|

झापा (भद्रपुर) : प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाइ नहुँदा बिरामी दुर्गन्धित वातावरणमा रहेर सेवा लिन बाध्य छन्। 

अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आह्वान गर्दै सरसफाइको ठेक्का लगाए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले समेत नियमित सरसफाइमा चासो नदेखाउँदा अस्पतालमा फोहोर-मैला थुप्रिन थालेको हो। 

अस्पताल परिसरभित्र जथाभावी पानीका बोत्तल फ्याक्ने, गुट्खा खाएर थुक्ने, सफाइ नगर्नु, बगैंचाका बोटबिरुवा नकाट्नु, शौचालय सफाइ नगर्नु, बिरामी बस्ने शय्या तथा कक्षमा सरसफाइ नहुनु, धाराको पानी कोठामै चुहिनु, कोठाभित्रै भुस्याहा कुकुर पस्नेजस्ता समस्याहरू रहेको बिरामीहरु कुरुवाहरुको गुनासो छ।

अस्पतालले नियमित सरसफाइका लागि सातजना स्थानीय कर्मचारी राखेको छ। साथै‚ ठेकेदारले समेत १६ जना कर्मचारी सरसफाइका लागि खटाएको छ। तर, ती कर्मचारीले अस्पतालको सरसफाइमा खासै चासो नदेखाइ मासिक तलब मात्र बुझ्ने गरेकाले अस्पताल परिसर दुर्गन्धित र कुरूप बन्दै गइरहेको छ। 

नियमित सरसफाइ छैन

‘बिरामी बस्ने कोठामा नियमित सरसफाइ नै हुँदैन। हुँदा पनि बाहिर-बाहिर मात्र सरसफाइ गरेर कर्मचारी जान्छन्’, बिरामीका आफन्त शोभा भण्डारीले भनिन्, ‘बच्चा राख्ने कोठा त सफा हुनु पर्‍यो नि?’ कर्मचारीले राम्ररी कपडाले कोठा पनि नपुछ्ने‚ बिरामीको बेडमुनिको फोहोर जस्ताको त्यस्तै छाड्ने गरेको उनको गुनासो छ।

बिरामी राख्ने वार्डमा शौचालयको दुर्गन्धले एकछिन पनि बस्न नसकिने भद्रपुरकी लिजा पोखरेलले गुनासो पोखिन्। ‘ बेडको बिजुली स्विच र प्लग पनि बिग्रिएको छ’, उनले भनिन्, ‘पानी तताउनु पर्‍यो भने बाहिर जानुपर्छ। अस्पताल जस्तो ठाउँमा यस्तो पनि हुन्छ?’ 

बिरामीका शय्यासम्मै कुकुर 

मान्छेको उपचार हुने अस्पताल नै पशु अस्पताल सरह बन्न थालेको बिरामीहरू बताउँछन्। आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर रहने गरेका छन्।

'अस्पतालको वार्डभित्रै कुकुर आउने सुनेको थिएँ', बिरामी इन्द्रबहादुर विश्वकर्माले भने, ‘ एकदिन त राति १२ बजे बिरामी सुतेकै वार्डमा दुईवटा भुस्याहा कुकुर आएका थिए। कुकुर कुरुवाले खेदाए।’ यसअघि पनि अस्पतालको आकस्मिक कक्षमा भुस्याहा कुकुर छिरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर अस्पताल प्रशासनले त्यसलाई यस्ता घटनामा त्यति चासाो राखेको देखिँदैन।  

नेकपाको सरसफाइ

अस्पतालमा थुप्रिएको फोहोर मैलाको उचित व्यवस्थापन र सरसफाइ नहुँदा बिरामीको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ क्षेत्रीय समन्वय कमिटीले गत बिहीबार अस्पताल परिसरभित्र वृहत् सरसफाइ गरेको छ।  

मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. पिताम्बर ठाकुरकै सहभागितामा सरसफाइ कार्यक्रम भएको थियो। बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा थुप्रिएको फोहोर मैला व्यवस्थापन नहुँदा जनप्रतिनिधिसहित नेकपाका नेता तथा कार्यकर्ताले यसबारे सञ्चालक समितिसहित प्रशासन पक्षलाई ध्यानाकर्षण समेत गराए।

बजेट नहुँदा समस्या

यता अस्पतालका मेसु डा. ठाकुरले समेत अस्पतालको सरसफाइप्रति आफूलाई पनि चित्त नबुझेको बताउँछन्। ‘अस्पतालमा सधैँ सरसफाइ हुनुपर्छ‚' उनले भने, ‘सरसफाइको विषयमा आफू पनि सफल भइनँ।’

सरकारले अस्पतालको सरसफाइमा बजेट नछुट्टाएको डा. ठाकुरको गुनासो छ। ‘रकम नहुँदा समितिको निर्णय बमोजिम सरसफाइको ठेक्का लगाएर काम गराउँदै आएको छु‚‘ उनले भने, ’ठेक्का लगाउने बेलामा एउटा मात्र टेन्डर फारम पर्छ। सबै चलखेल बाहिर हुँदा सरसफाइको रेट घटेर आउँछ। त्यसै गर्दा राम्रो सरसफाइ हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.