यही वर्षको पहिलो चौमासिक चार सङ्क्रमित थपिए

|

दार्चुला : दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा यो वर्ष एड्स सङ्क्रमितको संख्या ३७ पुगेको छ।

दार्चुला एड्स सङ्क्रमितको तथ्यांक लिइएदेखि हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भइसकेको कार्यालय प्रमुख जयराज भट्टले बताए। गत आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा एड्सका बिरामीको संख्या ३३ रहेकोमा साउनदेखि कार्तिकसम्मको अवधिमा चार बिरामी थपिएको उनको भनाइ छ।

सबैले लिन्छन् एआरभी

स्वास्थ्य संस्थाको सम्पर्कमा आएका सबै सङ्क्रमितले नियमित रूपमा एआरभी औषधि प्रयोग गरिरहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए।

औषधि (एआरभी) को नियमित सेवनले समान्य जीवन बाँच्न सकिने भएकाले सबै सङ्क्रमितलाई औषधिको प्रयोग गर्न प्रोत्साहिन गरिने गरेको उनको भनाइ छ। सङ्क्रमितहरुले स्वास्थ्यकर्मीहरुको सरसल्लाह र निगरानीमा औषधि सेवन गर्ने गरेका छन्।

सङ्क्रमितमध्ये तीन बालबालिका

एड्सका बिरामीमध्ये १४ वर्षमुनिका ३ बालबालिका छन्। ३७ जना एड्सका बिरामीमध्ये १८ पुरुष र १९ महिला रहेको तथ्यांक सहायक श्यामसिंह कार्कीले बताए।

लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा ९/९ जना संक्रमित छन्। मालिकार्जुन गाउँपालिकामा ८ जना, महाकाली नगरपालिकामा ७ जना, मार्मा गाउँपालिकामा ३ जना र दुहुँ गाउँपालिकामा १ जना एड्सका बिरामी छन्।

व्यास, अपिहिमाल र नौगाड गाउँपालिकामा एड्सका विरामी नभेएिको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ। ‘गाउँघरमा बिरामी भए पनि स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न नसकेको अवस्था हुनसक्छ’ स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले भने।

न्यूनीकरण गर्न समुदायको भूमिका महत्वपूर्ण

एचआइभी एड्सको न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण हुने जनस्वास्थ्य अधिकृत भट्टको भनाइ छ। बिरामीको पहिचान, उपचार र रोकथाममा समुदायको सक्रियता आवश्यक हुने उनले बताए। रोग लाग्नबाट बच्नसक्नु नै पहिलो विकल्प भएको उनको भनाई छ। संक्रमण भएको अवस्थामा समयमै उपचार गराएर नियमित औषधि प्रयोग गरेर केही वर्ष आयु लम्ब्याउन सकिने उनले बताए।

हाल देशभरी २९ हजार ९ सय ४४ जना एड्सका बिरामी रहेको तथ्यांक छ। एचआइभी संक्रमितमध्ये १७ हजार ७ सय ३२ पुरुष र १२ हजार २ सय १२ महिला छन्। १४ वर्षमुनिका १ हजार २ सय ९६ वालवालिका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका २१ हजार ४ सय ८ जना र ५० वर्षमाथिका ७ हजार २ सय ४० जनामा एचआइभी संक्रमण देखिएको छ ।

देशभरीका एचआइभी संक्रमितहरुमध्ये ६० प्रतिशत बिरामीले एआरभी औषधि प्रयोग गरिरहेको तथ्यांक छ। सन् २०३० सम्म एड्सको महामारी विश्वबाटै अन्त्य गर्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए।

नेपालमा नवजात शिशुमा हुने एड्सको संक्रमणमा उल्लेख्य सुधार आएको तथ्यांक छ। वालवालिकामा हुने संक्रमणमा ७१ प्रतिशतले कमी आएको तथ्यांक सहायक श्याम सिंह कार्कीले जानकारी दिए। विश्वभर ३ करोड ७८ लाख एड्सका बिरामी छन्। सन् २०१८ मा मात्रै नेपालमा ८ सय ७३ नयाँ एड्सका विरामी थपिएका छन्।

सन् १९८१ मा अमेरिकाबाट पत्ता लागेको एड्स रोगको संक्रमण नेपालमा सन् १९८८ देखि फैलिएको इतिहास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.