|

पर्वत : कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरूले बजार र उपयुक्त मूल्य नपाउँदा बेलाबेलामा आन्दोलनहरू हुने गरेका छन्। कहिले सडकमा नै दूध पोखेर त कहिले अण्डाहरू सडकमा नै फुटाएर कृषकहरूले आफ्ना पीडा बाहिर ल्याउने गरेका छन्। स्थानीय तहहरूले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने भनेर योजनाहरू पनि सुनाउँछन्, तर कृषकहरूको अवस्था भने उस्तै छ। 

तर, यही भिडमा पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुँखुदेउरालीले भने कृषकहरुकले उत्पादन गरेका विभिन्न उपजहरूको बजार र भाउ खोज्नका लागि आफैँ किसान बनेर काम गरिरहेको छ। केही दिन अगाडिबाट कृषकहरूले पालेका खसी बोका खरिद गरेर पोखरामा बिक्री गर्न थालेको वडाले अब भने कृषकको दुध सङ्कलन गरेर बजार पठाउन सुरु गरेको छ।

गाउँमा उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन नसक्दा कृषकहरूको आर्थिक स्तरमाथि उठ्न नसकेको र बजारको अभावमा राम्रो मूल्य आउने दूधलाई मोही बनाएर फाल्नुपरेको अवस्थालाई मध्यनजर गरेर कृषकहरूको घरमा हुने दूधलाई बजार पठाउन थालिएको वडाध्यक्ष जीवनविक्रम उचै बताउँछन्।

‘केही दिन अघिदेखि कृषकहरूको घरमा पालिएका खसी, बोका स्थानीय सहकारी र वडा कार्यालय मिलेर खरिद गर्ने अनि पोखरामा लगेर बेच्ने काम सुरु गरिसकेका छौँ,’ उनले भने, ‘खसी, बोका बेचेर मात्रै कृषकहरूको जीवनस्तर माथि उठ्न सक्दैन, त्यसैले गाउँमा उत्पादन हुने कुनै पनि वस्तुलाई खेर नफाली सकेसम्म बिक्री गर्न लागिपरेका छौँ।’ 

यही अभियानअनुसार नै पहिलो चरणमा खसी बोका वडाले खरिद गरेको र दोस्रो चरणमा वडाभरिको दूध सङ्कलन गरेर बजार पठाउन थालिएको उनको भनाई छ।
गाउँको दूध र घ्यूले बजार भाउ पाउन सकेमा कृषकहरू पशुपालनतर्फ आकर्षित हुने वडा अध्यक्षको विश्वास छ। उनले बाँझो खेतमा पुनःखेती गर्ने योजना वडाले बनाइरहेको बताए। 

वडाध्यक्ष उचैका अनुसार महाशिला गाउँपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय, महाशिला सामाजिक महिला उद्यमी समूह, स्थानीय सहकारी र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा गाउँमै दूध संकलन केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रमा सुरुमा वडा नं. ५ का कृषकहरूले दूध सङ्कलन गर्न सुरु गरेका छन् भने क्रमशः गाउँपालिकाभित्रका सबै वडाका कृषकहरूको दूध संकलन हुनेछ।  

पहिले घर–घरमा दूध पुर्‍याउँदै हिँडेका किसान अहिले एकैठाउँमा दूध पुर्‍याउने र एकैपटक एकैठाउँबाट धेरै पैसा बुझ्न पाउने भएपछि खुसी भएको गाउँपालिकाका प्रमुख राजु पौडेल बताउँछन्। दूध संकलन केन्द्रमा जम्मा भएको दूधलाई छिमेकी फलेवास नगरपालिकाको फलेवास बजार हुँदै सदरमुकाम कुस्मा बजारमा पठाइने गरिएको छ।

पर्वतमा खपत हुन नसके पोखरा पठाउने गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं. ५ का अध्यक्ष उचै बताउँछन्। दैनिक ५ सय लिटर दूध संकलन गर्नका लागि ५० जनाभन्दा बढी व्यावसायिक किसानहरू तयार पारी चिलिङ भ्याट राखेर दूध पोखरासम्म पुग्ने उनको भनाइ छ। 

प्रतिलिटर तीन रुपैयाँ अनुदान र किसानलाई बिना ब्याज ऋण लगानीका लागि ३ प्रतिशत ब्याजमा अनुदान दिने नीतिगत व्यवस्थासहित राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋणको व्यवस्थापन गरिएको छ। महाशिलाका कृषकहरूले अहिले ६० रुपैयाँ प्रति लिटरको दरमा दूध बिक्री गर्दै आएका छन्। सदरमुकाम कुस्मामा भने ७० देखि ८० रुपैयाँप्रति लिटरको दरमा बिक्री हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.