|

काठमाडौं : नेपाली सांगीतिक ब्याण्ड 'नेपथ्य'ले अस्ट्रेलियाको सिड्नीमा आयोजित कन्सर्टमा यसअघिको रेकर्ड तोडेको छ। नेपाली ब्याण्डले विदेशी भूमीमा आयोजना गरेको कन्सर्टमा पहिलोपटक सबै टिकट अनलाइनबाटै बेचिएको नेपथ्यको व्यवस्थापक 'नेपालय'ले दाबी गरेको छ। 

हिजो शनिबार नेपथ्यले २९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ हलमा सांगितिक प्रस्तुती दिएको थियो। कन्सर्टमा सहभागीले सबै टिकट अनलाइनबाटै खरिद गरेको र सांगीति प्रस्तुती शुरु हुनुअगावै सबै टिकट बिक्री भएको थियो। 

पछिल्लो पटक संसारका प्रतिष्ठित अन्तर्राष्ट्रिय कन्सर्टहरुका दर्शकहरुले अनलाइनबाटै टिकट काट्ने प्रवृत्ति झण्डै शतप्रतिशत पुगिसकेको छ। नेपाली मनोरञ्जन उद्योगमा पनि नेपथ्यले यसको पूर्ण कार्यान्वयन शुरुवात गर्न खोजिरहेको थियो। अन्ततः अस्ट्रेलियामा आयोजित कन्सर्टमार्फत व्यवस्थापक नेपालयले यो लक्ष्यलाई पुरा गरिछाड्यो। 

नेपालयका किरणकृष्ण श्रेष्ठले भने–‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने चाहना यसपाला सिड्नीले पुरा गरिदिएको छ, यत्रो ठूलो आयोजनालाई पूर्णतयाः अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चूनौतिका रुपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं ।’ नेपथ्यले यसपाला अष्ट्रेलियाको श्रृंखलावद्ध यात्राका लागि सिड्नीकै संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको छ ।

नेपथ्यले अस्ट्रेलियामा छैठौं पटक कन्सर्ट गरेको हो। सन् २००९ मा पहिलोपटक अस्ट्रेलिया पुगेको यो लोकपप ब्याण्ड अहिले विश्वभर रहेका नेपाली डायस्पोरामाझ निकै लोकप्रिय छ। 

नेपथ्यको पछिल्लो कन्सर्टमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य अब मेलबर्नको ‘द पाम्स एट क्राउन’मा पुगेर हुनेछ ।

नेपथ्यका प्रमुख गायक एवं अगुवा अमृत गूरुङले विश्वभर नेपालीहरुको उपस्थिति बढ्दा खुशी लाग्ने, तर स्वदेशमा अवसर अभाव भएकैले बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा दुःख लागेको बताए। साथै स्वदेश फिर्दा अष्ट्रेलियन साथीहरुलाई पनि नेपाल ल्याउन र सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.