|

भद्रपुर : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक तथा व्यवसाय उपार्जनको आधारमा अबको शिक्षा प्रणालीलाई प्राविधिक र वैज्ञानिक बनाउन सरकार लागि परेको बताएका छन्। 

झापाको भद्रपुरस्थित मेची बहूमुखी क्याम्पसको प्रशासकीय भवन उद्घाटन, महिला छात्रावास र मानविकी भवन तथा बौद्धिक बाटिकाको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय शिक्षा नीति भर्खरै सार्वजनिक भइसकेको बताए। अबको शिक्षा नीतिलाई प्राविधिक र वैज्ञानिक बनाउन सरकार त्यसतर्फ लगानी गर्न योजनामा रहेको पनि उनले बताए। 

देशको आर्थिक वृद्धिदरको प्रसङ्गमा बोल्दै अर्थमन्त्री डा खतिवडाले भने, ‘नेपालसहित अन्य दशवटा मुलुक छोटो आर्थिक वृद्धिदरमा रहेको इकोनिष्ट भन्ने पत्रिकाले छापेको छ।’ ‘वार्षिक ६–७ प्रतिशत आर्थिक वृद्धिदर र पत्रिकाले छापेको कुराले पुग्दैन’, उनले भने, ‘देशलाई समग्र आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ। अहिले पनि झन्डै १७ प्रतिशत गरिबीको रेखा मुनि छन्। उनीहरूलाई गरिबीबाटमाथि ल्याउनुछ।’ 

देशमा अशिक्षा, स्वास्थ्य, खानेपानी, नवीकरणीय ऊर्जाको समस्या रहेको बताउँदै उनले भने, ‘यी क्षेत्रको समाधानसँगै राज्यको क्षमता बढाउन आर्थिक वृद्धिदर उच्च पार्नु पर्छ। त्यसका लागि निजी, सामुदायिक र सबै क्षेत्रको सहयोग आवश्यक छ र सरकार त्यसतर्फ उन्मुख रहेको छ।’

‘तत्कालीन जिविस, नगर तथा गाउँपालिका अन्तरगतका विकास निर्माणको ‘काममा ढिलासुस्ती र कतिपय संरचना ठप्प बनेको अवस्था छ’, उनले भने, ’संघीयता सरकार गए पनि वित्तीय व्यवस्थापनमा समस्या भएको हुँदा ती काममा अवरोध भएकै हो। वित्तीय व्यवस्थापन हुन साथ निर्माण कार्यले पनि तीव्रता पाउँछ।’ त्यस्तै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जबसम्म संघीय सरकारले शिक्षासम्बन्धी मापदण्डसहित शिक्षा ऐन ल्याउँदैन, तब सम्म शिक्षा क्षेत्र अराजक बढ्दै जाने बताए।

‘संघीय सरकारले शिक्षा ऐन ल्याउनु पर्छ’, नेता सिटौलाले भने, ‘अनि मात्र शिक्षा क्षेत्रमा देखिएको अराजकतामा कमी आउनु छ र प्रदेश तथा स्थानीय सरकारले पनि बाझिने गरी शिक्षा ऐन ल्याउन पाउँदैन।’ अर्थमन्त्री खतिवडालाई लक्षित गर्दै नेता सिटौलाले भने, ‘भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेको १४ करोड लागतको गिरिजाप्रसाद स्मृति भवनको काम किन रोकिएको हो। यसतर्फ सरकार किन ध्यान दिँदैन। यो भवन सरकारकै हो, कुनै व्यक्ति वा पार्टीको होइन।’

तत्काल काम सुचारु गराउन उनले अर्थमन्त्री समक्ष आग्रह समेत गरे। मेची बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा पृथ्वीविक्रम राईको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराज उप्रेती, भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठ, पूर्व सांसद सुधीरकुमार सिवाकोटी, स्ववियु सभापति भुवन बुढाथोकी, कर्मचारीको तर्फबाट कमलसिंह राजवंशी, प्राध्यापक संघको तर्फबाट पुण्यप्रसाद खरेललगायतले मन्तव्य राखेको कार्यक्रमको औचित्यमाथि क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईले प्रकाश पारेका थिए।

क्याम्पस परिसरमा शिलान्यास भएको महिला छात्रावास र मानविकी भवनको लागत साढे ५ करोड बढी रहेको छ। त्रिविले हाल ४ करोड बजेट छुट्टाएको हो। त्यस्तै क्याम्पसमै शिलान्यास भएको बौद्धिक बाटिकाको बजेट करिब ३० लाख रहेको छ।

बाटिका निर्माणका लागि मंगल सेवा समितिले आर्थिक सहयोग गर्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.