|

अष्ट्रेलियाको ब्रिसबेनस्थित ग्रिफिट विश्वविद्यालयका पुरातत्‍वविद्‍हरूले रेडियोधर्मी युरेनियमको प्रयोग गर्दै यो साता एक महत्वपूर्ण जिज्ञासाको समाधान गरिदिए- इन्डोनेसियाको सुलावेशीस्थित गुफाको भित्तामा भेटिएको ढुंगेकला (चित्र) करिब ४४ हजार वर्ष पुरानो हो र यो सम्भवतः मानव सभ्यताको सबैभन्दा पुरानो संग्रहित कथा पनि हो। 

यो तथ्य उजागर हुनुअघि, गत साल पनि वैज्ञानिकहरूले दक्षिण अफ्रिकाको केभटाउनबाट ३०० किलोमिटर पर रहेको बुम्बोस गुफामा एउटा ढुंगाको चोइटो फेला पारेका थिए। त्यो चोइटोमा ७३ हजार वर्ष पहिले नै मानिसले कोरेको धर्को थियो। त्यस धर्कोलाई वैज्ञानिकहरूले आधुनिक मानव सभ्यताको अद्वितीय सूचक भनिदिएका छन्।

त्यही धर्को हुँदै तन्किन थालेको मानवसभ्यता आज ज्ञान–विज्ञानसम्म फैलिएको छ। प्रविधिले लपेट्दा उल्टै त्यसैको बुई चढेर मानवशास्त्रीहरू विगतलाई वर्तमान र आगतसँग जोड्न निकै व्यस्त देखिन्छन्। 

यस्ता अद्वितीय खोजी र उपलब्धि नाप्ने कठिन काममा जहाँका मानिसहरू सहभागी छन्, त्यहाँको राजनीति, राजनीतिक चेतना र सभ्यताको जीजिविषा खोजीमा उनीहरूले गरेको लगानी हाम्रो आंकलनभन्दा निकै फराकिलो छ। नत्रभने अहिलेको सर्वशक्तिमान अमेरिका सन् १४९२ अगष्ट तीन तारिखका दिन पत्ता लाग्नुभन्दा झण्डै १५ सय वर्षअघि राजा सुपुष्पले पशुपतिनाथ मन्दिर बनाएको नेपालमा किन अहिले पनि उत्खननका नाममा विदेशीहरू नै परेड खेलिरहेका छन्? 

अहिले पनि शासकहरूले आफूलाई एक असल पुर्खा, समयको एक अब्बल द्रष्टा देखाउने चेष्टा त गरिरहेका छन्, तर उनीहरूमा आजभन्दा सवा तीन लाख वर्षअघिका मानिसहरूमा जत्ति पनि सुझबुझ देखिँदैन। अभिमान र अहंकारको बर्को ओढ्दैमा कसले महान भनिदेओस् र !

गोपालराज वंशावलीलाई आधार मान्ने हो भने आजभन्दा २१०० वर्षअघि नै पशुपतिमा पाँचतले मन्दिर बनिसकेको थियो। वंशावलीलाई पनि पट्यारलाग्दो ठान्ने हो भने वि.सं. ११५४ देखि ११८३ सम्म शासन गरेका शिवदेव तृतीयले पशुपतिमा तीनतले मन्दिर बनाएको उल्लेख गरिएको अभिलेख त छँदैछ।

यो मिति पनि अमेरिका पत्ता लाग्नुभन्दा झण्डै ५०० वर्षअघिकै हो। जयदेव द्वितीयले वि.सं. ७९० मा लेखाएको ‘प्रशस्ती टाइप अफ इन्स्क्रिप्सन’ (वंशको गुणगान गाइएको अभिलेख) मै पनि सुपुष्पबारे उल्लेख गरिएकै छ।  तर, हाम्रो दुर्भाग्य–जुन देशमा इशापूर्व तेस्रो शताब्दीमै सम्राट् अशोकले सुन्दर प्रस्तरकलामा अभिलेख खोपिदिए, तिनै अभिलेख रहेका लुम्बिनी र निग्लिहवा (विश्वसम्पदा सूचीमा परेका पुरातात्विक स्थल) विदेशी विश्वविद्यालयका विद्यार्थीहरूको प्रयोगशाला बनेको छन्।

