीले विद्यार्थीलाई विपद् व्यवस्थापन कक्षा लिएको हो। विद्यार्थीहरूलाई विपद्‌बाट जोगाउन र घटना भईहाले उद्धारमा जुट्न पर्वतमा रहेको सशस्त्र प्रहरी बलको टोलीले विद्यालयमा पुगेर जनचेतना दिन थालेको हो। 

पर्वत जिल्ला सहित बागलुङ र म्याग्दी जिल्लामा पुगेर पनि प्रशिक्षण दिने तयारी भईरहेको चण्डिका सशस्त्र प्रहरी नायव निरीक्षक रविन्द्र क्षेत्री बताउँछन्। ‘विद्यार्थीका माध्यमबाट चेतना फैलाउन छिटो, सजिलो र प्रभावकारी हुन्छ।’ क्षेत्रीले भने, ‘अहिले चिसोयाम शुरु भएका कारण शीतलहरबाट कसरी बाँच्ने? जाडोको बेलामा के के गर्ने भन्नेबारे पनि विद्यार्थीलाई सिकाइँदैछ।’

सशस्त्र प्रहरी बलका गणपति एसपी सोमबहादुर गुरुङले प्रहरी र नागरिकबीच मैत्रीपूर्ण वातावरण निर्माण गर्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताए। द्वन्द्व तथा विभिन्न ठाउँका आन्दोलनमा हुने गरेका घटनाहरु देखेका बालबालिका र नागरिकको दिमागमा प्रहरी वा सुरक्षा निकायबारे नकारात्मक धारणा विकास हुनसक्ने भएकोले यसको समाधानको लागि विद्यालयमा गएर चलाइएका प्रशिक्षण कार्यक्रमहरू उपयोगी हुने एसपी गुरुङको भनाइ छ।

बिपद्‍का बेला हुने भाग-दौडका क्रममा प्राय: बालबालिकाहरू पीडित हुने भएकोले शसस्त्रले उनीहरूलाई लक्षित गरेर कार्यक्रम तयार पारेको छ। प्रशिक्षणका क्रममा पानीमा हुन सक्ने दुर्घटना, भूकम्प, शीतलहर, आगलागीलगायतका विषयमा जानकारी प्रदान गर्ने गरिएको छ।

सुरक्षा निकायहरूले पर्वत जिल्लामा पटक-पटक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले पनि जिल्लाका ग्रामीण क्षेत्रहरूमा पुगेर लैङ्गिक हिंसा न्यूनीकरण गर्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.