|

बागलुङ : सदरमुकामदेखि कुश्मीसेरा जोड्ने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो। २१ किलोमिटर लामो यो सडक खण्डमा मर्मत भन्दै यो बीचमा कति लगानी भयो भन्ने एकीन नै गर्न मुस्किल छ। नममात्रको सडकका कारण सास्ती खेप्दै आएका स्थानीयले अब भने राहतको सास फेर्दैछन्। 

गण्डकी प्रदेश सरकारले क वर्गमा राखी कालोपत्रे गर्न लागेपछि अहिले निर्माण कम्पनी कर्ण विल्डर्स प्रा.लि. स्तरोन्नतीसहितको काममा लागेको छ। असारमा बोलपत्र प्रकृया थालेर भदौ १० गतेबाट यो सडकको १० किलोमिटर खण्डमा निर्माण शुरु भएको छ। 

कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ सालमा सडक विभागले पक्की बनाइसकेको छ। बाँकी १० कुश्मीशेरा जोड्न बाँकी १० किलोमिटर सडक कालोपत्रेको काम चाहिँ चालु आर्थिक बर्षदेखि शुरु भएको हो। पाग्जादेखि टाकुरीसम्मको सडक कालोपत्रे गर्न लागिएको छ। 

भौतिक पुर्वाधार मन्त्रालयको २६ करोड रुपैयाँ लागतमा कालोपत्रे हुँदै गरेको यो सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०७८ असार मसान्तसम्म सबै काम सक्नुपर्नेछ। १० किलोमिटरमध्ये हालसम्म नौ किलोमिटर लम्बाईको सडकमा माटो काट्ने, पक्की पर्खाल बनाउने, तारजालीसहितको पर्खाल बनाउने काम अन्तिम चरणमा पुर्‍याइएको छ।

बाँकी एक किलोमिटरमा पनि क्रमशः काम अघि बढेको छ। निर्माणका लागि दुई बर्षको समायावधी पाएपनि कुनै बाधा–अवरोध नभए एक बर्षमै काम सक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक नविन गुरुङ बताउँछन्। 

यो सडक निर्माणका लागि कम्पनीले तीन सय मजदुर र दुई दर्जन बढी मेसिनरी सामानहरु प्रयोगमा ल्याएको छ। प्रारम्भिक चरणको कामबाट सरोकारवाला समेत सन्तुष्ट देखिन्छन्। ‘यो सडकको काम सोचे भन्दा द्रुत गतिमा भएको छ’ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले भने ‘तोकेको भन्दा छ महिनाअघि काम पुरा गरे निर्माण कम्पनीलाई हामी सम्मान गर्छौं।’

स्थानीय सर्वसाधारणले सडकको काममा सन्तुष्ट रहेको बताएका छन्। ‘हामीले पनि भरपुर सहयोग गरेका छौं काममा अबरोध हुन दिँदैनौ’ सडक प्रभावित क्षेत्रका स्थानीय उमानाथ शर्माले भने ‘समयमा काम हुने आशा पलाएको छ।’ जिल्लाको दक्षिणमा रहेका सबै गाउँहरु जोड्ने सडक भएकाले यो सडकमा सर्वसाधारणको चासो बढी रहेको छ। 

‘हामीलाई स्थानीय अवरोध भएन र निर्माण सामग्री सहज पायौं भने छिट्टै काम सक्छौं’ साईड इन्चार्ज श्रेष्ठले भने ‘एक दिन पनि काम रोकेका छैनौ, समयमा हस्तान्तरण गर्छौं।’ भौतिक पुर्वाधार कार्यालयले पनि अन्य सडकको तुलनामा यो सडकको काम सन्तोषजनक रहेको जनाएको छ। ‘यो काम गर्ने कम्पनी हो हामीले समयमा काम सक्न प्रेरित गरेका छौं’ भौतिक पुर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले भने ‘अब छिट्टै बागलुङको दक्षिण पक्कि सडकसँग जोडिन्छ।’

गत बर्ष आयोजित एक कार्यक्रममा जैमिनी नगरपालिका वडा नं. १ का काशीराम आचार्यले अहिलेसम्म ६ पटक कालोपत्रे भैसक्यो भनेर यो सडकको खिल्ली समेत उडाए। हुन पनि कुश्मीसेरामा आउने ठूला नेताहरुले हरेक बर्षजसो सडक कालोपत्रे गरिदिने आश्वासन दिने गरेका थिए। त्यसमा कांग्रेस र कम्प्युनिष्ट नेताहरु सबै छन्।

मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका नेताले पनि कालोपत्रेको आश्वासन दिएपनि यो सडकले कहिल्यै गति लिएको थिएन। दक्षिण बागलुङका जनतालाई यो सडकले सधै गिज्याएको थियो। अब सडकले गिज्याउने दिन सकिएको प्रतिनिधिसभा सदस्य डा. पाठक बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.