खोज्दै जाँदा पुरातत्व विभागका कर्मचारीहरू नै यो धन्दामा संलग्न रहेको तथ्य छ्याप्छ्याप्ती भेटिन्छ। विदेशी विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई सम्पदा क्षेत्रभित्रै ‘खन्न सिकाएबापत’ दिने कमिशन, विद्यार्थीहरूलाई राखिदिँदा होटलवालाले दिने छ्याकन (कमिसन पुर्‍याउने काम) आदिबाट मालामाल हुन पल्केकाहरूले सम्पत्ति जोड्न पाए सम्पदा के छाड्थे र? 

लैनसिंह वाङ्देल लिखित ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तक सर्सती हेर्ने हो भने त सम्पदा मास्‍ने र चोर्ने धन्दामा नोकरशाही मात्र नभई सत्ता र शक्तिधारी नै संलग्न भएको सजिलै अनुमान लगाउन सकिन्छ। त्यो क्रम पञ्चायतकालदेखि अहिलेसम्म जारी छ। पहिले शहरवासी निदाएपछि क्रेन लगेर मूर्ति उखेलिन्थ्यो, अहिले सडक विस्तार र आधुनिक निर्माणका नाममा दिउँसै सम्पदाहरू उखेल्ने र ध्वस्त पार्ने गरिन्छ।

निख्रिएको व्यवहार, निचोरिएको बोली

प्रश्नसँग आत्तिने, आलोचनासँग झर्को मान्ने र परिवर्तन खातिर पैदा हुने इतर विचारलाई निषेध गर्नेहरूको बाहुल्यता रहने अल्पविकसित देशको राजनीतिमा व्यवहार निख्रिएका र बोली निचोरिएकाहरूले ठाउँ खोजिरहन्छन्। संसदीय लोकतन्त्रलाई बलिदान र भावनासँग नजोड्ने हो भने यो खराबहरू पालैपालो सत्तामा जाने र मनमौजी गर्ने व्यवस्थाका रूपमा बदनाम हुँदैछ।

जब खराबहरू सत्तामा पुग्छन्, तब सभ्यतामाथि दलन शुरु हुन्छ। प्रश्न सोध्ने युवाले 'बढी बोलेको' ठहरिन्छ, बुद्धिजीविहरूलाई 'थला पार्ने' धम्की दिइन्छ, वास्तविक मिडियामाथि 'फेक न्युज प्रोड्युसर'को बिल्ला भिराइन्छ र असन्तुष्ट नागरिकमाथि खनिन कार्यकर्तालाई निर्देशन दिइन्छ।

सबैको बोली बन्द गराउन खोज्नुको एउटै उद्देश्य हुन्छ–शक्ति दुरुपयोग र अराजकता। असन्तुष्ट र आलोचकमाथि गाली बर्साइरहँदा खरो हुनु र खैराँती हुनुको फरक शक्ति र सत्ताधारीहरूले खुट्याउन सकिरहेका हुँदैनन्। चिन्तनको यो दरिद्रताका पछाडि सत्ता र शक्तिसम्पन्नहरूलाई जब्बर असभ्य संस्कारले गाँजिरहेको अनुमान सजिलै लगाउन सकिन्छ।

