|

बाँके : पश्चिम नेपालको तराईका जिल्लामा परेको वर्षाले किसानलाई फाइदा पुगे पनि इँट्टा व्यवसायी मर्कामा परेका छन्।

वर्षाले पकाउन तयार पारेको इँट्टा गलेपछि इँट्टा व्यवसायीले ठूलो क्षति ब्यहोर्नु परेको इट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष जइनुल खाँनले बताए। उनले वर्षाले एकै दिनमा झण्डै दश करोडबढी रुपैयाँको क्षति व्यहोर्नु परेको बताए। ‘यहाँका व्यवसायीले यस्तो क्षति व्यहोर्नु परेको छ,’ उनले भने।

वर्षाले पकाउन तयारी अवस्थामा रहेको बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँट्टा उद्योगका सात करोड बढी काँचो इँट्टा नष्ट भएका छन्। जसका कारण यी दुवै जिल्लामा गरी साढे १० करोड बढी रुपैयाँको इँट्टा क्षति भएको इट्टा व्यवसायी दीपम अधिकारीले बताए। ‘एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँट्टा गलेर काम नलाग्ने भएको छ,’ उनले भने।

शुक्रबार बिहानदेखि परेको पानीले प्रत्येक इँट्टा उद्योगको २० लाखका दरले क्षति भएको अनुमान गरिएको छ। यो वर्षातमा सात करोड इँट्टा नष्ट भएकोले अर्को पटक इँट्टा उत्पादन नहुँदासम्म इँट्टा अभावको सम्भावना देखिएको उनले बताए। इँट्टा उत्पादकले सिजनमा सात राउण्डसम्म इँट्टा उत्पादन गर्दै आएका छन्। एक सिजनमा ६-१० लाखसम्म इँट्टा उत्पादन गर्ने गरेको संघका अध्यक्ष खानले बताए।

बीमा गर्ने व्यवस्था नहुँदा हरेक वर्ष क्षति व्यहोर्न बाध्य

इँट्टाको बीमा गर्ने व्यवस्था नहुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको व्यवसायीले गुनासो गरेका छन्। काँचो इँट्टाको बीमा गर्न बीमा कम्पनीले नमानेका कारण हरेक वर्ष क्षति व्यहोर्दै आएको अध्यक्ष खानको भनाइ छ। ‘काँचो इँट्टा वर्षाले क्षति पुर्‍याएपछि लगानी नै डुब्छ,’ उनले भने, ‘यसले यस वर्ष बाँकेमा इँट्टा उत्पादन कम हुने निश्चित भएको छ।’

सरकारले २०७० असोजदेखि अनिवार्य रूपमा इँट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो। सरकारले करको दायरामा ल्याए पनि व्यावसायिक सुरक्षाको प्रत्याभूति दिन नसकेको उनीहरूको भनाइ छ। ‘सरकारले इट्टा व्यवसायीबाट कर लिए पनि दिनुपर्ने सुविधा दिन कन्जुस्याई गरेको छ,’ अध्यक्ष खानले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.