|

काठमाडौं : टुँडिखेलमा किरात भेषभुषा दौरा-सुरुवाल, ढाकाटोपी, विनायो, छातीमा मुर्चुङ्गा, पिचुरी र धजुरामा सजिएका युवक ढोल, झ्याम्टा बजाउन व्यस्त देखिन्छन्।

शनिबार साकेला मुन्धुमी पुजारी (नाक्सो) ले तिनचुला बनाएर पुजिरहेका छन्। कोही युवायुवती गोलाकार बनेर साकेला नाँचमा रमाइरहेका छन्। कोहीको हातमा सिलिमी, पमी (चौरीको पुच्छर) हल्लाउँदै ढोलको तालमा साकेला नाच नाच्न व्यस्त छन्। ढोल, झ्याम्टाको मिठास बेग्लै छ। शनिबार टुँडिखेलमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंले किरात समुदायको महान चाड उधौलीको अवसरमा आयोजना गरेको साकेला नाचको दृश्य हो यो। 

टुँडिखेल पुगेका दर्शक पनि किरात युवायुवतीको साकेला नाच हेरेर मख्ख देखिन्थेँ। किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंका उपाध्यक्ष जीवनकुमार राईले किरात समुदायको महान चाड उधौलीलाई लिने गरेको भन्दै हरेक वर्ष टुँडिखेलमा साकेला सिल्ली (नाच) को आयोजना गर्दै आएको बताए।

‘किरातीहरू प्रकृतिको पुजक ठान्छौँ’, उनले भने,‘भाषा, धर्म, संस्कृति बचाउन वर्षेनि टुँडिखेलमा उधौली चाड मनाउँदै आएका छौँ।’  हजारौ वर्ष पहिलेदेखि प्राचीन आदिवासी किरातीहरू बसोबास गर्दै आएकाले मानव, संस्कृति भाषा र इतिहासको धनी समेत रहेको उनले बताए। 

उक्त कार्यक्रममा किरात राई यायोक्खा जिल्ला कार्यसमितिले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का  विजेता किरात समुदायका राई खेलाडीलाई सम्मान समेत गरेको थियो।

साकेला नाच्नका लागि टुँडिखेलमा आएका जोरपाटीका सुमन राईले उधौली चाड महत्वपूर्ण रहेकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘गाउँघरमा मात्र नभई काठमाडौं उपत्यकामा पनि यो चाड मनाउँदै आएका छौँ ’, उनले भने,‘यो चाडको धेरै महत्व छ। नयाँ पुस्तालाई समेत हस्तान्तरण गरी युगौयुगसम्म यसको संरक्षण गरिनुपर्छ।

किन र कसरी मनाइन्छ उधौली चाड?

साकेला मुन्धुमी पुजारी (नाक्सो) प्रेमबहादुर राईका अनुसार उधौली चाड अन्नबाली पाकेपछि भित्र्याउँदै मंसिरे पूर्णिमा तिथिदेखि पूर्खालाई चढाएर मनाइन्छ। किरात राईले साकेन्वा-साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर नामले प्रकृतिलाई पुकारेर नाच्छन्। उनले भने, ‘कुल पितृ र प्रकृतिलाई पूजा गरेर मात्रै नयाँ अन्न खान मिल्छ। पूजा नगरे विरामी हुने विश्वास छ।’

कसरी नाचिन्छ साकेला? 

साकेला नाच्दा सिलिमाङ्पा (सिल्लीको अगुवाइ गर्ने पुरुष) या सिलिमाङ्मा (सिल्लीको अगुवाइ गर्ने नारी) ले समूहलाई अगुवाई गर्दछन्। गोलघेरा बनाएर नारी-पुरुष सराबरी हातमा हात, खुट्टामा खुट्टा चालमा चाल मिलाए ढोल, झ्याम्टाको तालमा नाच्छन्।

घेराभित्र चिल्लेकटुसको रुखका लिंगो र थुम्से (सोली) मा खारेवा (चिन्डो) मा रक्सी राखिन्छ। उक्त चाडको विशेषता भनेकै प्रकृतिको पूजा गरी परम्परागत नाच प्रदर्शन गर्नु हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.