प्राप्त जीवाशेष प्रमाणअनुसार यो गोल भूगोलमा ‘होमो सेपियन्स’ भनिने आधुनिक मानवहरू तीन लाख १५ हजार वर्षअगाडि अफ्रिकामा देखा परे। नेपालकै बुटवलको तिनाउ नदी किनारमा रामापिथेकसको बंगारा उत्खनन गर्नेहरूले त अझ एक करोड वर्षअगाडि नै नेपालमा मानव बसोबास रहेको अनुमान गरेका छन्। यति लामो समयदेखि संस्कार र सभ्यता सिक्दै आएको मानिसको कुनै पुस्ता जब सभ्यताकै दुहाइ दिँदै शक्तिआर्जन गर्न सफल हुन्छ, तब ऊ आफ्ना खराब कामहरूमा आलोचना हुँदा दाह्रा किट्ने र बर्बराउने गर्न थाल्छ।

फेरि इन्डोनेशियाकै शुलावेशी गुफा जाऊँ। त्यस गुफामा प्राप्त इम्ब्रोराइटिङ (भ्रूणलिपि) मा एउटा एनोआ जातको भैंसीलाई घोडालगायत विभिन्न जीवजन्तुको सहारा लिएर मानिसहरूले तानिरहेका छन्। धेरैले यो चित्रमा सो भैँसीको सिकार गरेको भनिए पनि सूक्ष्म तरिकाले हेर्दा ढुंगे युगबाट पशुपालनतिर प्रवेश गरिरहेका मानिसहरूले भैँसी पाल्ने प्रयोजनकै लागि घोडासमेतको सहारामा नियन्त्रण गरेजस्तो देखिन्छ।

मानिसहरू गुफा या ओढारमै बस्ने र जनावरलाई अन्य जनावरको नियन्त्रणमा राख्‍ने (जस्तै–नेपालकै उच्चपहाडी भेगमा हुने भेडीगोठ) ज्ञान यो चित्रबाट दिन खोजिएको हुनसक्छ।

आजभन्दा हजारौँ लाखौँ वर्षपहिले भीर या गुफाका भित्ताहरूमा कोरिएका भ्रूणलिपिहरूमा मानिस कतै हरिणको झुण्डका पछिपछि कुदिरहेको, कतै हात्ती र पानको पातको चित्र कुँदिएको छ। ती चित्रले केही बोल्न र भन्न खोजेका छन्। यही चित्रहरू नै लेखन या लिपिकला विकासको सुरुवात हो, जसलाई गर्भमा रहेको लिपि भनिन्छ।

अभिलेखविज्ञान (इपिग्राफ्री) अनुसार कडा वस्तुुमाथि अभिलेख राख्‍ने इतिहास खोज्दै जाँदा एज अफ सिभिलाइजेशन अर्थात् सभ्यता युगसम्म नै पुग्नुपर्ने हुन्छ। प्राचीनकालमा विकास भएका मिश्र या मेसोपोटामिया, रोम या ग्रिकजस्ता सवै सभ्यताका मानिसहरूले कडा वस्तुमाथि लेखेका अभिलेख प्राप्त भएका छन्। 

कडा वस्तुमाथि अभिलेख राख्नुको उद्देश्य आफ्नो पुर्खा र आफूले गरेको कार्य भविष्यमा लामो समयसम्म सबैले थाहा पाइराखून् भन्ने हो। अहिले पनि शासकहरूले आफूलाई एक असल पुर्खा, समयको एक अब्बल द्रष्टा देखाउने चेष्टा त गरिरहेका छन्, तर उनीहरूमा आजभन्दा सवा तीन लाख वर्षअघिका मानिसहरूमा जत्ति पनि सुझबुझ देखिँदैन। अभिमान र अहंकारको बर्को ओढ्दैमा कसले महान भनिदेओस् र !

