|

पर्वत : नेपालका पर्यटकीय गन्तब्यहरूमध्येको एउटा आकर्षण कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुक गाउँ पनि हो।

नेपाल सरकारले सन २०२० लाई ‘भिजिट इयर’ को रूपमा मनाएर २० लाख पर्यटकहरू भित्राउने लक्ष्य बोकेको बेलामा घान्द्रुक पनि त्यसैमा सघाउने महत्वपूर्ण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने घान्द्रुक आँखै अगाडिबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहितको श्रृंखलाले सबैको मन लोभाउँछ।

गीतकार तथा गायक रामकृष्ण ढकालको गीत ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस...’ भनिएजस्तै सबेरै बिस्ताराबाट चाँदीजस्तै टल्किएका हिमालमा सूर्यको किरण पर्दा देखिने दृश्यले धेरैको मन लोभाएर नै घान्द्रुक सधैँभरि पर्यटकले खचाखच भरिने गरेको छ। दिउँसोको समयमा हिमालमा बादल बिस्तार हुने भएकोले बिहानीको समयमा हिमालको अवलोकन गर्नेहरूको भीड देखिन्छ। वर्षा भएपछि खुलेको आकाशमा हिमाल देख्न पाउनु अझै रमाइलो छ। हिउँ परेर हिमाल सेतै अनि त्यसमा पनि जुनेली रात, हेर्दा लाग्छ आफूअगाडि चाँदीको पहाड छ।

प्रायः गरी अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा घान्द्रुकलाई लिने गरिएको छ। समुद्र सतहदेखि १९ सय मिटरको उचाइमा रहेको घान्द्रुक अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने पर्यटकीय सुन्दर गाउँ हो।

हिमाल मात्र होइन घान्द्रुक गाउँमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू पनि छन्। मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि घान्द्रुक पुग्ने जसलाई पनि आनन्द दिन्छन्। हिमश्रृंखला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जङ्गल र मनोरम भूगोलको अवलोकन गर्न पाउनु घान्द्रुकको अर्को विशेषता हो। ढुङ्गाले कुदेर बनाइएका घरहरू, ढुङ्गाले नै चिटिक्क पारेर चिनिएका सिँढी चढ्दा नै लाग्छ यही नै होला स्वर्ग।

पर्यटकहरूको आगमन थेगी नसक्नुको भएपछि उनीहरूलाई खानबस्नको प्रबन्ध राम्रो बनाउन पक्की घरहरू पनि निर्माण भएका छन्। पक्की घरहरू मात्र निर्माण हुँदा घान्द्रुक गाउँको पहिचान खतरामा पर्न सक्ने भन्दै पुरानै शैलीका धेरै घरहरू निर्माणको चरणमा छन्। कास्कीको विकट ठाउँमा रहेको भए पनि घान्द्रुकका होटलहरू कास्कीकै लेकसाइडका भन्दा कम्तीका छैनन्। पर्यटकहरूलाई ध्यानमा राखेर होटलहरूमा निःशुल्क इन्टरनेट, पूर्ण सरसफाइ, बोलीचाली, ‘क्याम्प फायरिङ’, विदेशी तथा नेपाली खानाका परिकारहरू, विद्युतीय बत्तीहरूको संयोजनलगायतका कुराहरूमा राम्रो प्रबन्ध छ।

घान्द्रुकमा सञ्चालित सबैजसो होटलहरूमा एउटै खालको मूल्य छ। गुरुङको बिचमा कायम भएको एकता र उनीहरू आफैँले आफैँलाई गर्ने अनुगमनका कारण सबै होटलहरूको सुविधा र दर एकै खालका रहेको स्थानीय होटेल व्यवसायी रोबिन गुरुङले बताए। तर, खानाका परिकारहरूको दर सुगम ठाउँको जस्तो सुलभ घान्द्रुकमा छैन। किम्चेबाट खच्चडमा सामान ओसारपसार गर्नुपर्ने तथा पर्यटकहरूको कमी कहिल्यै पनि नहुने भएकोले सुगम ठाउँको भन्दा महँगो दर पर्ने गुरुङको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.