|

डोल्पा : डोल्पाबाट एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

एक दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी काइके गाउँपालिका २ शहरतारा गाउँ बस्ने ३२ वर्षीया पासाङ रोकायको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। उनलाई सदरमुकाम दुनैबाट शनिवार दिउसो १ बजेर ३० मिनेटमा उद्धार गरेर सुर्खेत लगिएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ।

रोकायलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला तथा बालबालिका उद्धार कोष कार्यक्रममार्फत उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेपछि रोकायलाई शुक्रबार बेलुकी सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा पुर्‍याइएको थियो।

विद्युत नहुँदा शल्याक्रिया रोकियो

चौबिसै घण्टा विद्युत आपूर्ति हुनुपर्ने डोल्पा जिल्ला अस्पतालमा भरपर्दो विद्युतको व्यवस्था छैन। अस्पतालमा जोडिएको जैरीगाड जलविद्युत आयोजना पटक-पटक अवरुद्ध भइरहने भएकाले नियमित र पर्याप्त भोल्टेज नआउँदा अस्पतालमा शल्यक्रिया गर्न समस्या आउने गरेको छ।

भरपर्दो विद्युतको सुविधा नभएकै कारण आवश्यक उपकरण नचलेकाले जिल्लामै रोकायको शल्यक्रिया गर्न नसकिएको जिल्ला अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउतले जानकारी दिए। 'अप्रेशनको तयारी भइसकेको थियो। भएको विद्युतको पावरले काम गरेन। जैरीगाड जलबिद्युतबाट भोल्टेज बढाएर विद्युत छोड्न लगाउँदा अस्पतालको पूरै विद्युत लाइन सर्ट भयो। त्यसपछि शल्यक्रिया गर्न सकिएन' राउतले भने।

जेनेरेटर चलाएर पनि शल्यक्रिया गर्ने तयारी गरियो। तर जेनेरेटरले पनि काम गरेन। अन्तिममा हेलिकोप्टरको गुहार गर्नु पर्‍यो।' अस्पतालमा पर्याप्त उपकरण नभएकाले विशेषज्ञ डाक्टरले मात्रै केही गर्न नसकिने डाक्टर रावतले बताए। जिल्ला अस्पतालमै शल्यक्रिया सेवा प्रदान गर्ने उद्देश्यकासाथ आमा सुरक्षा कार्यक्रमको ३६ लाख बजेटबाट तलब खानेगरी डाक्टर राउतलाई अस्पतालले नियुक्त गरेको हो।

बाहिरबाट जेनेरेटर ल्यायर शल्यक्रिया

जिल्ला अस्पतालमा भरपर्दो विद्युतको व्यवस्था नहुँदा विभिन्न संघ संस्थाबाट जेनेटर खोजेर ल्यायर शल्याक्रिया गर्नुपर्ने बाध्यता छ। करिब एक महिना अघि मात्रै जिल्ला अस्पतालमा शल्यक्रिया सेवा प्रदान गर्ने भनेर नियुक्त गरिएका डाक्टर राउतले एक हप्तामै तीनजना सुत्केरी व्यथाले थलिएका महिलाको शल्यक्रिया गरिसकेका छन्। त्यसमध्ये दुईवटा शल्यक्रिया बजारबाट ल्याएको जेनेटेर प्रयोग गरेर शल्यक्रिया गरेको डा राउतले बताए।

अस्पतालमा बत्तीको राम्रो सुविधा नभएकाले यस्तो गर्नु परेको उनले बताए। त्यति मात्र नभई जिल्ला अस्पतालमा शल्यक्रियाकालागि पर्याप्त उपकरणहरू समेत नभएको उनले बताए।

प्रदेश सरकारले किनेको जेनेरेटर पन्ध्र घण्टा पनि टिकेने

जिल्ला अस्पतालमा विद्युतको चरम समस्या भएपछि कर्णाली प्रदेश सरकारले जेनेरेटर किन्नका लागि ४ लाख ८० हजार बजेट दियो। उक्त बजेटबाट करिब एक वर्षअघि खरिद गरेको पाँच केवीको जेनेरेटर राम्रोसँग १५ घण्टा पनि नटिकेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले बताए।

'अस्पतालमा दुई वटा जेनेरेटर छन्। दुइवटैले काम गर्दैनन्। एउटा पुरानो जेनेरेटर त्यो बिग्रिरहन्छ। अर्को प्रदेश सरकारले दिएको जेनेरेटर बिग्रेको धेरै भइसक्यो' डाक्टर रावलले भने। 'मर्मतकालागि धेरै प्रयास गरे पनि भएको छैन। सम्बन्धित कम्पनीले चासो दिएको छैन।'

यसवर्ष मात्रै डोल्पाबाट १३ जना सुत्केरी हुन नसकेका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.