अक्षर र आवाज निकाल्ने सकस 

अहिले हामीलाई प्याच्च बोलिदिएर, लेखिदिएर वा संकेत गरिदिएर अरूलाई होच्याउन या चीरहरण गर्न सजिलो भएको छ। पुराना या नयाँ शासक नै उस्तै भएपछि हामी शासितको त के कुरा भयो र ! आखिर ऐनामा त त्यहीअघिको छाया न देखिने हो।

आज हामी जे बोलिरहेका छौँ या लेखिरहेका छौँ, यो विकास गर्न मानव सभ्यताले हजारौँ लाखौँ वर्षसम्म कष्टसाध्य प्रयास गर्नुपर्‍यो। एकैछिन सोचौँ त, लेखन कलाको उत्पति र विकास कुनकुन चरणमा भयो होला? एक/अर्का समूहको अस्तित्व नै स्वीकार नगर्ने फरक समूह र नश्लका मानिसहरूले कसरी साझा भाषाको विकास गरे होलान्?

पहिलो लिपि कहाँ विकास भयो र कस्तो थियो होला? लेखनकला अहिलेको अवस्थामा कसरी आइपुग्यो होला? मानिसहरूले कहाँकहाँ, के के माध्यममा लेखेर एकैमानकका अक्षरहरू बनाए होलान्? कागज, कापी या ढुंगा इत्यादिमा लेख्‍ने चलन कहिलेदेखि शुरु भयो होला? संसारमा  लिपिको विकास कसरी भयो होला?

अभिलेखविज्ञान (इपिग्राफी) र पुरालेखन (प्यालियोग्राफी)मा घोत्लिँदा विश्वमा लेखनकला ५ चरणमा विकास भएको देखिन्छ। शुरुमा मानिसहरूले इम्ब्रोराइटिङ (भ्रूणलिपि) विकास गरे। इन्डोनेसियाको गुफामा भेटिएको चित्र यही भ्रूणलिपिअन्तर्गत पर्छ।

आजभन्दा हजारौँ लाखौँ वर्षपहिले भीर या गुफाका भित्ताहरूमा कोरिएका चिह्‍नहरू नै भ्रूणलिपि हुन्। यस्ता लिपिहरूमा मानिस कतै हरिणको झुण्डका पछिपछि कुदिरहेको, कतै हात्ती र पानको पातको चित्र कुँदिएको छ।

ती चित्रले केही बोल्न र भन्न खोजेका छन्। ती चित्रहरू त्यसै कोरिएका होइनन्। यही चित्रहरू नै लेखन या लिपिकला विकासको सुरुवात हो, जसलाई गर्भमा रहेको लिपि भनिन्छ। यो लिपि विकास गर्न मानिसको कति हजार पुस्ताले जीवन निखारे होलान्? 

भ्रूणलिपिमा निकै लामो अथक कोसिस गरेपछि मानिसहरूले चित्रलिपि (इप्टोग्राफिक राइटिङ) बनाएर अभिव्यक्त हुने कोसिस गरे। तर, चित्रलिपिबाट पनि मानिसका सबै भावनाहरू अभिव्यक्त हुन सकेनन्। कुनै न कुनै वस्तुको आकृति भेटिने अहिलेका चिनियाँ अक्षरहरू यही इप्टोग्राफिक राइटिङका उपज हुन्। इप्टोग्राफिक राइटिङपछि मानिसहरूले सिम्बोलिक राइटिङ (सांकेतिक लिपि) को विकास गरे। जस्तो कि एउटा गोलो बनाएर सूर्य, तातो, दिन या रात अभिव्यक्त गर्न थाले। 

लुम्बिनीको शिलालेख नै नेपालमा बुद्ध जन्मिएको भन्ने अकाट्य प्रमाण हो। यदि यो स्तम्भबारे पहिल्यै जानकारी पाएको भए नक्कली लुम्बिनी खडा गरेर विश्वमा भ्रम छरिरहेको दक्षिणी छिमेकीले रातारात उतै बोकेर लैजाने कुचेष्टा गर्न सक्थ्यो होला। तर, निकैपछि मात्र अशोकस्तम्भ फेला परेकाले त्यसो गर्न सकेन। इसापूर्व तेस्रो शताब्दीमा राखिएको यो स्तम्भ सन् १८९६ मा मात्र उत्खनन गरिएको थियो।

