प्रतीक चिन्ह बनाउनेमाथि कारवाही गर्न माग

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो जग्गा राखेर नक्सा सार्वजनिक नगरेकोमा सरकारको आलोचना गरेका छन्। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रतीक चिन्हमासमेत आफ्नो भूभाग नराखेकोमा आक्रोश पोखे। 'प्रतीक चिन्हमा हाम्रो भूभाग किन नराखेको? प्रतीक चिन्हका निर्माता को हुन्? छानविन गरेर कारवाही गर्नु पर्छ', उनले भने।

आफ्नो भूभाग राखेर नापी विभागले नक्सा सार्वजनिक नगरेकोमा उनले गम्भीर प्रश्न उठाए। 'नापी विभागको तर्फबाट आफ्नो जग्गा राखेर नक्सा सार्वजनिक गर्न केले रोक्यो?', गृह र भूमिव्यवस्था मन्त्रीसमेत उपस्थित बैठकमा उनले भने, 'भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा हामीले चाहिँ किन नगरेको? प्रतिपक्षीसहित सबैले समर्थन गर्दा सरकार किन चुकेको?'

अहिलेसम्म सरकारले चालेका कदमबारे पनि केही थाहा नभएको उनले बताए। 'अहिले सम्म के भएको छ? दूत पठाउने कुरा हो कि होइन?', उनले सोधे, 'एउटा वार्ताबाट किनारा लगाउने अर्को हाम्रा प्रमाणहरु पेश गरेर भारतलाई पछि हट्न बाध्य बनाउने।'

सांसद रावलले सुरक्षा प्रणाली बलियो बनाउन नेपाल चुकेको पनि बताए। 'हाम्रो भूगोलमा बलियो सुरक्षा दिन हामी किन चुकेको?', उनले सोधे, 'अहिलेसम्मको जग्गा बचाउनेतर्फ पनि त लाग्‍नु पर्यो नि!'

नेपाली भूगोल मिचिएकोबारेमा चीन र भारतसँग छलफल गर्ने भनेको कुराबारे पनि केही प्रगति नभएको उनले बताए। 'दुई छिमेकीसँग नै कुरा गर्ने भनेको के भयो? यस्तो विवादमा अर्को छिमेकीको पनि हात बलियो हुन्छ', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.