'एक किशोरी, जो आफ्नो रिसलाई नियन्त्रण गर्न सिकिरहेकी छे, साथीहरूसँग पुराना फिल्म हेर्दै मस्ती गर्दैछे'

|
फाइल फोटो

'एक किशोरी, जो आफ्नो रिसलाई नियन्त्रण गर्न सिकिरहेकी छे, साथीहरूसँग पुराना फिल्म हेर्दै मस्ती गर्दैछे।' पर्यावरणको मुद्दामा कार्यरत १६ वर्षीया स्विडिस किशोरी ग्रेटा थनबर्गको ट्वीटर बायो हो यो! तिनै ग्रेटा, जसले संयुक्त राष्ट्र संघमा भावुक भाषण गर्दै दुनियाँभरका ठूल्ठूला नेताहरूलाई झपारेकी थिइन्। सोधेकी थिइन्, 'हाउ डेयर यु? तिमीहरूको यत्रो हिम्मत!'

तिनै ग्रेटा, जसलाई दुई दिनअघि 'टाइम वर्षव्यक्ति'को उपाधी पाएकी थिइन्। ग्रेटाले बिहीबार आफ्नो ट्वीटर बायो परिवर्तन गरेकी हुन्। उनले बायोमा त्यही कुरा लेखेकी छन्, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रेटाको मजाक उडाउने क्रममा भनेका थिए।

ट्रम्पले उडाएका थिए ग्रेटाको मजाक

ग्रेटाको तस्बिर छापिएको टाइम म्यागेजिनको कभर शेयर गर्दै अभिनेत्री रोमा डवेनीले ग्रेटालाई बधाई दिएको पोष्टमा ट्रम्प उल्झिन पुगेका थिए। उक्त ट्वीटमा कमेन्ट गर्दै ट्रम्पले लेखे, 'कति हाँसो उठ्दो! ग्रेटा खासमा आफ्नो रिस व्यवस्थापनमा केन्द्रित हुन जरुरी छ। साथीहरूसँग गजबको कुनै पुरानो फिल्म हेरेको राम्रो! चिल ग्रेटा, चिल!'

ग्रेटा पनि के कम!

उनले आफ्नो ट्वीटर बायो परिमार्जन गरिहालिन्। ट्वीटरमा आफ्नो परिचय बदल्दै लेखिन्, 'एक किशोरी, जो आफ्नो रिसलाई नियन्त्रण गर्न सिकिरहेकी छे, साथीहरूसँग पुराना फिल्म हेर्दै मस्ती गर्दैछे।'

ग्रेटाले पहिले पनि यसरी नै जवाफ दिएकी थिइन्

ग्रेटाले कुनै नेतालाई यो शैलीमा जवाफ दिएको यो नै पहिलो पटक होइन। उनले यसअघि आफ्नो बायोमा स्यमंलाई 'Pirralha' भनेकी थिइन्, पोर्चुगिज भाषामा जसको अर्थ 'बिग्रेकी बच्ची' भन्ने हुन्छ। उनलाई ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले 'बिग्रेकी बच्ची' भनेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ग्रेटालाई 'दयालु, तर कम जानकारी भएको किशोरी' भनेका थिए। ग्रेटाले केही दिन त्यसैलाई आफ्नो बायो बनाइदिइन्।

त्यसअघि ट्रम्पले ग्रेटाको राष्ट्रसंघवाला भिडियो ट्वीट गर्दै व्यंग्य गरेका थिए, 'एकदमै हँसिली केटी, जो आफ्नो उज्ज्वल तथा शानदार भविष्यतर्फको बाटो खोज्दैछे।' ग्रेटाले ट्रम्पको उक्त टिप्पणीलाई पनि आफ्नो बायोमा राखिन्।

सबैभन्दा कम उमेरकी टाइम वर्षव्यक्ति

ग्रेटा 'टाइम वर्षव्यक्ति'को उपाधी पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। जलवायु परिवर्तनको मुद्दामा आफ्नो पक्ष राखेर संसारभरका मानिस तथा नेताहरूको ध्यान खिचेका कारण उनलाई यो उपाधी दिइएको हो। नेताहरूलाई उनले 'ठूला कुरा बन्द गरी एक्सनमा उत्रन' चुनौती दिँदै आएकी छन्।

ग्रेटा बिरामी छन्?

न्यूयोर्क टाइम्सले जनाएअनुसार, उनी एक्सपर्जर सिंड्रोमबाट ग्रसित छन्। यो एक किसिमको अटिज्म हो, जसले एकअर्कासँग कुराकानी गर्ने र सम्पर्क बनाउने क्षमतालाई प्रभावित गर्छ। एकपटक ग्रेटा स्यमंले भनेकी थिइन्, उनी लामो समय डिप्रेसनबाट गुज्रेकी थिइन्। एक्सपर्जर सिंड्रोम भएका मान्छेहरू आफूलाई सामान्य ढंगले अभिव्यक्त गर्न सक्दैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.