लगातार मस्तिष्क चलाएर लिपि विकास गर्न खोजिरहेका मानिसहरू त्यतिखेरसम्म पनि बोलीमार्फत अभिव्यक्ति दिने अवस्थामा आइपुगेका थिएनन्। सांकेतिक लिपिमा अर्को हजारौं वर्षको लगानीपछि बल्ल मानिसहरू फोनेटिक (ध्वन्यात्मक) अवस्थामा आइपुगे। जस्तो कि अहिले कुनै खतरा भए कुकुरले भुकेर मानिसलाई संकेत दिन्छ, घरपालुवा पशुहरू भोकाए निश्चित समयमा कराएर मानिससँग खानेकुरा माग्छन्। यस्तो फोनेटिक लिपि विकास गर्ने क्रममा मानिसले हरेक वस्तुका लागि एउटा नाम राखे र हरेक नाममाथि निश्चित फरक ध्वनि प्रयोग गरे। 

तिनै ध्वनिहरूका लागि कालान्तरमा एउटा चिह्‍न सिर्जना गरियो। ध्वनिहरूका लागि सिर्जना गरिएको चिह्‍न नै अल्फाबेट (वर्णमाला) हो। अल्फाबेटिक राइटिङ भनेकै उच्चारण गरिएका ध्वनिहरू चिनाउने चिह्‍न हुन्। संसारमै पहिलोपटक मिश्रमा २४ वटा वर्ण भएको लिपिको विकास भयो, जसलाई क्युनेइफर्म लिपि भनिन्छ।

त्यही लिपि पछि संसारका विभिन्न स्थानमा फैलियो। वर्णपछि बल्ल लिपिको विकास भयो। अहिले हामीले देवनागरिक, फारसी, ब्राह्मी या पाली लिपीको जुन चर्चा गर्छौं, ती लिपिहरू धेरै पछि बनाइएका हुन्। मेसोपोटामिया सभ्यताको पहिलो लिपि पिलाक्षर हो। नेपाल र भारतको सबैभन्दा पुरानो लिपि ब्राह्मी लिपि हो। यही लिपिबाट अहिले नेपाल र भारतका सबै लिपि जन्मिएका हुन्। 

अशोककालीन अभिलेख र लुम्बिनीको शिलालेखमा ब्राह्मी लिपि छ। सो लिपिको भाषा भने पाली हो। ब्राह्मी लिपिबाट नै नेपालमा अरू लिपिहरूको विकास भयो। लिच्छिवि, उत्तरलिच्छीवि, नेवारी, रञ्जना, देवनागरिक र तिब्बती पनि ब्राह्मी लिपिकै विकासक्रमको उपज हो। 

लुम्बिनीको शिलालेख नै नेपालमा बुद्ध जन्मिएको भन्ने अकाट्य प्रमाण हो। यदि यो स्तम्भबारे पहिल्यै जानकारी पाएको भए नक्कली लुम्बिनी खडा गरेर विश्वमा भ्रम छरिरहेको दक्षिणी छिमेकीले रातारात उतै बोकेर लैजाने कुचेष्टा गर्न सक्थ्यो होला। तर, निकैपछि मात्र अशोकस्तम्भ फेला परेकाले त्यसो गर्न सकेन। इसापूर्व तेस्रो शताब्दीमा राखिएको यो स्तम्भ सन् १८९६ मा मात्र उत्खनन गरिएको थियो। 

जब सत्ताभित्र र बाहिर रहेको शक्तिले सभ्यता बोकेका सम्पदामाथि डोजर चलाएर काम देखाउँछ, आफ्ना प्रतिबद्धता भुल्छ या जनतालाई अलमल्याउन खोज्छ, मानिसले लाखौँ वर्ष लगाएर विकास गरेको लिपि र ध्वनि दुरुपयोग गर्दै जनतामाथि खनिन्छ र राजनीतिप्रति वितृष्णा मात्रै जगाउँछ, तब सभ्यता र संस्कृतिलाई सत्ताको दलनबाट जोगाउन नागरिक आफैँ जाग्नुपर्छ।

लिच्छीविकालका अभिलेखहरूमध्ये चाँगुनारायणको अभिलेख गुप्त लिपिमा लेखिएको छ। यस्तो लिपि सबैभन्दा पहिले भारतका गुप्त राजाहरूले प्रयोग गरेको इतिहास पढ्न पाइन्छ।

प्यालियोग्राफीले लिपिको उत्पति र विकास कहाँबाट कसरी हुँदै गए भन्ने अध्ययन गर्छ। कागज, ताडपत्र, भोजपत्रमा लेखिएका अक्षरहरूको पनि यसले अध्ययन गर्छ। नेपालमा पुराना ग्रन्थहरू धेरैजसो ताडपत्रमा लेखिएका छन्।

ताडीको रूखको पातलाई उमालेर विभिन्न तरिकाले त्यसलाई प्रशोधन गरी त्यसमा लेख्‍ने चलन थियो। हजारौँको संख्यामा लेखिएका त्यस्ता अभिलेखहरू अहिले राष्ट्रिय अभिलेखालयमा छन्।

तर, अभिलेखालयमा जोखिमयुक्त अवस्थामा रहेका अभिलेखहरूलाई संरक्षण गर्नतर्फ राज्यले खासै ध्यान दिन चाहेको देखिँदैन। आयातित गाडी किन्न हतारिने राज्यसंयन्त्रका कर्मचारीहरूलाई ती महत्वपूर्ण दस्तावेजहरू थोत्रा बोक्रा लाग्दा हुन्।

कागजमा लेख्‍ने अभ्यास १५औं-१६औ शताब्दीपछि मात्रै शुरु भयो। दक्षिण एसियामा सिन्धुघाँटी सभ्यतादेखि अभिलेख राख्‍ने परम्परा सुरुवात भएको मान्न सकिन्छ। तर, दुर्भाग्य : सिन्धु लिपि (इन्डस स्क्रिप्ट) अहिलेसम्म पढ्न सकिएको छैन।

त्यहाँ शिलामाथि कुँदिएका धेरैजसो अक्षरहरूलाई इतिहासविद्‍हरूले अभिलेख नै भनेका छन्। ती लिपि बनाउने मानिसहरू कहाँ गए? किन त्यो लिपिले निरन्तरता पाएन? हजारौं वर्षअघि हाम्रै पुस्ताले विकास गरेको लिपि रहस्यको गर्भमै रहनुले सभ्यताको एउटा श्रृंखला नै नबुझिने अक्षरहरूमा थुनिएर बसेजस्तो लाग्‍ने।

मेट्ने र मेटिने बाटोमा

मुख्यतः इतिहास तीन कारणले मेटिइन्छन् या बिर्सिइन्छन् : दबिएर या दबाइएर, बिर्सन लायक भएर र त्यसको महत्व नबुझेर। २१ औँ शताब्दी‍मा पनि जनतालाई १०औं शताब्दीकै अवस्थामा गलित र थकित बनाउने नियत बोकेका अवसरवादी शासकहरूको पारा हेर्दा यी बिर्सन लायक भएरै बिर्सिइनेछन्। आफूलाई भावी पुस्ताले सम्झिराखून् भन्ने चाहना भए त यी शक्ति र सत्ताधारीहरू सभ्यता र संस्कृति संरक्षणमा दिलोज्यानले पो लाग्‍नुपर्ने त।

यलको क्वयलाछी च्यासलस्थित नारायणहिटीमा रहेको नेपालकै सबैभन्दा पुरानो गजलक्ष्मीको मूर्ति हेर्दैमा शासकहरूको दरिद्रता देखिन्छ। सुन्दराकुशान कलामा आधारित नेपालमा भेटिएकामध्ये सबैभन्दा पुरानो यो मूर्ति खिइएर लगभग नष्ट हुने अवस्थामा छ। धन्न फलामले घेरेर राखिएकाले सो मूर्ति अहिलेसम्म कसैले उप्काउन सकेका छैनन्।

राज्य या अधिकारप्राप्त निकाय जिम्मेवार हुन्थ्यो भने त्यहाँ संरक्षणको आधुनिक विधि अपनाउन पक्कै सक्थ्यो। इशापूर्व पहिलो शताब्दीमा बनाइएको यो मूर्तिले अब कति दिन घामपानी छेक्ला, उनै गजलक्ष्मी भरोस!

हामीकहाँका शक्ति र सत्ताधारीहरू आफूलाई सुसंस्कृत र अरूलाई असभ्य भनिदिन्छन्। सफा कपडा लगाएको मन्दबुद्धि नेता विश्वविद्यालयमा पढेको मिहिनेती विद्यार्थीभन्दा अब्बल ठहरिन्छ। उच्चपदस्थहरू नगरिकलाई सिर्फ एक भोटको नजरले हेर्छन्। तर, उनीहरूले बुझिरहेका छैनन् कि संस्कृतिपछि मात्र सभ्यताको विकास हुन्छ।

सभ्यता संस्कृतिको विकासको उत्कर्ष अवस्था हो। संस्कृति भएर पनि सभ्यता विकास नभएकाले राउटेहरू ‘हन्टिङ एण्ड ग्यादरिङ’ अवस्थामा छन्। ढुंगाका औजार प्रयोग गर्नेको पनि संस्कृति हुन सक्छ, तर सभ्यता हुँदैन। सभ्यता भनेको संस्कृतिको विकास हो।

जब मानिसले खेतीपाती गर्न थाल्यो, ठूलाठूला घर बनायो, सिँचाइका लागि नहर बनायो, धातुको प्रयोग गर्न थाल्यो, सडक पुलहरू बनायो, यो चाहिँ सभ्यता हो। संस्कृति त आदिम युगमा पनि हुन सक्छ। यहाँ त जुन सर्तका लागि आफूले वैधता पाएको हो, त्यो कार्यसम्पादन नगर्ने र अरूमाथि दोष थोपर्ने खराब संस्कारमा ठूलाबडा अल्झिएका छन्।

अपवादबाहेक सत्ताकै चिन्तन गर्ने शक्ति/सत्ताधारीहरू ‘एन्थ्रो–पोलिटिकल’ संवेदनशीलतामा त्यत्ति घोत्लिएको देखिँदैन। राजनीतिक सामाजीककरणमै पनि उनीहरूको उपस्थिति त्यति बलियो देखिँदैन। लुसियन पाइले राजनीतिक सामाजिकीकरणलाई राजनीतिक विकाससँग जोडेका छन्। हवर्ट साइमनले पनि यसलाई व्यक्तिलाई मानसिक रूपले समाजको राजनीतिक प्रक्रियामा भाग लिन सक्रिय बनाउने मनोवैज्ञानिक प्रक्रिया भनेका छन्।

तर, जब सत्ताभित्र र बाहिर रहेको शक्तिले सभ्यता बोकेका सम्पदामाथि डोजर चलाएर काम देखाउँछ, आफ्ना प्रतिबद्धता भुल्छ या जनतालाई अलमल्याउन खोज्छ, मानिसले लाखौँ वर्ष लगाएर विकास गरेको लिपि र ध्वनि दुरुपयोग गर्दै जनतामाथि खनिन्छ र राजनीतिप्रति वितृष्णा मात्रै जगाउँछ, तब सभ्यता र संस्कृतिलाई सत्ताको दलनबाट जोगाउन नागरिक आफैँ जाग्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.